भद्रकालीमा कमाण्ड सेन्टर, एसएसपीको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गरिने

काठमाडौँ । शुक्रबार काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्र पक्षधर समाजवादी मोर्चा र तीनकुनेमा व्यवस्था उल्टाउन लागि परेका पूर्वराजा समर्थकले प्रदर्शन गर्दै छन् । समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने भएका छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा पूर्वराजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन गर्दै छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् । सुवेदी नेतृत्वको समूहले प्रदर्शन स्थलबारे सार्वजनिक नगरेको हुनाले प्रसाईंसँगै मिसिएर शक्ति प्रदर्शन गर्न लागेको आँकलन गरिएको छ ।
सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालयले तीनकुने र प्रदर्शनीमार्गमा ठुलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा ३५ सय प्रहरी खटाउने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षा कमाण्ड जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शन स्थलमा एसपी अपिल बोहराले खटिनेछन् ।
आवश्यकता अनुसार एसएसपी अधिकारीले कमाण्ड सेन्टर र फिल्डमा नै गएर सुरक्षा व्यवस्थापन गर्ने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘एसएसपीको कमाण्डमा आवश्यक सुरक्षाकर्मी परिचालन गर्छौँ ।’
सुरक्षा व्यवस्थापनको लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको कार्यालयमा ‘कमाण्ड सेन्टर’ स्थापना गरिएको छ । कमाण्ड सेन्टरबाट काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।
- पूर्वराजा समर्थक चक्रपथ बाहिर, समाजवादी मोर्चा चक्रपथभित्र
पूर्वराजाका समर्थकलाई चक्रपथभन्दा बाहिर मात्रै जुलुस निकाल्न दिने गरी प्रहरीले सुरक्षा रणनीति तयार गरेको छ । चाबहिलबाट तीनकुने र सातदोबाटो हुँदै तीनकुनेसम्म पूर्वराजाका समर्थकलाई जुलुस निकाल्न दिने प्रहरीको रणनीति छ । भक्तपुरतर्फबाट आउने पूर्वराजा समर्थक तीनकुनेमा रोकिनेछन् ।
भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारी तर्फ डाइभर्सन गरेर पठाउने भएको छ । एसएसपी खनाल भन्छन्, ‘मुठभेड हुन नदिन समाजवादी मोर्चा समर्थकलाई कोटेश्वरबाट बालकुमारी पुल हुँदै भित्रको बाटोबाट प्रदर्शनीमार्गतर्फ पठाउँछौँ ।’
समाजवादी मोर्चाले बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गरेको छ । कुपण्डोलमा भेला हुने मोर्चाका समर्थक त्रिुपरेश्वरबाट घुमेर प्रदर्शनीमार्ग पुग्नेछन् । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न मोर्चालाई जिल्ला सुरक्षा समितिले अनुमति दिएको छ । मोर्चाले १ हजार स्वयंसेवक परिचालन गर्ने सुरक्षा निकायलाई जानकारी गराएको छ ।
प्रदर्शनमा अवैध गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरीलाई परिचालन गर्ने उपत्यका प्रहरी कार्यालयको योजना छ । एसएसपी खनाल भन्छन्, ‘सूचना संकलन गर्न सादा पोसाकमा प्रहरी कर्मचारी खटाउँछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न निकायका २५ जना शाखा अधिकृतको सरुवा
-
नितिशको शानदार अर्धशतक, राजस्थानद्वारा १ सय ८३ रनको लक्ष्य प्रस्तुत
-
अदालतमा राणा र मिश्रले भनेः अस्पतालमा बस्ने सुविधा लिदैनौँ
-
प्रेस सेन्टरको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुनेहरूको सूची सार्वजनिक (सूचीसहित)
-
गाजामा इजरायली आक्रमण, १४ जना उद्दारकर्मीको शव भेटियो
-
चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा गरिने