शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

एपीएफ तिलोत्तमा गोल्डकपको उपाधिनजिक

बुधबार, १३ चैत २०८१, २० : १२
बुधबार, १३ चैत २०८१

बुटवल । विभागीय टोली एपीएफ क्लब २३औँ तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिनजिक पुगेको छ । देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपीएफले संकटा क्लबलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । 

एपीएफको जितमा युवराज खड्काले गरेको गोल नै निर्णायक साबित भयो । दुवै टोलीले निर्धारित ९० मिनेटको खेलमा केही उत्कृष्ट अवसर बुनेका थिए । तर, फिनिसिङमा चुक्दा गोल भने निकाल्न सकेनन् । त्यसपछि खेल बराबरी हुँदै टाइब्रेकरउन्मुख थियो । तर, थप गरिएको ६ मिनेटको इन्जुरी समयलाई युवराजले सफलतापूर्व सदुपयोग गर्दै खेल टाइब्रेकरमा पुग्नबाट रोके ।

उनले ९४औँ मिनेटमा सुजन पुलामीसँग उत्कृष्ट तालमेल मिलाएका थिए । उनको सर्ट पासलाई सुजनले एक्लैले पेनाल्टी बक्सनजिक पुर्‍याएर लामो प्रहार गरेका थिए । तर, उक्त प्रहार संकटाका गोलकिपर विशाल केसीले सही जर्जमेन्ट गरे पनि बचाउन सकेनन् । 

अनुभवमा कमी देखिएका विशालको हातबाट बल फुत्किएसँगै रिबाउन्डमा युवराजले गोल गरेका हुन् । योसँगै एपीएफको जित सुनिश्चित भयो । एपीएफले पहिलो क्वार्टरफाइनलमा आयोजक करेन्ट रुपन्देही–११ लाई १–० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

योसँगै एपीएफले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरिसकेको छ । अब एपीएफले उपाधिका लागि ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग खेल्ने पक्का भएको छ ।

यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार अपरान्ह्र ४ बजे हुने तय छ ।  बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमूर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औँ संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, एपीएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप