इटहरी आगलागीले उब्जाएको प्रश्नः अग्ला भवनमा आगो निभाउने उपकरण खोइ ?

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको पाँचौँ तलामा बुधबार बिहान ९ः४३ आगलागी सुरु भयो ।
उक्त आगो दिउँसो २ः५३ मा मात्रै नियन्त्रणमा आयो । त्यस क्रममा पाँच सुरक्षाकर्मीसहित सात जना घाइते भए ।
सेन्ट्रल प्लाजामा फसेका ११ जना सर्वसाधारणको सकुशल उद्धार भयो । उद्धारका लागि हेलिकप्टरसमेत परिचालित गरियो । क्रेनको सहायताले पानी हालियो । आयल निगमबाट लगेको फोम पनि प्रयोग भयो । तर, तुलनात्मक रूपमा सुगम र सहज मानिने इटहरीमै लागेको आगो निभाउन १२ वटा दमकल, साढे ३ सय बढी सुरक्षाकर्मीले पनि किन सकेन ? भन्ने प्रश्न उठेको छ । नौ तलाको भवनको पाँचौँ तलामा बरण्डा होटलको रेस्टुरेन्ट, किचन र अफिस कक्षमा आगो लागेको थियो ।
आगलागीका कारण कति क्षति भयो भन्ने विषयमा अझै यकिन विवरण आएको छैन । आगलागीको कारण पनि खुलेको छैन ।
इटहरी उपमहानगरपालिकाका प्रमुख हेकमर्ण पौडेल भने परम्परागत दमकलले मात्रै अग्ला भवनमा आगो निभाउन नसकिने देखिएको बताउँछन् । ‘आगलागी हुँदा नियन्त्रणको लागि ५–७ तले भवनलाई पनि टार्गेट गरेर हाइड्रोलिक वारुणयन्त्र हुनुपर्ने स्थिति देखियो । हामीसँग भएकोले २–३ तलाभन्दा बढी हान्नै सकेनन्,’ कर्णले भने, ‘आयल निगमबाट आएको क्रेन पनि प्रयोग गर्न खोजियो । तर, दुई तीन तला मात्रै पुग्यो । आजबाट हाइड्रोलिक वारुणयन्त्रको आवश्यकता देखियो ।’
उनले आगामी बजेटमा हाइड्रोलिक वारुणयन्त्र किन्ने प्रस्ताव पास गराएर प्रविधियुक्त वारुणयन्त्र किन्ने बताए । ‘आगो निभाउन नसक्नुको कारण भनेकै माथि गएर आगो निभाउन नसक्नु हो । आयल निगमबाट फम पनि मगायौं । तर, माथिको तलामा पुर्याउन सक्ने अवस्था नै भएन । हामीसँग सेफ्टी लिफ्ट पनि भएन । त्यस्ता चिजहरूको आवश्यकता देखियो,’ कर्णले भने ।
उनले भवन निर्माण गर्दा नै सुरक्षा र सेफ्टीलाई हेरेर भवन निर्माण मापदण्ड बन्नुपर्ने पनि बताए । ‘त्यत्रो बिल्डिङमा आगलागी हुँदा फायर साइरन पनि देखिएन । त्यो एउटा भवन निर्माण आचारसंहिताबाटै सुधार गर्ने, सुरक्षा अपनाउने, अन्डरग्राउन्ड बोरिङलाई राम्रो परिचालन गर्नुपर्छ, त्यो त्यहाँ देखिएन,’ उनले भने ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि ठुलो जनशक्ति र दर्जनौं दमकल भेला पारेर गरेको प्रयास पनि सफल हुन नसकेको बताए । ‘अग्ला भवनमा कसरी आगो निभाउने ? नयाँ प्रविधिको आवश्यकता खड्कियो,’ उनले भने ।
इटहरीको मुख्य चोककै भवनमा आगो लागेको भए पनि भवन वरिपरिको स्थान साँघुरो रहेको र घरहरू जोडिएकाले पनि चारैतिरबाट आगो नियन्त्रणको प्रयास गर्न नसकिएको उनले बताए । ‘भवनमा अगाडिपट्टि प्यानल र होडिङबोर्ड लागेको कारण पानी छिर्न गाह्रो भयो र समस्या देखियो । त्यो होर्डिङहरू भत्काएपछि पानी भित्र छिर्यो । अग्लो भएको कारण क्रेन बोलायौँ । त्यसपछि फायर फाइटर टिम त्यहाँ राखेर सम्बन्धित तला नजिकै पुर्याएर आगो निभाउन सफल भएको हो,’ मिश्रले भने, ‘आगलागीको प्रकृति हेर्दा प्रविधिको आवश्यकता पनि खड्कियो ।’
उनका अनुसार त्यहाँ १२ वटा दमकल र दमकलको टिम, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी गरी ३५० भन्दा बढी सुरक्षाकर्मीको टिम, त्यस्तै सर्वसाधरण पनि आगो निभाउन खटिएका थिए । यस्तै नेपाल आयल निगमबाट दुई पटक फोम लगियो । जिल्ला विपद् व्यवस्थापनको ९० वटा फायर बल पनि प्रयोग भयो । आयल निगमबाट क्रेन गयो तर, ढिलो पुग्यो । ‘मुख्य कुरा मानवीय क्षति हुन दिएनौँ । अन्य क्षतिको विवरण संकलन भइरहेको छ । यो घटना पनि हामी सबैको लागि एउटा सिकाइ भएको छ’; मिश्रले भने, ‘आगो निभाउन ढिलो हुनुको कारण के हो भन्ने विषयमा हामी समीक्षा गर्छाैँ ।’
यसअघि २०७५ जेठ मा इटहरी–६ स्थित मुख्य बजार क्षेत्रमै मध्य रातबाट एउटा कपडा पसलमा आगलागी भएको थियो । समयमै आगो निभाउन नसक्दा पसलको तीन करोड भन्दा बढीको सामान जलेर नष्ट भएको थियो । यस्तै २०७४ सालमा सोही कपडा पसलकै छेउमा आगलागी भएको थियो । त्यसक्रममा करोडौँको नोक्सानी भएको प्रहरीको तथ्याङ्क छ ।
२०७६ मंसिरमा विद्युत सर्ट हुँदा सुनसरीको इटहरीस्थित होटल बिग बारमा आगलागी भएको थियो । आगलागीका कारण त्यहाँ पनि करोडौँ क्षति भएको थियो । कतिपयले इटहरीमा आगालागीका घटना भइरहेको भए पनि तत्काल नियन्त्रणका लागि देखाउनुपर्ने तदारुकता सम्बन्धित पक्षहरूले नदेखाएको आरोप लाग्ने गरेको छ ।