आइतबार, १७ चैत २०८१
ताजा लोकप्रिय

बेनी–जोमसोम सडकका बेलिब्रिज जोखिममा

बुधबार, १३ चैत २०८१, २१ : २५
बुधबार, १३ चैत २०८१

म्याग्दी । क्षमताभन्दा बढी तौलका मालबाहक सवारीसाधन गुडाउँदा बेनी–जोमसोम–कोरला सडकका बेलिब्रिज जोखिममा परेका छन् । बढी तौलका सवारी साधन गुडाउँदा बेलिब्रिज जीर्ण भएको र दुर्घटनाको जोखिमसमेत बढेको छ ।  

बेलिब्रिजमा क्षति हुँदा अन्तरदेशीय व्यापारिक कोरलानाका जोड्ने सडकमा यातायात ठप्प हुन्छ । भारबहन क्षमता अधिकतम १८ मेट्रिकटन रहेको बेलिब्रिज बेनी–जोमसोम खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ खोला, वडा नं ३ दानाको रुप्सेखोला, बेनी र पर्वतको बगरफाँटको सिमाना कालीगण्डकी, मुस्ताङको कोवाङ, बोक्सी र टुकुचेको थापाखोलामा रहेका छन् । 

एक पटकमा एउटा मात्र सवारी साधन तार्न मिल्ने बताउँदै निर्माण र खाद्य सामग्री बोकेका १८ मेट्रिकटनभन्दा बढी तौल भएका ट्रक, टिपर, लरी, टेलर बेलिब्रिजबाट तारिँदा भाँचिने र भत्किने जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजकुमार केसीले बताए ।

क्षमताभन्दा बढी तौलका सवारीसाधन बेलिब्रिजबाट गुडाउँदा दुर्घटनाको जोखिम बढेकाले निगरानी थालिएको जानकारी दिँदै उनले, ‘भार थाम्न नसकेर बेलिब्रिज भाँचिने र भत्किने जोखिम बढेपछि केही दिनदेखि म्याग्दीबाट मुस्ताङ जाने सवारी साधनलाई पोखरेबगर र मुस्ताङबाट बेनीतर्फ आउने बेलिब्रिजको क्षमताभन्दा बढी तौलका सवारी साधनलाई जोमसोममै रोक्न थालेको बताए । 

स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम–कोरला सडकका पक्की पुल निर्माण नभएका ठाउँमा अस्थायी रूपमा सवारी साधन आवतजावतका लागि बेलिब्रिज जडान गरिएको छ । बेनी–जोमसोम–कोरला आयोजनाले बेलिब्रिजहरूमा क्षमताभन्दा बढी तौलका सवारीसधान सञ्चालन नगर्न आवश्यक जानकारीसहित सूचना बोर्ड राखिएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप