आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज

बलियो हैदराबादलाई उसैको मैदानमा चुनौती दिँदै लखनउ

बिहीबार, १४ चैत २०८१, १० : २४
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्स आपसमा भिड्दै छन् । खेल हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको १८औँ संस्करणमा खेल्न लागिएको यो सातौँ खेल हो । जारी प्रतियोगितामा यी दुबै टोलीले भने आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । सनराइजर्स हैदराबाद आफ्नो पहिलो खेलमा विजयी भएको थियो । हैदराबादले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले हराएको थियो । 

जारी आईपीएलमा सबैभन्दा ठुलो स्कोर बनाउने टोली पनि हो, सनराइजर्स हैदराबाद । हैदराबादले राजस्थानविरुद्धको खेलमा ६ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो । हैदराबाद दुई अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ ।

लखनउ सुपर जायन्ट्स भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो । लखनउलाई दिल्ली क्यापिटल्सले एक विकेटले पराजित गरेको थियो । आफ्नो पहिलो खेलमै पराजित भएको लखनउ तालिकाको सातौँ स्थानमा छ । 

हैदराबाद सन् २०१६ को च्याम्पियन

सनराइजर्स हैदराबादले हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो । 

हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।

आठ अंकको रमाइलो संयोग 

आईपीएलको फाइनलमा सनराइजर्स हैदराबादसँग एउटा रमाइलो संयोग पनि जोडिएको छ । जुन–जुन संस्करणमा हैदराबाद फाइनलसम्म पुगेको छ ति सबै संस्करणमा हार–जितको अन्तर आठ अंकसँग जोडिएको छ ।

सन् २०१६ मा हैदराबादले बेंगलुरुलाई आठ रनले हराउँदै उपाधि चुमेको थियो । त्यसपछि सन् २०१८ को फाइनलमा हैदराबादको टोली चेन्नई सुपर किङ्ससँग आठ विकेटले हारेको थियो । सन् २०२४ को फाइनलमा पनि हैदराबादलाई कोलकाताले आठ विकेटले नै हराएको थियो ।

पहिलो उपाधिको खोजीमा लखनउ

लखनउ सुपर जायन्ट्सले हालसम्म आईपीएलको उपाधि चुम्न सकेको छैन । आईपीएलमा लखनउको सहभागिताको इतिहासमा पनि खासै लामो छैन । सन् २०२२ देखिमात्र लखनउले आईपीएलमा सहभागिता जनाउन थालेको हो ।

लखनउ सुपर जायन्ट्स हालसम्म दुईपटक आईपीएलको प्लेअफ चरणमा पुगेको छ । यो नै लखनउको सबैभन्दा ठुलो उपलब्धि हो । लखनउ सन् २०२२ र सन् २०२३ को संस्करणमा प्लेअफ चरणसम्म पुगेको थियो ।

हेड टु हेडमा लखनउ अगाडि

आईपीएलमा हालसम्म सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबिच चार खेल खेलिएको छ । त्यसमा लखनउ केही बलियो देखिन्छ । चारमध्ये तीन खेलमा लखनउले हैदराबादलाई हराएको छ । हैदराबादले एक खेलमा मात्र लखनउलाई पराजित गरेको छ ।  

हैदराबादको राजीव गान्धी स्टेडियममा भने हालसम्म यी दुई टोलीबिच कुल दुई खेल खेलिएको छ । त्यसमध्ये एक खेलमा लखनउ र एक खेलमा हैदराबाद विजयी भएका छन् । यी दुई टोली राजीव गान्धी स्टेडियममा तेस्रो पटक भिड्न लागेका हुन् । 

ईशान किशन र ट्राभिस हेड लयमा

जारी आईपीएलको अघिल्लो खेलमा हैदराबादका लागि ईशान किशनले शतक बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित एक सय ६ रन जोडेका थिए । यस क्रममा उनले केवल ४७ बलको सामना गरी ६ छक्का र ११ चौका पनि हिर्काएका थिए ।

head

पहिलो खेलमा हैदराबादका लागि ओपनर ट्राभिस हेडले पनि उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले केवल ३१ बलमा तीन छक्का र नौ चौकाको मद्दतले ६७ रन बनाएका थिए । बलिङतर्फ हर्षल पटेल र सिमरजित सिंहले दुई–दुई विकेट लिएका थिए ।

यसका अतिरिक्त, हैदराबादको टोलीमा अभिषेक शर्मा, हेनरिक क्लासेन, नितिश कुमार रेड्डी, प्याट कमिन्स, मोहम्मद सामी, एडम जाम्पाजस्ता प्रभावशाली खेलाडीहरु पनि छन् । यी खेलाडी कुनै पनि बेला निर्णायक बन्न सक्छन् । 

लखनउको सर्वाधिक रन मार्स र पुरनको नाममा

लखनउ सुपर जायन्ट्समा निकोलसन पुरन, डेभिड मिल्लर, मिचेल मार्श, ऋषभ पन्त, ऐडेन मारक्रमजस्ता प्रभावशाली ब्याट्सम्यान छन् । यीमध्ये अधिकांश ब्याट्सम्यान आक्रामक रुपमा रन बनाउन सप्पिस छन् । 

michel

पहिलो खेलमा लखनउका लागि दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । ओपनर मिचेल मार्सले केवल ३६ बलमा ६ छक्का र ६ चौकाको मद्दतले ७२ रन बनाएका थिए । तेस्रो नम्बरका निकोलस पुरनले पनि ३० बलमा सात छक्का र ६ चौकाको मद्दतले ७५ रन जोडेका थिए । 

दिल्ली क्यापिटल्सविरुद्धको खेलमा बलिङतर्फ पनि सार्दुल ठाकुर, मनिमरन सिद्धार्थ, दिग्वेश राठी र रवी विस्नोईले दुई–दुई विकेट लिएका थिए । यद्यपि, आफ्नो पहिलो खेलमा लखनउ सुपर जायन्ट्स पराजित भएको थियो । 

ब्याट्सम्यानका लागि उपयुक्त पिच

सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबिच खेल हुने राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालाको पिच ब्याट्सम्यानका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियमा राम्रो रन बन्ने गरेको छ । यो स्टेडियमको आईपीएलमा हैदराबाद र राजस्थानबिचको खेल पनि यही स्टेडियममा खेलिएको थियो ।

उक्त खेलमा हैदराबादले ६ विकेट गुमाएर दुई सय ८६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको राजस्थान पनि दुई सय ४२ रन बनाएको थियो । यो स्टेडियममा हालसम्म आईपीएलको ७८ खेल खेलिएको छ । 

त्यसमध्ये ३५ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ४३ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । त्यसैले बिहीबारको खेलमा पनि टस जित्ने टोलीले पहिले फिल्डिङ रोज्न सक्ने बलियो सम्भावना देखिन्छ ।

छैन वर्षाको सम्भावना

सनराइजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबिच खेल हुने दिन बिहीबार हैदराबादमा वर्षाको सम्भावना छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार, बिहीबार हैदराबादमा दिनभर घाम लाग्नेछ । तापक्रम २४ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने बताइएको छ ।

सम्भावित टोली 

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिश रड्डी, हेनरिक क्लासन (विकेटकिपर), अनिकेत वर्मा, अभिनव हनोहर, सिमरजित सिंह, हर्षल पटेल, मोहम्मद सामी र एडम जाम्पा ।

लखनउ सुपर जायन्ट्स : ऋषभ पन्त (कप्तान), ऐडन मारक्रम, मिचेल मार्स, निकोलस पुरन, आयुष बडोनी, डेभिड मिल्लर, शाहबाज अहमद, आवेश खान, दिग्वेश राठी, शार्दुल ठाकुर, रवी बिस्नोई र एम. सिद्धार्थ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप