सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुथीलाई अहिले नै हमला गर्ने पक्षमा थिएनन् भान्स

बिहीबार, १४ चैत २०८१, १२ : ४७
बिहीबार, १४ चैत २०८१

वासिङ्टन डीसी । अमेरिकामा यतिबेला यमनमा रहेका हुथी विद्रोहीहरूको अखडामा आक्रमण गर्ने अमेरिकी योजना लिक भएको घटनाले हङ्गामा भइरहेको छ । यस विषयमा ट्रम्प प्रशासनले धेरै आलोचना खेप्नु परेको थियो । अब एक पत्रिकाका सम्पादकले यमनमा हुथी विद्रोहीहरूमाथि आक्रमण गर्ने अमेरिकी योजनाको पूर्ण खुलासा गरेका छन् । लिक भएको ग्रुप च्याटमा मार्च १५ मा यमनमा रहेका हुथी विद्रोही अड्डाहरूमा आक्रमण गर्ने योजना थियो । 

वास्तवमा अमेरिकाले मार्च १५ मा नै हुथी अड्डाहरूमा आक्रमण गरेको थियो । चुहावट भएको गुप्तचर सूचना अनुसार, उपराष्ट्रपति जेडी भान्स, रक्षा सचिव पिट हेग्सेथ, गुप्तचर निर्देशक तुलसी गब्बार्ड, सीआईए निर्देशक जोन रेटक्लिफ आदिले यमनमा मिसनको लागि आ–आफ्ना प्रतिनिधिहरूलाई मनोनीत गरेका थिए । एउटा टेक्स्ट म्यासेजमा राष्ट्रपतिसँग छलफल गरेपछि अन्तिम योजना गोप्य इमेलमा पठाइने पनि भनिएको छ ।

भान्सले पनि टेक्स्ट म्यासेजमा हुथीहरूलाई अहिलेको लागि आक्रमण नगर्न सुझाव दिएका थिए । ‘अमेरिकाको ३ प्रतिशत व्यापार स्वेज नहरबाट हुन्छ । युरोपको ४० प्रतिशत व्यापार पनि स्वेज नहर हुँदै जान्छ । यस्तो अवस्थामा, हुथीहरूमाथि आक्रमण गर्दा जोखिम हुन सक्छ । र सायद जनताले यो कुरा बुझ्दैनन् ।’ म्यासेजमा जेडी भान्सले भनेका थिए । हुथी विद्रोहीमाथिको आक्रमणपछि तेलको मूल्य तीव्र गतिमा बढ्न सक्ने पनि उनले बताएका थिए । भान्सले आक्रमण एक महिनाको लागि स्थगित गर्न सुझाव दिएका थिए । तर ट्रम्पका प्रतिनिधि जो केन्टले भान्सको आपत्तिलाई अस्वीकार गर्दै एक महिना पछि पनि स्थिति उस्तै रहने र यस अवधिमा कुनै पनि उल्लेखनीय परिवर्तन नहुने बताए । 

त्यसपछि, सीआईए निर्देशक रेटक्लिफले पनि भान्सलाई समर्थन गरे र आक्रमण केही दिनको लागि स्थगित गर्न सुझाव दिए । यसमा रक्षामन्त्री पिट हेगसेथले चाँहि ट्रम्पका प्रतिनिधि जो केन्टलाई समर्थन गरेर मार्च १५ मा नै हुथीहरूमाथि आक्रमण गर्नु पर्ने भने । शीर्ष नेताहरूबिचको कुराकानीमा हुथीहरूले अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोध पुर्‍याएका र स्वतन्त्र व्यापार अनि आपूर्ति शृङ्खलाका लागि आक्रमण आवश्यक रहेको भनिएको थियो । ‘यदि यस संसारमा कसैले यस विषयमा केही गर्न सक्छ भने त्यो अमेरिका हो र जहाँसम्म समयको कुरा छ, मलाई लाग्छ यो सही समय हो ।’ रक्षामन्त्रीले च्याटमा लेखेका छन् । 

यसपछि, मार्च १५ मा आक्रमण भएको दिन पनि छलफल भयो । जसमा मौसम सफा भएको र आक्रमणको पुष्टिको बारेमा छलफल भयो । यसपछि, यी सन्देशमा आक्रमणमा कुन लडाकु विमान, मिसाइल आदि प्रयोग गरिनेछ भन्ने बारे पूर्ण जानकारी पनि दिइएको थियो । आक्रमणमा हुथीहरूले भोगेको क्षतिको बारेमा जानकारी च्याटमा शेयर गरिएको थियो ।

यमनमा हूथी विद्रोहीहरूको अड्डाहरूमा आक्रमण गर्ने योजनाहरू शेयर गर्न मेसेजिङ एप सिग्नलमा ‘हूथी पीसी स्मल ग्रुप’ नामक समूह बनाइएको थियो । अमेरिकी उपराष्ट्रपति र रक्षामन्त्री सहित कयौँ शीर्ष नेताहरू यस समूहमा  जोडिएका थिए । आक्रमणबारे सबै छलफल र जानकारी यही ग्रुप च्याटमा शेयर गरिएको थियो । तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले गल्तीले अट्लान्टिक पत्रिकाका सम्पादक जेफ्री गोल्डबर्गलाई यो गुप्रपमा जोडे । त्यसपछि गोल्डबर्गले सारा जानकारी आफ्नो पत्रिकामा छापिदिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप