आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
बेथिति

विदेशबाट आउने सामानको जाँचपासमा कडाइ, विमानस्थल भन्सारमा २ सय मेट्रिक टन सामान अड्कियो

बिहीबार, १४ चैत २०८१, २२ : ३८
बिहीबार, १४ चैत २०८१

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको कडाइका कारण दुई सय मेट्रिक टनभन्दा बढी सामान भन्सारमा अड्किएको छ । विमानस्थल कार्यालयले झिटीगुन्टा र कमर्सियल सामानको जाँचपासमा कडाइ गर्न थालेपछि विमानस्थलको गोदाम नै भरिने गरी सामान थुप्रिएको हो ।

भन्सारले विदेशबाट आउने सामग्रीलाई दुई भागमा विभाजन गरेको हुन्छ– पहिलो, व्यावसायिक (कमर्सियल) मालवस्तु र दोस्रो, व्यक्तिगत मालवस्तु । विदेशबाट आउँदा व्यक्तिगत तथा घरायसी प्रयोजनका लागि ल्याइने निश्चित परिमाणका वस्तुलाई भन्सारले महसुल छुट दिने व्यवस्था गरेको छ । यस्तो सामानलाई झिटीगुन्टा भन्ने गरिन्छ ।

यसबाहेकका सामानलाई भने व्यावसायिक (कमर्सियल) मालवस्तु भनिन्छ । यसमा तोकिएको दरमा भन्सार तथा आयात निर्यातसबन्धी अन्य प्रक्रियागत व्यवस्थासमेत लागु हुन्छ ।

कार्गो तथा कुरियर सेवा प्रदान गर्ने कम्पनीमार्फत् व्यक्तिले पठाएको सामानलाई पनि झिटीगुन्टाकै सरह मानेर भन्सार छुट दिइँदै आएको थियो तर, सोही माध्यमबाट व्यावसायिक सामान ल्याउँदा भने भन्सार महसुल लिएरमात्रै जाँचपास गरिँदै आएको थियो ।

गत फागुन ११ गते बसेको भन्सार कार्यालयको व्यापार सहजीकरण सम्बन्धी बैठकले कार्गो तथा कुरियरमार्फत् आउने व्यावसायिक सामानहरू समेत व्यक्तिगत प्रयोजनको भनेर घोषणा गर्ने प्रवृत्ति देखिएको भन्दै यसमा कडाइ गर्ने निर्णय गरेको थियो । त्यसको भोलिपल्टदेखि भन्सार कार्यालयहरूले जाँचपास कडाइ गर्न थालेपछि भन्सार विन्दुमा सामान थुप्रिएको हो ।

विमानस्थल भन्सार कार्यालयका एक अधिकारीका अनुसार अहिले त्यस्तो सामानले कार्यालयको गोदाम नै भरिइसकेको छ । उक्त भन्सार कार्यालयको गोदाममा मात्रै २०० मेट्रिक टनभन्दा बढी सामान जाँचपास हुन नसकेर रोकिएको ती अधिकारी बताउँछन् ।

भन्सारले उक्त निर्णय गरेको केही दिन अघिमात्रै सरकारले भन्सार विभागका महानिर्देशकदेखि विमानस्थल कार्यालयका प्रमुख भन्सार अधिकृतसम्मको सरुवा गरेको थियो । अहिले विभागको महानिर्देशकमा महेश भट्टराई छन् भने विमानस्थल भन्सार प्रमुखमा दिलीप गौतम सरुवा भएर आएका छन् । विभाग र कार्यालयमा नयाँ नेतृत्व आएपछि जाँचपासमा कडाइ हुन थालेको कार्गो तथा कुरियर व्यवसायी बताउँछन् ।

भन्सार विभागका महानिर्देशक भट्टराई झिटीगुन्टाको नाममा सरकारले दिएको राजस्व छुटलाई दुरुपयोग गर्दै व्यावसायिक सामान भित्र्याउने गरेको पाइएकाले यसलाई रोक्ने प्रयास गरिएको बताउँछन् । कार्गो तथा कुरियर व्यवसायीले भन्सार तिरेर सामान छुटाउन तयार नभएकाले केही सामान रोकिएको उनको भनाइ छ ।

‘व्यावसायिक सामानलाई झिटीगुन्टा भनेर आउन नदिनको लागि त्यस्तो गरिएको हो । आफैँ सामान लिएर आउने श्रमिकलाई त्यस्तो समस्या पर्दैन,’ भट्टराईले भने, ‘कार्गो र कुरियरमार्फत् आएका सामानलाई व्यावसायिक घोषणा गरेर भन्सार महसुल तिर्न लगाइएको छ । के कति सामान रोकिएको छ भन्ने कुरा सम्बन्धित कार्यालयलाई नै थाहा हुन्छ ।’

हङकङमा बसेर नेपालबाट कार्गो सामानको ओसारपसार गर्ने एजी एक्सप्रेसका अध्यक्ष तुलसी उप्रेती भन्सार कार्यालयको कडाइका कारण व्यक्तिगत रूपमा पठाइएका सामान महिनौँसम्म रोकिने अवस्था भएको बताउँछन् । उनका अनुसार भन्सारसम्बन्धी प्रस्ट कानुन नहुँदा व्यवसायी समस्यामा मात्रै पर्ने नभएर ग्राहकको विश्वाससमेत गुमाउनुपर्ने अवस्था छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख दिलीप गौतमको भनाइ पनि उस्तै छ । ‘आईएम–फोर’ सामानलाई ‘पीईआई–फोर’ भनेर घोषणा गरेर जाँचपास गर्ने गरिएकाले यसलाई रोक्न खोजिएको उनको भनाइ छ । ‘कमर्सियल आइटमको रूपमा आएका सामानलाई हामी आईएम–फोर भन्छौँ । व्यक्तिगत सामान ल्याउनेलाई पीईआई–फोर भन्छौँ । त्यो प्रमाणपत्रको क्याटेगोरी हो,’ भन्सार प्रमुख गौतमले भने, ‘आईएम–फोरको फाराम भरेर जाँचपास गर्नुपर्ने सामानलाई पीईआई–फोरको फाराम भरेर जाँचपास गर्ने गरिएको छ । हामीले आईएम–फोरकै आधारमा जाँचपास गरेर लैजानुस् भनेका हौँ ।’

गौतमले कार्गोमार्फत आएका सामानलाई व्यापारिक सामान घोषणा गरी मूल्याङ्कन अनुसार भन्सार महसुल बुझाएर लैजान कुनै समस्या नभएको बताए । उनले भने, ‘अहिले कार्गोमार्फत आएका झिटीगुन्टा सामानमा कमर्सियल सामान पनि आएको गुनासो आएकाले त्यसलाई कडाइ गरिएको हो । झिटीगुन्टाको नाममा कमर्सियल आइटम भित्रिनु भएन भन्नेमात्रै हो ।’

गौतमले पनि जाँचपास हुन नसकेर गोदाममा सामान थुप्रिएको स्वीकार गरे । उनले भने, ‘भन्सार जाँचपास गरेर सामान नलैजाँदा गोदाममा केही सामान बसेको छ, यति नै छ भन्नेचाहिँ थाहा छैन ।’

व्यवसायीहरूको गुनासो

हङकङमा बसेर नेपालबाट कार्गो सामानको ओसारपसार गर्ने एजी एक्सप्रेसका अध्यक्ष तुलसी उप्रेती भन्सार कार्यालयको कडाइका कारण व्यक्तिगत रूपमा पठाइएका सामान महिनौँसम्म रोकिने अवस्था भएको बताउँछन् । उनका अनुसार भन्सारसम्बन्धी प्रस्ट कानुन नहुँदा व्यवसायी समस्यामा मात्रै पर्ने नभएर ग्राहकको विश्वाससमेत गुमाउनुपर्ने अवस्था छ ।

‘कस्तो सामानलाई व्यक्तिगत मान्ने, कस्तोलाई कर्सियल मान्ने भन्ने प्रस्ट व्याख्या छैन, ग्राहकले पठाएको सामान हामीले ल्याएका छौँ । उता हाम्रो सामान कहिले आइपुग्छ भनेर ग्राहकहरू भनिरहनुभएको छ, यसको जवाफ दिनसक्ने अवस्था छैन,’ उप्रेतीले भने । भन्सार कार्यालयले भनेअनुसार जाँचपास गरेर लैजानसमेत समस्या रहेको उनको भनाइ छ ।

‘भन्सारसम्बन्धी व्यवस्था अनुसार ५०० डलरभन्दा धेरै कमर्सियल आइटमको जाँचपास गर्न टीटी गर्नुपर्छ, वा एलसी खोल्नुपर्छ,’ उप्रेतीले भने, ‘व्यक्तिगत सामान कार्गो गरिएको छ, त्यसको टीटी, एलसी कहाँबाट खोल्नु ?’

सरकारले कार्गोमार्फत् आउने सामानमध्ये कुनलाई कमर्सियल मान्ने, कुनलाई व्यक्तिगत मान्ने भन्ने प्रस्ट व्यवस्था नगरेसम्म यसरी रोकिनु नहुने उनको भनाइ छ ।

त्यस्तै, नेपाल कुरियर सेवा संघका अध्यक्ष दुर्गाप्रसाद सुवेदी केही व्यवसायीले कमर्सियल सामानलाई व्यक्तिगत भनेर ल्याउने गरेकाले सबैले दुःख पाउने अवस्था भएको बताउँछन् । ‘भन्सारमा झिटीगुन्टा भनेर कार्गोमार्फत् आएको सामान कर्मिसियल हो भनेर एक महिनादेखि भन्सारले रोकेर राखेको अवस्था छ,’ उनले भने, ‘कार्गोमार्फत आएका सबै सामान कमर्सियल हुँदैनन् । झिटीगुन्टा भनेर ल्याएका सामानमा कतिपय कमर्सियल सामान पनि आएको छ । त्यही भएर कडाइ गर्न खोजिएको होला तर, यसमा सहजीकरण गर्न आवश्यक छ ।’

वैदेशिक रोजागारीमा रहेकाहरूले विदेशमा आफूले दुःख गरेर कमाएको पैसाले परिवारका लागि थोरै सामान पठाउँदा समेत राज्यले भन्सारमा रोकेको दुखेसो गरेका छन् । साउदी अरबमा रोजगारीका लागि गएकी गंगामाया तामाङले कार्गोमार्फत बच्चाका लागि पठाएको ३९ किलो सामान एक महिनादेखि भन्सारमा रोकिएको छ ।

कुरियर व्यवसायी बलबहादुर राउतले पनि त्रिभुवन भन्सार कार्यालयमा एक महिनादेखि खाडी मुलुकबाट श्रमिकहरूले पठाएको सामान अड्किएर बसेको बताए । उनले स्वयं व्यक्ति आफू नआइ कार्गो गरी पठाएको सामान व्यापारिक सामान घोषणा गरी मूल्याङ्कन अनुसार भन्सार महसुल बुझाउनु पर्ने व्यवस्थाका कारण रोकिँदा व्यवसायीहरूलाई समेत समस्या परेको बताए ।

राउतले सरकारको नीतिको कारण सामान रोकिए पनि विदेशबाट कार्गो मार्फत समान पठाउनेबाट कुरियर व्यवसायीले गाली खानु परेको बताए ।

उनले भने, ‘झिटीगुन्टा व्यवस्था अनुसार कार्गो मार्फत आएका सामान रोकिएमा छन् । अहिलेको परिमार्जित व्यवस्था अनुसार कार्गो मार्फत आएका सामानहरू कमर्सियल घोषणा गर्नु पर्ने व्यवस्था छ तर सामान पठाउने व्यक्ति विदेशमा छन्् । सामान लिन आउने श्रमिकका परिवारबाट व्यवसायीलाई दबाब सिर्जना भएको छ ।’

वैदेशिक रोजागारीमा रहेकाहरूले विदेशमा आफूले दुःख गरेर कमाएको पैसाले परिवारका लागि थोरै सामान पठाउँदा समेत राज्यले भन्सारमा रोकेको दुखेसो गरेका छन् । साउदी अरबमा रोजगारीका लागि गएकी गंगामाया तामाङले कार्गोमार्फत बच्चाका लागि पठाएको ३९ किलो सामान एक महिनादेखि भन्सारमा रोकिएको छ । सामान रोकिएपछि उनले सरकारले नेपाली श्रमिकको अपमान गरेको गुनासो गरेकी छन् ।

१७ वर्षदेखि साउदीमै बस्दै आएकी उनी भन्छिन्, ‘मैले सुरुदेखि नै धेरै पटक कार्गोबाट सामान पठाएको छु । योभन्दा अगाडि कहिल्यै रोकिएको थिएन, अहिलेमात्रै किन रोकियो ? यहाँबाट हामीले कार्गोलाई घरसम्म पुग्न लाग्ने पैसा तिरिसकेका छौँ । उहाँहरू पैसा थप्न पर्‍यो भन्नुहुन्छ, हामीले कसरी थप्ने ? कि भने कार्गो गर्नुभन्दा पहिलै थाहा दिनुपर्थ्यो ।’

विमानस्थल भन्सार कार्यालयका प्रमुख गौतम व्यक्तिगत रूपमा ल्याइएका सामानका कुनै समस्या नरहेको दाबी गर्छन् । त्यस्तै, कार्गोमार्फत् आएका सामान पनि पीईआई–४ घोषणा गरी भन्सार तिरेर लैजान चाहनेलाई कुनै समस्या नभएको उनको भनाइ छ ।

उनले भने, ‘अहिले कार्गोमार्फत आएका झिटीगुन्टामा कमर्सियल सामान पनि आएको पाइएकाले मात्रै त्यसलाई कडाइ गरिएको हो । व्यक्तिगत सामानलाई कुनै समस्या छैन । हाम्र उद्देश्य झिटीगुन्टाको नाममा कमर्सियल आइटम नभित्रियोस् भन्ने मात्रै हो ।’

भन्सार कानुनसँग बाझियो नयाँ नीति 

विदेशबाट आउँदा तोकिएको परिमाणभित्रको व्यक्तिगत सामानमा भन्सार छुट दिने व्यवस्था भन्सार ऐनमै गरिएको छ । प्रत्येक वर्ष आउने आर्थिक विधेयकले समेत यसलाई निरन्तरता दिँदै आएको छ । यस्तो व्यवस्थामा कार्गोमार्फत् आउने सामानलाई चाहिँ रोक्ने कुनै व्यवस्था छैन तर, कार्गोमार्फत् कमर्सियल सामान आउनसक्ने भन्सार प्रशासकको आशङ्का गलतजस्तो नदेखिए पनि उनीहरूका गतिविधिले भन्सार कानुन भने उल्लङ्घन गरेको देखिन्छ ।

कानुनले १०० जना दोषी उम्किउन् तर निर्दोष व्यक्ति एक जना पनि नपरुन् भन्ने सिद्धान्त बोकेको हुन्छ । यद्यपि यो मामिलामा केही व्यापारीले गरेको गलत कामको परिणाम आम सर्वसाधारणलाई थोपर्न खोजिएको छ । अहिलेको व्यवस्थाले विदेशबाट पठाइएको पुराना कपडाको समेत भन्सार तिर्नुपर्ने अवस्था आएको देखिन्छ ।

यस्तो छ झिटीगुन्टासम्वन्धी विद्यमान व्यवस्था

सरकारले झिटीगुन्टा आदेशमार्फत विदेशबाट ल्याउन पाउनेसामानको सूची बनाएको छ । उक्त आदेश अनुसार ल्यापटप वा कम्प्युटर, ट्याबलेट, घडी, क्यामरा, भिडियो क्यामरा, सेलुलर, मोबाइल फोन र पेन ड्राइभ १/१ थान ल्याउँदा भन्सार छुट पाइने व्यवस्था छ । यस्तै, बच्चा राख्ने पेराम्बलेटर र ट्राइसाइकल १/१ वटा ल्याउँदा पनि कुनै भन्सार तिर्नुपर्दैन ।

वैदेशिक रोजगारीमा गएर कम्तीमा एक वर्ष बिताएका नेपालीले ३२ इन्चसम्मको टेलिभिजन ल्याउन पाउने व्यवस्था छ ।

सात किलोसम्म खाद्यसामग्री ल्याउँदा पनि भन्सार भुक्तानी गर्नुपर्दैन । निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थीका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउँदा भन्सार लाग्दैन ।

विभिन्न पेसा गर्ने व्यक्ति स्वदेश फर्किंदा ल्याएका व्यावसायिक सामानमा पनि भन्सार नलाग्ने व्यवस्था छ । डाक्टरले ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीले खेलकुद सम्बन्धी सामानहरू फुटबल, भलिबल, संगीत क्षेत्रमा लागेकाहरूले बाजाहरू, गितार, हार्मोनियम, तबला, लगायतका सामान १/१ थान ल्याउन भन्सार रकम भुक्तानी गर्नुपर्दैन ।

सात किलोसम्म खाद्यसामग्री ल्याउँदा पनि भन्सार भुक्तानी गर्नुपर्दैन । निश्चित परिमाणमा लुगाफाटा, बिछ्यौना, घर गृहस्थीका पुराना सामान लगायत व्यक्तिगत प्रयोजनका विभिन्न सामाग्री ल्याउँदा भन्सार लाग्दैन ।

औषधि उपचारका लागि विदेश गएका नागरिकले आफ्नै प्रयोजनका लागि ल्याउने औषधि र शारीरिक रूपमा अशक्तहरूको सहाराको लागि ल्याइने सामग्रीमा पनि भन्सार छुटको व्यवस्था छ ।

झिटीगुन्टा अन्तर्गत विदेशबाट सुनका गहना ५० ग्राम र चाँदीका ५ सय ग्रामसम्म ल्याउन पाइन्छ । काँचो सुनचाँदी लिएर नेपालको अन्तर्राष्ट्रिय एयरपोर्टमा आउन पाइँदैन । त्यस्तै, विदेशबाट आउँदा १ लिटरसम्म मात्रै मदिरा ल्याउन पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप