आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री लामाद्वारा एएफयू र फरेष्ट्री क्याम्पसको निरीक्षण

बिहीबार, १४ चैत २०८१, १२ : ४०
बिहीबार, १४ चैत २०८१

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले हेटौँडास्थित  फरेष्ट्री का एक विश्वविद्यालय र एक क्याम्पसको निरीक्षण गरेका छन् । मुख्यमन्त्री लामाले बिहीबार हेटौँडा–१० स्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन सङ्काय (एएफयू) र वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पस (फरेष्ट्री) को निरीक्षण गरेका हुन् ।

मुख्यमन्त्री लामाले उक्त क्याम्पसको भौतिक संरचना, शिक्षाको गुणस्तर, ल्याब तथा संग्राहालय र विद्यार्थीहरूको बारेमा जानकारी लिएका थिए । सो अवसरमा फरेष्ट्रीभित्र रहेका २ क्याम्पस बिचको विवादका विषयमा पनि मुख्यमन्त्री लामालाई जानकारी गराइएको थियो ।

निरीक्षणका क्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय (वन सङ्काय) का डीन डा.वासुदेव पोखरेलले एएफयू तर्फको शैक्षिक तथा प्राज्ञिक र संरचनाको अवस्थाबारे जानकारी गराएका थिए । उनले हाल विश्वविद्यालय अन्तर्गत ल्याब, नर्सरी तथा भौतिक संरचनाको अभाव रहेको जानकारी गराएका थिए । उनले ल्याब, नर्सरी, भौतिक संरचना तथा होस्टल निर्माणको लागि स्रोत व्यवस्थापन गर्न आवश्यक पहल गरिदिन आग्रह समेत गरेका थिए ।

cm forestry

यता टियू तर्फको वन विज्ञान अध्ययन संस्थानका क्याम्पस प्रमुख डा.शिवकुमार माञ्जनले होस्टल तथा भौतिक संरचना र बसका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने बताएका थिए । क्याम्पसमा बस नहुँदा विद्यार्थीहरूको शैक्षिक कार्यक्रम अन्तर्गतका विभिन्न अध्ययन अनुगमन कार्य गर्न ठगिन भएको उनले बताएका थिए ।

निरीक्षण पश्चात् मुख्यमन्त्री लामाले शैक्षिक संस्थाहरू बिचको जग्गा स्वामित्व विवाद लम्ब्याउन नहुने बताएका थिए । शैक्षिक गुणस्तर कायम गर्न देखिएका समस्या र चुनौतीहरू छलफलबाट समाधान गर्नुपर्ने उनले बताए । उक्त विषय सङ्घीय सरकार अन्तर्गतको रहेकाले सो बारेमा आवश्यक पहल गर्ने समेत आह्वान दिए ।

मुख्यमन्त्री लामाले शिक्षा विकास र समृद्धिको मेरुदण्ड रहेकाले राज्यले आफ्नो लगानी त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताए । प्राविधिक शिक्षा अहिलेको आवश्यकता रहेकाले शैक्षिक संस्थाहरूले त्यसतर्फ केन्द्रित हुनुपर्ने समय आएको उनको भनाई छ । वर्तमान शिक्षाको मोडललाई व्यवहारिक र व्यावसायिक बनाउन प्राविधिक शिक्षामा जोड दिन जरुरी रहेको उनले औँल्याए ।

हेटौँडाको फरेष्ट्री क्याम्पसलाई शैक्षिक पर्यटनको हबको रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए । क्याम्पस भित्रको वन जङ्गल र जीवजन्तुलाई संरक्षण गरेर पर्यटकीय क्षेत्रको रूपमा अघि बढाउनुपर्ने उनको भनाई छ । सरकारको लगानीलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गरी राजस्व सङ्कलनका विभिन्न क्षेत्रहरू तयार गर्ने गरी उक्त क्याम्पसलाई अघि बढाउनुपर्ने उनले बताए । क्याम्पसको क्षमता तथा व्यवस्थापनका विषयमा आवश्यक सहयोग तथा पहल गर्ने उनले प्रतिबद्धता गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप