आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

लिग चरणको अन्तिम खेलमा आर्मीले पुलिसलाई हरायो, पुलिससँगै उपाधि भिडन्त

बिहीबार, १४ चैत २०८१, १५ : २३
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबिच प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त हुने भएको छ । पुलिस र आर्मी क्लबबिच बिहीबार खेलिएको लिग चरणको अन्तिम खेलपछि यस्तो समिकरण बनेको हो ।

भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बिहीबार खेलिएको खेलमा आर्मीले पुलिस क्लबलाई चार विकेटले हरायो । जारी प्रतियोगितामा पुलिस क्लबको यो पहिलो हार हो । यी दुबै टोली १६–१६ अंकसहित तालिकामा पहिलो र दोस्रो हुँदै फाइनलमा पुगेका हुन् । 

जारी प्रतियोगितामा यी दुबै टोलीले आफूले खेलेको नौमध्ये आठ खेलमा जित र एक खेलमा हारको नतिजा निकाले । १४ अंक बटुल्दै तालिकामा तेस्रो भएको सशस्त्र प्रहरी बलको एपीएफ क्लब भने उपाधि होडबाट बाहिरियो । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार खेलिने छ । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४१.४ ओभरमा अलआउट हुनुअघि एक सय ४८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको आर्मी क्लबले ४१ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । आर्मी क्लबको जितमा ओपनर ब्याट्सम्यान तृतराज दासले २५ रनको योगदान गरे । उनले २२ बलमा पाँच चौका प्रहार गरे । अर्का ओपनर सन्तोष कार्कीले पनि २२ रन बनाए । उनले ५३ बलमा एक छक्का र दुई चौका हिर्काए ।

तृतराज र विकेटकिपर ब्याट्सम्यान सन्तोषले पहिलो विकेटका लागि २५ रनको साझेदारी गरे । नरेन साउद शून्य रनमै पेभेलियन फर्किए भने ईमराख शेख पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । त्यसपछि भीम सार्कीले टोलीको खातामा २३ रन थपे । उनले ६१ बलमा एक चौका हिर्काए ।

बसिर अहमद १२ रन बनाउँदै आउट भए भने विवेक यादवले टोलीका लागि अविजित ४१ रनको योगदान गरे । उनले ४५ बलमा एक छक्का र पाँच चौका पनि प्रहार गरे । कप्तान विनोद भण्डारी १३ रनमा अविजित रहे । उनले ३५ बलमा एक चौका हिर्काए । ९२ रनमा छैटौँ विकेट गुमाएको आर्मीलाई त्यसपछि विवेक र कप्तान विनोदले जितसम्म डोर्याएका थिए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि १२ रन पायो । पुलिसका बलर ललित राजवंशीले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै ३४ रन खर्चिए । दीपेन्द्रसिंह ऐरी र करण केसीले पनि एक–एक विकेट हात पारे । 

त्यसअघि, पुलिस क्लबका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले मात्र गतिलो प्रदर्शन गर्न सकेका थिए । उनले अर्धशतकीय पाली खेले । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले केवल ३७ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ५० रन बनाएका थिए ।

आरिफ शेखले पनि २२ रन बनाए । गुलसन झा १७ रन बनाउँदै पेभेलियन फर्किए । सागर ढकाल १६ रनमा अविजित रहे । अर्जुन साउदले १३ रन बटुले । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

पुलिस क्लबले अतिरिक्त रुपमा पनि ११ रन पायो । आर्मी क्लबका बलर साहब आलम एक्लैले चार विकेट लिए । उनले १० ओभरमा तीन मेडन राख्दै ३१ रन खर्चिए । नरेन साउदले पनि तीन विकेट हात पारे । कुशल मल्ल र भीम सार्कीले पनि एक–एक विकेट कुम्ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप