आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
फुटबल

रोनाल्डोलाई पनि मेस्सीसँगै इन्टर मियामीबाट क्लब विश्वकप खेलाउने योजनामा बेकह्याम

बिहीबार, १४ चैत २०८१, १६ : ३५
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । समकालीन विश्व फुटबलका दुई महान् खेलाडी हुन्, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो । अर्जेन्टिनी स्टार मेस्सी र पोर्चुगिज स्ट्राइकर रोनाल्डोलाई लिएर समकालीन विश्व फुटबल पनि दुई खेमामा विभाजित छ ।

यी दुईमध्ये को महान् खेलाडी भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । कुनै समय अर्जेन्टिनाका डिएगो म्याराडोना र ब्राजिलका पेलेलाई लिएर पनि यस्तै बहस चल्ने गर्थ्यो । अहिले म्याराडोना र पेले दुबैको निधन भइसकेको छ । 

लामो समय मेस्सी र रोनाल्डो दुवै स्पेनिस क्लबबाट व्यावसायिक फुटबल खेले । मेस्सी बार्सिलोना र रोनाल्डो रियल म्याड्रिडमा आबद्ध थिए । यी दुई खेलाडीबिचको प्रतिद्वन्द्वीताका कारण नै बार्सिलोना र रियल म्याड्रिडबिचको खेल संशारभरका फुटबलप्रेमीको लागि अधैर्य प्रतीक्षाको विषय बन्थ्यो । 

अहिले यी दुबैले स्पेनिस क्लब छाडिसकेका छन् । हाल मेस्सी अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध छन् । रोनाल्डो भने अल–नासरबाट साउदी व्यावसायिक लिग खेल्छन् । यी दुवै खेलाडीलाई भित्राउन उनीहरूको क्लबले निकै ठुलो धनराशि खर्चिएको छ । 

समकालीन विश्व फुटबलमा यी दुई खेलाडीको कतिसम्म एकाधिपत्य छ भने बालोन डी’ओरको पछिल्लो १६ संस्करणमध्ये १३ वटा उपाधि यी दुई खेलाडीकै पोल्टामा परेको छ । हालसम्म मेस्सीले आठपटक र रोनाल्डोले पाँचपटक यो अवार्ड जितेका छन् । 

हालसम्म यी दुई खेलाडीले एउटै टोलीबाट भने व्यावसायिक फुटबल खेलेका छैनन् । तर, पछिल्लो समय विश्व फुटबलमा एउटा रमाइलो चर्चा सुरु भएको छ । यी दुवै महान् खेलाडीलाई केही समयका लागि भए पनि एउटै क्लबबाट खेलाउन विश्व फुटबलका चर्चित हस्तीहरू सक्रिय भएका छन् । 

त्यसैले यी दुवै खेलाडीले एउटै क्लबको जर्सी लगाएर मैदानमा ओर्लने सम्भावना बढेको छ । यो समाचारले विश्व फुटबललाई तरङ्गित बनाएको छ । आगामी जुन १४ देखि जुलाई १३ तारिखसम्म अमेरिकामा फिफा क्लब विश्वकपको २१औँ संस्करण आयोजना हुँदैछ । 

उक्त क्लब विश्वकपमा ३२ टोलीको सहभागिता रहने छ । यसपटक मेस्सीको क्लब इन्टर मियामीले क्लब विश्वकप खेल्ने अवसर पाएको छ । तर, रोनाल्डोको क्लब अल–नासर भने क्लब विश्वकपमा सहभागी हुने छैन । 

अर्कोतिर, अल–नासरमा रोनाल्डोको सम्झौता अवधि पनि सकिँदैछ । हालसम्म रोनाल्डोको सम्झौता नवीकरण भएको छैन । यस्तो स्थितिमा इन्टर मियामीका मालिकमध्येका एक डेभिड बेकह्याम केही समयका लागि रोनाल्डोलाई क्लबमा आबद्ध गराएर क्लब विश्वकप खेलाउने अभियानमा जुटेका छन् ।

यसका लागि बेकह्यामले विभिन्न चरणमा छलफल पनि गरिरहेको दाबी समाचारमा गरिएको छ । बेकह्यामले ४० वर्षीय स्ट्राइकर रोनाल्डोलाई भित्राउन इन्टर मियामी आर्थिक रूपले पनि सक्षम रहेको बताएका छन् । 

अल–नासरमा रोनाल्डोको सम्झौता सकिएपछि केही समयका लागि उनलाई ठुलो पारिश्रमिकमा इन्टर मियामीमा आबद्ध गर्ने र क्लब विश्वकप पनि खेलाउने बेकह्यामको योजना हो । छोटो समय मेस्सीसँग इन्टर मियामीबाट खेलेपछि रोनाल्डो पुनः आफ्नो पुरानै क्लब अल–नासरमा फर्कनेछन् । 

यसका लागि अल–नासर पनि सकारात्मक रहेको दाबी गरिएको छ । रोनाल्डोले यसअघि पनि क्लब विश्वकप खेलिसकेका छन् । तर, यसपटक उनको क्लब अल–नासर यो प्रतिष्ठित प्रतियोगितामा छनोट हुन सकेन । मेस्सी र रोनाल्डोले एउटै टोलीबाट खेल्ने परिस्थिति बन्छ वा बन्दैन भन्ने कुरा भने समयले नै निर्धारण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप