कास्की कांग्रेसका सभापतिलाई कारबाही माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरुले दिए उजुरी

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालमाथि कारबाहीको माग गर्दै नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टीमा उजुरी दिएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति बराल नेपाल विद्यार्थी संघलाई हराउन लागेको भन्दै कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुले बराललाई कारबाहीको माग गरेका हुन् ।
उनीहरुले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानालाई पत्र पठाएका हुन् । विशेषगरी पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरको निर्वाचनमा सभापतिकै कारण पराजय भोग्न परेको र त्यसको कारक पार्टी सभापति बराल रहेको केन्द्रीय प्रतिनिधि राजेन्द्र बरालले जानकारी दिए ।
लामाचौर क्याम्पसमा नेविसंघले सचिवमा उम्मेदवारी दिएपनि नेविसंघकै केन्द्रीय सदस्य रेजिना खड्का मार्फत मनोनयनपत्र च्यात्न लगाएको आरोप उनको छ । सचिवमा नेविसंघको केन्द्रीय नेतृत्वले प्रशान्त उपाध्यायलाई तोकेको थियो । उपाध्यायको नाम अन्तिम उम्मेदवारको सूचीमा प्रकाशन भएन । उम्मेदवारको नाम प्रकाशनको माग सहित नेविसंघ तालाबन्दी सहित आन्दोलित भएको थियो । पछि सभापतिका उम्मेदवार सौगात पण्डितकै नेतृत्वमा ताला फुटाइएको थियो ।
यसमा सबै गतिविधि सभापति बरालको निर्देशनमा भएको आरोप केन्द्रीय सदस्य नसिब गुरुङले बताए । 'हामी निर्वाचनको पक्षमा छौं । तर एमाले र माओवादीसँग मिलेर सभापति ज्यूले नेविसंघको अस्तित्व र संगठनलाई लिलाम बनाउनुभयो,' उनले भने, 'यो हामीलाई स्वीकार छैन । यसको प्रतिवाद गर्छौँ ।' स्ववियु निर्वाचनका लागि चन्दा उठाएर रकम अपचलन गरेको आरोप पनि उनीहरुले लगाए ।
'अपरिपक्व, हैकमवाद, पुर्वाग्रही सोचले भरिएका सभापति संगठनको कुनैपनि नेतृत्वमा उपयुक्त देखिँदैन,' अर्का केन्द्रीय सदस्य अन्जान थापाले भने, 'स्ववियु निर्वाचनको लागि उद्योगी व्यवसायी, शुभचिन्तक लगायत सबैबाट चन्दा सङ्कलन गर्नेतर निर्वाचनमा अभिभावकीय भूमिका निर्वाह नगरी आर्थिक अपचलन गर्दै नेविसंघको विरुद्ध मत माग्नुभयो ।' उनीहरुले अनुशासन समिति कास्की, गण्डकी कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थ दिएका छन् ।
कास्की काँग्रेसका सभापति बरालले सामाजिक सञ्जाल मार्फत स्ववियु निर्वाचन राजनीतिक दलका लागि भएको र विद्यार्थीका लागि नभएको तर्क गरेका थिए । उनले शिक्षण संस्थालाई स्वतन्त्र बनाउनुपर्ने बताए । 'स्ववियुको औचित्यलाई उचाइबाट बुझ्न सकिएन भने अस्तित्व खतरामा पर्न सक्छ,' उनले भने, 'यसैले शिक्षण संस्थालाई राजनीति होइन, ज्ञान र नेतृत्व विकासको केन्द्र बनाउनु अपरिहार्य छ ।'
बराललाई ७ दिनभित्र साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न नेविसंघ केन्द्रीय सदस्यहरुको माग छ । 'आजका मितिबाट ७ दिनभित्र कारबाही नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्दछौँ,' उनीहरुले विज्ञप्ति मार्फत भनेका छन् । स्ववियु निर्वाचन भएका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको छ । लामाचौरमा स्वतन्त्र उम्मेदवार विजयी भए भने पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।
बरालले भने गलत गरेको भए कारबाही भोग्न तयार रहेको बताए । 'मैले इस्यु उठाएको हो । लामाचौरमा विवाद भएपछि स्ववियुमा राजनीतिक दलको हस्तक्षेप हुन हुँदैन भनेको हुँ, उनले भने, 'गलत गरेको छैन । कसैलाई हराउन लागेको छैन । कुनै पद बेचेको पनि होइन । पुष्टि हुने आधार भए कारबाही गरे हुन्छ ।' उनले निर्वाचन भर्खरै सकिएकोले सहयोग रकम केही समयमै सार्वजनिक गर्ने बताए । 'पैसा केही उठेको छ । त्यो क्याम्पसहरुमा वितरण पनि गरिएको छ,' उनी भन्छन्, 'उठेको रकम स्पष्ट छ । पारदर्शी रूपमै सबैलाई जानकारी गराइन्छ ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डमाथि सैन्य कारवाही गर्नसक्ने ट्रम्पको चेतावनी
-
जङ्गलमा चिहान सफा गर्न गएका पुरुषले लगाएका थिए दक्षिण कोरियाको जङ्गलमा आगो
-
भूकम्पपछि अहिले कस्तो छ म्यानमार र थाइल्याण्डको अवस्था ?
-
प्रेस सेन्टरको अधिवेशन: नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र
-
८ बर्षपछि अभिनयमा फर्किँदै सुशांक
-
अन्तर्राष्ट्रिय पदक विजेता भेट्रान खेलाडी सम्मानित