आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय
व्यवसाय

लकडाउनमा फुरेको आइडियाले व्यापारमा तरक्की

बिहीबार, १४ चैत २०८१, ०६ : ४७
बिहीबार, १४ चैत २०८१

‘कोभिड १९’को महामारीका कारण विश्व अर्थतन्त्र डामाडोल भयो । कैयौँको व्यापार–व्यवसाय तहसनहस भयो । कतिले व्यापार, व्यवसाय बन्द गरेर सुरक्षित बाटो रोजे ।

चितवनका युवा निकेश बरालका लागि भने ‘कोभिड १९’ महामारी पनि अवसर भइदियो । त्यो कहालीलाग्दो अवस्थामा उनको मनमा फुरेको आइडिया नै तरक्कीको खुट्किलो बनिदियो ।

२८ वर्षीय निकेशले चितवनमै छँदा मेडी डर्मा केयर नेपालको नाममा स्किन केयर प्रोडक्टको व्यापार गर्थे । दुई वटा आउटलेट खोलेर चितवनमा राम्रो व्यापार गरिरहेका उनले आफ्नो बेग्लै ब्राण्ड बनाएर बिक्री गर्ने सोच बनाए । उनीसँग अनुभव र जम्मा गरेको पैसा थियो । लामो तयारी, अनुसन्धान र आँटपछि उनले आफ्नै ब्राण्डको सुरुवात गरे– द स्किन प्रोफेसनल्स ।

यसै कम्पनीको सीईओ र सह संस्थापक हुन् निकेश । काठमाडौँको क्षेत्रपाटीमा तीन जनाबाट सुरु भएको द स्किन प्रोफेसनल्सले छोटो अवधिमै राम्रो बजार लियो । आफ्नै ब्राण्डको नाममा विभिन्न स्किन केयर प्रोडक्टहरू बिक्री गर्दै आएको यस कम्पनीले हाल ७ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको छ ।

प्लस टुमा साइन्स, स्नातकमा आईटी र मास्टर्समा एमबीए गरेका निकेश नयाँ–नयाँ प्रयोग गर्न रुचाउँछन् । खाली समय बस्न नरुचाउने उनले चितवनमा मट्का चिया र लाफिङको व्यवसाय पनि गरेका थिए । १९ वर्षको उमेरमै फाउन्डर बनेर उनले मिस एसईई चितवनको तीन सिजनसम्म चलाए । कति कुराले उनलाई अनुभव दिलायो, कति कुराले आत्मविश्वास भर्‍यो ।

थिएटर सिकेका, क्रिकेटमा रुचि राख्ने निकेशले सुरुमा तीन वटा स्किन केयर प्रोडक्टबाट आफ्नो व्यापार थाले । हाल उनको कम्पनीले सनक्रिम, मस्चराइजर, सिरम, क्लिनजर लगायत छालाको सुन्दरताको लागि ७ वटा प्रोडक्ट बिक्री गर्दै आएको छ । ‘कम्पनीको व्यापार सन्तोषजनक छ,’ उनले भने, ‘मैले विदेश जानेबारे सोचेको छैन ।’

झण्डै एक सय स्किन प्रोडक्ट कम्पनीमध्ये निकेशले हाँकेको कम्पनी हो– द स्किन प्रोफेसनल्स । हाल भारतमा म्यानुफ्याक्चर गरेर आफ्नै ब्राण्ड स्थापित गर्न उनी संघर्षरत छन् ।

आगामी दिनमा नेपालमै म्यानुफ्याक्चर गरेर विदेशमा नेपाली उत्पादन निर्यात गर्ने सोच उनले बनाएका छन् । हाल कम्पनीले सन्तोषजनक व्यापार गरे पनि १० वर्ष पुग्दासम्म उनले धेरै पैसाको अपेक्षा राखेका छैनन् ।

nikesh baral2

अवसर र सम्भावनाहरूको खोजीमा नेपालबाट दिनहुँ विदेश पलायन हुनेहरूको संख्या लामो छ । स्वदेशमा बस्ने युवाहरूको मनमा निराशा बढ्दो छ । सम्भावना नदेखेर युवाहरू नयाँ–नयाँ विकल्पको खोजीमा भेटिन्छन् । त्यो भिडमा निकेश भने फरक लाग्छन् । उनी आशावादी र आत्मविश्वासले भरिएका छन् । विदेश जाने उनमा कुनै सोच छैन । जे गर्छु, नेपालमै गर्छु, भविष्य बनाउँछु भन्ने कुरामा उनी दृढ छन् ।

नेपालमा धेरैले व्यापार, व्यवसाय थाल्दा कुनै अध्ययन, बजार अनुसन्धानविना थालिएकाले असफल भएका थुप्रै उदाहरण निकेशले देखेका छन् । कतिले अरुको देखासिकीमा व्यवसाय थाल्दा सोचे जस्तो परिणाम हात पार्न नसकेको उनी देख्छन् ।

यिनै कारण विदेशिने थुप्रै युवाहरू उनले भेटेका छन् । व्यवसायमा सफल हुन सुरुमै ठुलो महत्त्वाकांक्षा नराख्न उनी सुझाउँछन् । ‘सफल हुन धैर्यता र निरन्तरता चाहिन्छ,’ उनले भने, ‘आफूमा दृढ सङ्कल्प पनि चाहिन्छ ।’

आफ्नो सफलताका केही राज निकेशले खुलासा गरे । उनका अनुसार व्यापारमा सफल हुन मुख्य रुपमा चार वटा कुरा चाहिन्छ– सही समय, सही निर्णय, व्यापारका लागि उपयुक्त स्थान र समयको माग ।

यसबाहेक आफ्नो कम्पनीमा काम गर्ने सहकर्मीहरूको सन्तुष्टिमा निकै ध्यान पुर्‍याएको उनले बताए । कम्पनी सफल बनाउनमा स्टाफहरूको सन्तुष्टि, प्रगति, उनीहरूको माग र सेवासुविधामा ध्यान पुर्‍याउन निकै जरुरी भएको उनको भनाइ छ ।

‘यो कम्पनीमा मेरो भविष्य छ भन्ने सोच स्टाफहरूमा हुनुपर्छ । तब उनीहरूले मन दिएर काम गर्छन् ।’

नकारात्मक अवस्थामा पनि सकारात्मक सोच राख्ने निकेशले द स्किन प्रोफेसनल्स कम्पनीलाई यो भिडमा फरक रूपमा स्थापित गरेका छन् । नाफा कमाउनकै लागि अस्वस्थ प्रतिस्पर्धा गर्न उनलाई पटक्कै मन पर्दैन । उनलाई लाग्छ– आफ्नो प्रतिस्पर्धा आफैँसँग हुन्छ, अरुसँग होइन । त्यसले मात्र सही र राम्रो परिणाम दिन्छ ।

nikesh baral 2

‘वर्क हार्डभन्दा पनि वर्क स्मार्ट’भन्ने मान्यता बोकेका निकेश आफूलाई हरबखत अपडेट गरिरहन्छन् । आफ्नो क्षेत्रको ज्ञान, अनुभव बटुल्न उनी नयाँ–नयाँ कोर्स लिइरहन्छन् । सेमिनार, कन्फ्रेन्सहरूमा उत्तिकै भाग लिइरहन्छन् । कोर्सको पढाइभन्दा जीवनमा भोगाइले बढी सिकाउँछ भन्ने मान्यता छ उनमा ।

आठ वर्ष अरुको कम्पनीमा काम गरेर आफ्नै व्यापार थालेका वीरगञ्जका प्रतिक शाही उनका असल मित्र र अभिभावक बनेका छन् । उनलाई यो क्षेत्रमा अघि बढ्न शाहीको हौसला र अनुभवले पनि प्रेरणा दिएको छ । जीवनमा सफल हुन सिप, मेहनत, काम गर्ने सही तरिका र भाग्य पनि हुनुपर्छ भन्ने कुरा निकेशले आत्मसात गरेका छन् ।

काम गर्दागर्दै निराश नहुने निकेश हरेक परिस्थितिमा सकारात्मक सोच राख्छन् । त्यही मान्यताका कारण त उनको मुहारमा सधैँ मुस्कान र मनभरि आत्मविश्वास छाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप