आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : राजावादीको गतिविधि र विदेशी चासो

‘जनताले असन्तुष्टि पोख्ने ठाउँ पाइरहेका थिएनन्, राजावादीहरूले त्यो मञ्च बनाइदिए’

बाह्य शक्ति खेल्ने भनेको कमजोर ठाउँमा नै हो : डा. कल्याणराज शर्मा
बिहीबार, १४ चैत २०८१, ०९ : ४७
बिहीबार, १४ चैत २०८१

नेपालमा भइरहेको राजावादीहरूको आन्दोलनमा चीन र भारत दुवैले सघाइरहेको एकथरीको टिप्पणी छ भने अर्कोथरीले, होइन यो नेपाली जनताको असन्तुष्टि हो भनिरहेका छन् । 

खासमा यो हो के त ? कतिपय अवस्थामा राजावादीको आन्दोलनमा भारतको नाम नै जोडिएको छ । तर भारतले यसमा आधिकारिक धारणा दिएको छैन । चीनले पनि यसमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन । आखिर अन्तर्राष्ट्रिय शक्ति खासगरी भारत र चीनले राजावादी आन्दोलनलाई कसरी हेरिरहेको छ ? चीन र भारत सूक्ष्म रूपले अध्ययनमा  छन् कि समयको पर्खाइमा ? यी र यस्तै विषयमा चीन मामिला जानकार नेपाल चाइना फ्रेन्डसिप फोरमका संयोजक डा.कल्याणराज शर्मासँग रातोपाटीले गरेको कुराकानी :

  • नेपालमा अहिले भइरहेको राजावादीको प्रदर्शनलाई तपाईंले कसरी बुझ्नुभएको छ ? 

–मैले बुझेअनुसार यो देशमा राज्यसँग वा यी राजनीतिक दलसँग जनताले जुन अपेक्षा गरेका थिए, त्यो पूरा नभएपछिको आक्रोश हो । त्यसको फाइदा राजावादीहरूले उठाइरहेका छन् । विगत २५–३० वर्षदेखि यो देशमा अस्थिर सरकार चलिरहेको छ । सरकार स्थायित्व भएन र त्यसले गर्दा जनताले डेलिभर पाएन । जनताले सीधै अनुभूति गर्ने खालका कुनै पनि काम भएन । र, त्यही असन्तुष्टि जागेर आएजस्तो लाग्छ मलाई । 

  • तपाईं असन्तुष्टि भनिरहनुभएको छ । तर नेपालकै दलका नेताहरूले यी राजावादी कसैबाट परिचालित भनिरहेका छन् नि ?

–नेपाली भएर मिलेर बस्नुपर्छ, तर त्यस्तो देखिँदैन । केही भयो भने त्यसलाई अरूबाट परिचालित वा अरूले गरिएको भाष्य निर्माण गरेको छ । राजावादी देखिएको भिड नेपाली जनताको असन्तुष्टि हो । नेपाली जनताले आफ्नो असन्तुष्टि पोख्ने ठाउँ पाइरहेका थिएनन्, राजावादीहरूले त्यो मञ्च बनाइदिए । त्यहाँ गएर आफ्नो असन्तुष्टि पोखिरहेका छन्, त्यसबाहेक अरू केही हैन । हामी आफै बलियो भएपछि बाह्य शक्तिले केही गर्न सक्दैन । बाह्य शक्ति आउने पनि कमजोर भएपछि मात्र हो । 

नेपालमा बाह्य शक्तिबारे हाउगुजी बढी भएको होजस्तो लाग्छ । बालेन, साम्पाङ, रविजस्ता व्यक्ति उदय हुनुको कारण नै जनताको असन्तुष्टि हो । पुराना राजनीतिक दलहरूले केही गरेनन् भन्दै उनीहरू असन्तुष्ट भएर नयाँ नयाँ व्यक्तिहरूलाई ल्याएका हुन् । अहिलेको असन्तुष्टि पनि त्यही हो । 

  • नेपालमा परिवर्तनका लागि जति पनि आन्दोलन भए, ती सबैमा बाह्य शक्तिहरूको सहयोग देखिन्छ । राजावादीहरूलाई चाहिँ छैन भनेर कसरी मान्न सकिन्छ ? 

– दुई विशाल देशको बिचमा नेपाल छ । नेपालले दुवैलाई ब्यालेन्स गरेर राख्नुपर्छ । नेपालका नेताहरूले त्यही ब्यालेन्स गर्न नजानेर त्यो अवस्था आएको हो । युक्रेन ठुलो देशको बिचमा बसेर ब्यालेन्स गर्न नसकेर यो अवस्थामा आएको हो । के नेपाललाई पनि युक्रेन बनाउने हो त ? संसारभरिको देशसँग हाम्रो जस्तो देशले ब्यालेन्स गर्न सिक्नुपर्छ । 

चीनको बारेमा जति हल्ला गरे पनि नेपालमा चीनले माइक्रोलेभलमा कहिल्यै हस्तक्षेप गरेको छैन ।
  • के नेपालले ब्यालेन्स गर्न नजानेर नेपालमा यो अवस्था आएको हो त ?

–हो, एक हदसम्म त्यो भन्न सकिन्छ । ब्यालेन्स गर्न सकेन भने नेपालले ठुलो पीडा भोग्न सक्छ । नेपालले देशहरूसँग ब्यालेन्सै गर्नुपर्ने जरुरी देखिन्छ । ब्यालेन्स गर्न सकिएन भने देश दुर्घटनामा जान सक्ने खतरा छ । 

  • नेपालले चीन र भारतसँग ब्यालेन्स कत्तिको मिलाएको छ ?

– त्यसमा कमी देख्छु म । नेपालजस्तो विकासशील देशले ब्यालेन्स गर्नैपर्छ । तर नेपालले कुनै एउटा देशको भरमा छ । एउटा देशतिर त्यसको झुकाव छ । नेपालको असंलग्न नीति छ । तर त्यसमा अवलम्बन गरेको देखिँदैन । चीन–भारतको बिचमा मात्र होइन, अन्य देशहरूका बिचमा पनि नेपालले ब्यालेन्स गरेको जस्तो देखिँदैन । 

  • विगतमा राजतन्त्र र राजासँग चीनको राम्रो सम्बन्ध देखिन्छ । लोकतान्त्रिक दलहरूभन्दा बढी राजा र राजपरिवारसँग चीनको सम्बन्ध देखिन्छ, यसले गर्दा अहिले राजावादीहरूले गरिरहेको आन्दोलनप्रति चीनको सहानुभूति होला त ? 

–यो राजावादी आन्दोलनमा चीनको सहानुभूति छ कि छैन त्यो कुरा मलाई थाहा छैन, तर यति भन्न सक्छु– नेपालका हरेक राज्यसत्तासँग चीनको राम्रो सम्बन्ध छ । चाहे राजावादीहरूको सत्ता होस् या गणतन्त्रवादीहरूको । हरेक सत्तासँग चीनको राम्रो सम्बन्ध छ । चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हात हालेको देखिँदैन । त्यस्तो कुनै घटनाक्रम छैन । 

चीनको बारेमा जति हल्ला गरे पनि नेपालमा चीनले माइक्रोलेभलमा कहिल्यै हस्तक्षेप गरेको छैन । चीन जहिले पनि नेपालको हितमा छ । नेपालले उन्नति प्रगति गरोस् भनेर सोचिरहेको हुन्छ । त्यसले चीन राजतन्त्र वा राजा फर्काउन कुनै प्रकारको हर्कत गर्छजस्तो मलाई लाग्दैन । 

राजतन्त्र वा राजावादीलाई नै सघाएर हिन्दु राष्ट्र बनाउने उद्देश्य पक्कै पनि भारतको पनि होइनजस्तो लाग्छ ।
  • चीनलाई अन्य लोकतान्त्रिक दलको सत्ताभन्दा राजतन्त्रबाट बढी फाइदा देखिन्छ, त्यो बेनिफिटका लागि पनि काम गरेको हुन सक्छ भनिन्छ नि ?

– फाइदाकै कुरा गर्ने हो भने नेपालबाट चीनलाई के फाइदा भएको छ र ? चीनले विश्वका विभिन्न देशसँग ठुला ठुला व्यापार गरिरहेको छ । नेपालसँग के नै गरेको छ र ? नेपालको कुनै सत्तासँग कुनै प्रकारको फाइदा लिएको छजस्तो मलाई लाग्दैन । बरु चीनले नेपालको विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सहयोग गरेको छ । विभिन्न सुझावहरू दिइरहेको छ । विभिन्न क्षेत्रमा लगानी बढाएको छ । राजतन्त्रबाट चीनले झन् के नै फाइदा लिन्छ र ? नेपालसँग असल छिमेकीको सम्बन्ध बनाएर बसेको छ । नेपालको प्रगति होस् भन्ने चाहेको छ । 

  • नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले राजावादीलाई सघाएको भन्ने नेपालमा टिप्पणी गरिएको छ, तपाईँको बुझाइ के हो ? 

–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले त विश्वस्तरमै एउटा धर्मका लागि काम गरिरहेका छन् । हिन्दु धर्म विश्वमै कायम रहोस् भन्ने उद्देश्यमा उहाँ हुनुहुन्छ । झन् नेपालमा त्यो नचाहेको होला भन्न सकिन्न । 

नेपालकै कम्युनिस्ट नेता भनाउँदाहरू भारतमा गएर गेरुवस्त्र धारण गरी पूजापाठ गरेको देखिन्छ । त्यसले पनि विभिन्न संकेत गर्छ । तर राजतन्त्र वा राजावादीलाई नै सघाएर हिन्दु राष्ट्र बनाउने उद्देश्य पक्कै पनि भारतको पनि होइनजस्तो लाग्छ । नेपालमा राजतन्त्र आएपछि भारतलाई फाइदा छैन भने कुरा उसले बुझेको छ । त्यसैले राजा वा राजतन्त्रलाई फर्काउन भारतले सहयोग गरेको होजस्तो मलाई लाग्दैन । 

  • त्यसो भए राजवादीहरूको आन्दोलनलाई भारतका हिन्दुवादीहरूको सहानुभूति छ, होइन ?

–एक्ज्याक्ट त्यही हो भन्न सकिँदैन । तर भारतले नेपालको सन्दर्भमा जुनको खालको माइक्रो म्यानेजमेन्ट तहमा काम गरिरहेको छ, त्यसले गर्दा शंका गर्ने ठाउँहरू छन् । 

  • तपाईं विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिबारे अध्ययन अनुसन्धान गर्नुहुन्छ, विभिन्न छलफलहरू चलाइरहनुहुन्छ, तपाईँलाई के लाग्छ नेपालमा राजतन्त्र सम्भव छ ? 

– २००७ सालपछि नेपालमा कुनै पनि परिवर्तन जितेर आएको छ । सबै परिवर्तन आन्दोलन सम्झौतामा आएका हुन् । सधैँ कम्प्रमाइजको पोल्टिक्स हुन्छ । यदि कुनै शक्ति जितेर आएका भए यस्तो हुन्छ भन्न सकिन्थ्यो होला । नेपालमा कम्प्रमाइजको राजनीति भएकाले राजवादी वा राजतन्त्र आउन सक्दैन भन्न सकिने अवस्था छैन । राजनीतिक दलका नेताहरूले चाह्यो भने सम्झौता गरेर जे पनि गर्न सक्छन् । ठाउँ दिनुपर्‍यो भने केही न केही गर्न सक्छन्, किनभने उनीहरू पनि सम्झौता गरेर नै यहाँसम्म आइसकेका हुन् । वेलावेलामा पूर्वराजा ज्ञानेन्द्र शाहले पनि राजनीतिक दलसँग सम्झौता भएको कुरा ल्याउनुहुन्छ । माओवादीकै नेताहरूले राजासँग सम्झौता भएको कुरा बाहिर ल्याउनुहुन्छ । त्यसैले के हुन्छ भन्न सकिँदैन । नेपाल नै यस्तो देश हो, जहाँ हार्ने पनि सत्तामा छन्, जित्ने पनि । अर्थात् हार्ने जित्ने दुवै सँगसँगै छन् । 

  • राजतन्त्रका लागि यी राजनीतिक दलहरूले कम्प्रमाइज गर्लान् जस्तो लाग्छ तपाईँलाई ? 

–मैले अघि नै भनेँ, यो देशमा कुनवेला के हुन्छ कसैलाई थाहा हुँदैन । विगतमा यी दलका नेताहरूले कम्प्रमाइज गरेर राजतन्त्र नब्युँताएको होइन । गणतन्त्र घोषणा भइसक्दा पनि गिरिजाप्रसाद कोइरालाले बेबी किङको प्रस्ताव ल्याएको धेरै भएको छैन । नेपाली जनताले बिर्सेका छैनन् । आन्दोलन गर्दागर्दै राजाको पाउमा दाम चढाएका यिनै राजनीतिक दलका नेताहरू छन् । त्यसैले नेपालको राजनीतिमा हरेक कुरा सम्भव छ । नेपाली असम्भव भने कुरा केही छैन । 

  • नेपालमा जुनखालको असन्तुष्टि बढिरहेको छ, त्यसमा बाह्य शक्तिले खेल्न पनि सक्छ नि होइन ?

–मैले भनिहालेँ नि, असम्भव केही पनि छैन । जबसम्म राजनीतिक अस्थिरता लामो हुन्छ, त्यसबाट बाह्य शक्तिहरूले फाइदा लिइरहेका हुन्छन् । बाह्य शक्ति खेल्ने भनेको कमजोर ठाउँमा नै हो । जहाँ अस्थिरता छ, राजनीतिक अराजकता छ, त्यहाँ मौका पाउनेबित्तिकै जो पनि खेल्न सक्छन् ।      

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप