आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : राजावादीको गतिविधि र विदेशी चासो

‘नेपाललाई अस्थिर देख्न चाहने शक्तिले राजावादीहरूलाई सघाइरहेका छन्’

राजतन्त्र फर्काउन भारतको संस्थापन पक्षले सहयोग गरिरहेजस्तो मलाई लाग्दैन : विष्णु रिजाल, केन्द्रीय सदस्य, नेकपा (एमाले)
बिहीबार, १४ चैत २०८१, ०९ : ३८
बिहीबार, १४ चैत २०८१

हिन्दु राष्ट्रसहितको राजतन्त्र र राजा फर्काउने नेपालमा कसरत भइरहेको छ । राजावादीहरूले बडो उत्साहपूर्वक प्रदर्शनहरू गरिरहेका छन् । ती प्रदर्शन स्वाभाविक हुन् । यसलाई अन्तर्राष्ट्रिय शक्तिले सघाएको त छैन भनी विभिन्न कोणबाट बहस पनि भइरहेको छ । 

सत्तारुढ दल नेकपा एमालेले आधिकारिक रूपमा कुरा बाहिर नल्याए पनि दलको बैठकमा नेताहरूले राजवादीलाई उचाल्न अन्तर्राष्ट्रिय शक्ति लागेको भन्ने गरेका छन् । वास्तवमा के हो त ? नेपालमा राजावादीहरूलाई कसले उचालिरहेका छन् ? कुन अन्तर्राष्ट्रिय शक्तिको हात राजवादीको टाउकोमा छ ? यस्तै विषयमा रहेर विदेश मामिला जानकार एवं एमाले केन्द्रीय सदस्य विष्णु रिजालसँग गरिएको कुराकानी: 

  • राजवादीहरूको आन्दोलनलाई अन्तर्राष्ट्रिय शक्तिहरूको सहानुभूति कतिको देख्नुहुन्छ ?

– राजावादीहरूको मुभमेन्टमा कुनै पनि अन्तर्राष्ट्रिय शक्तिहरूको संलग्नता औपचारिक रूपमा देखिएको छैन । तर नेपालको लोकतन्त्रलाई समाप्त पार्ने, देशमा स्थिरता ल्याउने चलखेल भइरहेको सत्य हो । 

जनताले बनाएका संविधानलाई भत्काउने कोसिस भइरहेको छ, त्यो त्यतिकै भएको छैन, कसैको नकसैको ब्याक सपोर्ट पक्कै छ । उनीहरूले आफ्नो ल्याकतले यति ठुलो दुस्साहस गर्दैनन् । नेपालमा विकास नचाहने, शान्ति व्यवस्था नचाहने शक्ति केन्द्रहरू यतिखेर सक्रिय भएका छन् । त्यही शक्ति केन्द्रहरूको सहयोग र उक्साहट रहेको बुझ्न सकिन्छ । 

तर त्यसो भन्दैमा कुनै देश विशेषले नेपालमा राजतन्त्र पुनर्स्थापना गर्दिन्छन् भन्ने कुरा सही होइन । नेपाली सेना, नेपाल प्रहरी, अन्तर्राष्ट्रिय समुदाय, निजामती कर्मचारीमध्ये कसैले राजतन्त्र बचाउन सकेन । आज एउटा सेटअप भएर संविधान बनिसकेपछि यसलाई भत्काउन सकिन्छ भनेर शक्तिकेन्द्रहरू लागेका छन् । जुन बिल्कुल सम्भव छैन । विश्वमा गणतन्त्रका लागि भएको आन्दोलनपछि राजाहरूको जुन हबिगत भयो, त्यो नेपालमा नहोस् भन्ने चाहन्छु । 

नेपालमा संविधान घोषणा भइसकेपछि त्यसलाई ज्ञानेन्द्र शाहले पनि स्वीकार गरेका छन् । उहाँले त्यसैकै आधारमा जीवन चलाइरहनुभएको छ, उद्योग व्यवसाय गरिरहनुभएको छ । राज्यबाट सेवा पाउनुभएको छ, सुरक्षा पाउनुभएको छ । यदि उहाँले अझै हर्कतहरू गर्दै जानुभयो भने सरकारले योभन्दा अर्को कदम पनि चाल्न सक्छ, तर यो अवस्था नआओस् भन्ने चाहन्छौँ । 

  • राजवादीहरूले आफ्नो बलबुतामा आन्दोलन नगरेका र कसैले न कसैले सघाइरहेका भन्नुभयो । तपाईंको संकेत कतातिर हो ?

– खासगरी दक्षिण (भारत) तिरको धार्मिक अतिवादीहरूले यो सबै गराइरहेको बुझ्न सकिन्छ । भारत आफै पनि हिन्दु राष्ट्र होइन, भारत पनि धर्मनिरपेक्ष देश हो । भारत स्वयं उपनिवेशबाट स्वतन्त्र भएको देश हो । तर त्यहाँका केही जोगी, धार्मिक अतिवादी समूहले नेपालका राजावादीलाई उचालिरहेका छन् । नेपालमा अस्थिरता कायम गर्न तथाकथित हिन्दुवादीले हिन्दु राष्ट्रसहितको राजतन्त्रको वकालत गरिरहेका छन् कि भन्ने आशंका छ । 

काठमाडौँमा प्रदर्शन हुँदा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रदर्शन गरिएको थियो । त्यसैको आधारमा कुनै देश विशेषलाई आरोपित गरिहाल्ने अवस्था अहिले आइसकेको छैन, तर यसमा हामी सतर्क रहने अवस्था छ । 

नेपालको राजतन्त्रसँग होइन, नेपालको सत्तासँग चीनको राम्रो सम्बन्ध देखिन्छ ।
  • तपाईंको पार्टीले त राजावादीलाई भारतले उचालिरहेको ठहर गरेको छ नि ? 

– राजतन्त्र फर्काउन भारत सरकार वा संस्थापन पक्षले सहयोग गरिरहेजस्तो मलाई लाग्दैन । त्यस्तो गरेको कारण पनि मलाई लाग्दैन । भारतमा पनि साढे पाँच सय राजौटाहरू थिए । के ती सबै पुनर्स्थापना हुन्छ त ? के भारतमा फेरि ब्रिटिस राज्य आउँछ त ? आउँदैन । त्यसैले भारतले संस्थागत रूपमा त्यस्तो गर्छजस्तो मलाई लाग्दैन । हाम्रो पार्टीलाई पनि त्यस्तो लाग्दैन । तर भारतमा रहेका केही अतिवादी, धर्मलाई मुख्य आधार बनाएर राजनीति गर्ने, धर्मका आडमा राजनीति गर्ने तत्वहरूले कतै नेपाललाई अस्थिर बनाउन त्यस्तो गरेका हुन् कि भन्ने आशंका छ । 

  • इतिहास हेर्दा राजा र राजतन्त्रसँग भारतभन्दा चीन बढी निकट छ । भनेपछि चीनले पनि अहिलेका राजावादीप्रति सहानुभूति देखाउन सक्छ नि होइन ?

–नेपालको राजतन्त्रसँग होइन, नेपालको सत्तासँग चीनको राम्रो सम्बन्ध देखिन्छ । जतिवेला राजतन्त्र शासन सत्तामा थियो त्यतिवेला राजतन्त्रसँग चीनको राम्रो सम्बन्ध थियो । 

नेपाली कांग्रेसको सरकार बन्दा त्यो सरकारसँग पनि चीनको राम्रो सम्बन्ध थियो । माओवादी, एमाले अर्थात् जजसले सरकारको नेतृत्व गरे, सबैसँग चीनको राम्रो सम्बन्ध रहेको देखिन्छ । सत्तासँग चीनको हार्दिक सम्बन्ध छ । नेपालको आन्तरिक मामिलामा चीनले कहिल्यै हस्तक्षेप गरेन र गर्दैन । 

त्यही कारणले नेपालमा जस्तोसुकै सरकार बनोस्, जसको सरकार बनोस्, सबैसँग सौहार्द रूपमा काम गर्दै आएको हो, चीन । नेपालको सन्दर्भमा मात्र होइन, विश्वकै सन्दर्भमा । सन् १९४९ यता चीनले लिएको नीति त्यही नै हो । अहिले पनि विश्वमा विभिन्न देशहरूको लडाइँ भइरहेको छ । त्यसमा चीनको संलग्नता कहीँ पनि छैन । झन् नेपालको राजनीतिमा यो तहको संलग्नताबारे त हामीले कल्पनासम्म गर्न सक्दैनौँ । 

  • पछिल्लो समय त चीनले नेपालको हरेक गतिविधिमा चासो लिइरहेको देखिन्छ नि ? 

– विकास तथा आर्थिक समृद्धिमा चासो लिने कुरालाई हामीले सधैँ स्वागत गरेका छौँ । नेपालका लागि त्यो आवश्यक पनि छ । चीन विश्वको बढ्दै गएको महाशक्ति हो । चीन विश्वको दोस्रो अर्थतन्त्र भएको देश हो । निकट भविष्यमै पहिलो अर्थतन्त्र मुलुकको रूपमा अगाडि गइरहेको छ । त्यसबाहेक नेपालको सत्ता र राजनीति परिवर्तनमा चीनले कुनै चासो लिएको छैन । मैले बुझेअनुसार चीनको विदेश नीति, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश नीति नेपालको राजनीतिक सन्दर्भमा कुनै चासो छैन । 

विगतमा कम्युनिस्टहरूलाई मिलाउन, त्यसको नेतृत्वमा सरकार बनाउन चीनले भूमिका खेलेको कुरा सतहमै आइसक्यो । चीनले राजनीति हस्तक्षेप गर्दैन, राजनीतिक चासो राख्दैनन् कसरी भन्न सक्नुहुन्छ ? 

– यसमा म दुईटा कुरा भन्न चाहन्छु । एउटा कम्युनिस्ट पार्टीको नाताले विश्वभरिकै कम्युनिस्ट मिल्नुपर्छ । विश्वकै कम्युनिस्टहरूले जनताको मत प्राप्त गर्नुपर्छ भन्ने मान्यता स्वाभाविक हो । सबै कम्युनिस्टको त्यो चाहना हुन्छ । हामी कम्युनिस्टहरू अन्तर्राष्ट्रियवादी हौँ । 

जस्तैः भारतमा धेरै कम्युनिस्ट पार्टी छन्, सबै मिलेर एउटा पार्टी बनाउनुस् भन्छौँ हामी । रुसमा पनि धेरै कम्युनिस्ट पार्टी छन्, त्यहाँका कमरेडहरूलाई भेट्दा तपाईँहरू मिल्नुस् भन्छौँ हामी । एउटा शुभेच्छाको तहमा, एउटा भाइचारा तथा हितमा कुरा गर्ने भनेको सैद्धान्तिक विषय मात्र हो । 

दोस्रो कुरा, चीनसँग पार्टी तहमै जाँदा चीनको कम्युनिस्ट पार्टी र हाम्रो पार्टीको बिचमा हाम्रा मान्यताहरू मिल्दैनन् । हामी बहुदलीय प्रतिस्पर्धामा छौँ, उनीहरू क्रान्तिपछि सत्तामा आएका छन् । 

हामी पाँच वर्षपछि सत्तामा आउने जाने गर्छौँ, उनीहरू क्रान्तिबाट निरन्तर सत्तामा छन् । चीनले कुनै कम्युनिस्ट पार्टीलाई ल्याएर थचक्क सत्तामा बसाइदिन्छन् भन्ने कुरा चीनको राजनीति नबुझ्ने मान्छेले बोल्ने कुरा हो । 

हामी आफ्नै कारणले एकता गर्छौँ, हामी त्यसलाई बचाउन सक्दैनौँ, हामी आफ्नै कारणले जान्छौँ । त्यसले नेपालको राजनीतिमा चीनको संलग्नता हो भनी भन्न सकिँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप