आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा बच्चा ‘एडप्शन’को अनौठो काण्ड, सरकारले नै देशबाहिर पठायो झन्डै २ लाख बच्चा

बिहीबार, १४ चैत २०८१, १२ : ११
बिहीबार, १४ चैत २०८१

सोल । बच्चा बच्चीलाई धर्मपुत्र वा धर्मपुत्री बनाउँदा अनेकाैँ अवरोध झेल्नु पर्छ । भविष्यमा बच्चालाई कुनै समस्या हुन्छ कि भनेर निकै ध्यान दिइन्छ । तर दक्षिण कोरियामा अनौठो काण्ड बाहिरिएको छ । त्यहाँ झन्डै २ लाख बालबालिकालाई धर्मपुत्र धर्मपुत्री बनाउन विदेश पठाइएको छ । 

तर ती बालबालिकाको एडप्शनबारे उचित रेकर्ड वा प्रमाणपत्र छैन । यो काम अरु कसैले नभएर दक्षिण कोरियाका सरकारहरूले नै गरेका हुन् । यसलाई संसारकै सबैभन्दा लज्जास्पद बच्चा ‘एडप्शन’ घोटाला बताइएको छ । 

सरकारको दूरदर्शिताको अभावका कारण निजी एजेन्सीहरूले ठुलो संख्यामा बच्चालाई देशबाहिर पठाएका छन् । दक्षिण कोरियाको बालबालिकालाई  धर्मपुत्र/धर्मपुत्री बनाउने प्रवृत्तिको अनुसन्धान गरिरहेको टोली सत्य तथा मेलमिलाप आयोगले यस मामिलामा छानबिन सुरु गरेपछि यो तथ्य बाहिरिएको हो । घरेलु एजेन्सीहरूले बालबालिकालाई धर्मपुत्र बनाएर विदेश पठाउनमा अति नै हतार गरेको अध्ययनमा पाइएको छ । 

यस क्रममा उनीहरूको स्वास्थ्य र मानव अधिकारलाई पनि ध्यान नदिइएको भेटियो । धेरै बालबालिकाको जन्म रेकर्डमा हेरफेर गरिएको थियो । यसका कारण बाउ आमा भएकै बच्चा पनि टुहुरा/टुहरी देखाइयो । बालबालिका लैजाने अभिभावकबारे पनि राम्ररी अनुसन्धान गरिएन । 

यसरी सुरु भयो काण्ड 

कोरियाली युद्ध पछि १९५० र १९६० को दशकमा दक्षिण कोरियाले विदेशीहरूले कोरियाली बालबालिका धर्मपुत्र/धर्मपुत्री बनाउने नीति प्रवर्द्धन गर्न थाल्यो । त्यतिबेला देश आर्थिक रूपमा कमजोर थियो र सामाजिक कल्याण प्रणाली सीमित थियो । यस अवधिमा, हजारौँ बालबालिकालाई धर्मपुत्र/धर्मपुत्री बनाउने विदेशमा विशेष गरी अमेरिका, युरोप र अस्ट्रेलियामा पठाइयो । यो प्रक्रियालाई सुरुमा मानवीय सहायताको रूपमा हेरिएको थियो । तर समयसँगै यो व्यवसायमा परिणत भयो । आयोगका अनुसार १९६४ देखि १९९९ सम्म २ लाख भन्दा बढी बालबालिकालाई विदेशमा यसरी पठाइएको थियो । यस कारण दक्षिण कोरिया विश्वको सबैभन्दा ठुलो ‘बालबालिका निर्यातकर्ता’ देशमध्ये एक बनेको छ ।  

आमाबाबुबाट लुटियो बच्चा 

आयोगको अनुसन्धानले यस प्रक्रियामा संलग्न एजेन्सी र अधिकारीहरूले ठुलो मात्रामा जन्म रेकर्डमा हेरफेर गरेको खुलासा गरेको छ । धेरै अवस्थामा आमाबाबु जीवित हुँदा पनि बालबालिकाहरूलाई टुहुरा/टुहरीको रूपमा दर्ता गरियो । बाउआमाहरूले आफ्ना छोराछोरी देशबाहिर जाऊन् भन्ने चाहँदैनथे । तैपनि उनीहरूलाई लोभ देखाएर छोराछोरीहरू खोसियो । 

धेरै आमाबाबुलाई बच्चा जीवितै हुँदा पनि उनीहरूका बच्चाको मृत्यु भएको समेत भनियो । केहीलाई बच्चा राम्रो हेरचाहको लागि बाहिर पठाइँदै छ भनेर भनियो । तर नक्कली कागजातको आधारमा बालबालिकाहरूलाई विदेशी परिवारलाई हस्तान्तरण गरियो । यस प्रक्रियामा, बालबालिकाको पहिचान, जन्म मिति र पारिवारिक इतिहास परिवर्तन गरियो । जसले गर्दा तिनीहरूको मूल जड पत्ता लगाउन असम्भव भयो । 

यो खुलासाले सारा संसारभर हलचल मच्चाएको छ । यसरी विदेश पठाइएका कयौँ व्यक्तिहरू अहिले वयस्क भइसकेका छन् उनीहरूले दक्षिण कोरियामा आफ्नो परिवार खोज्न थालेका छन् । कतिपयले सरकार र धर्मपुत्र ग्रहण गर्ने निकायहरू विरुद्ध मुद्दा पनि दायर गरेका छन् । यस विषयमा दक्षिण कोरियाली सरकारले अहिलेसम्म कुनै आधिकारिक वक्तव्य जारी गरेको थिएन । तर यो काण्डले देशको छवि र नीतिहरूमा दीर्घकालीन प्रभाव पार्ने विज्ञहरू विश्वास गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप