हारको सँघारमा पुगेको एपीएफलाई लोकेश बमले अविश्वासिलो जित दिलाए

काठमाडौँ । तल्लो क्रमका ब्याट्सम्यान लोकेश बम नायक बनेपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको महत्वपूर्ण खेलमा कोशी प्रदेशलाई दुई विकेटले हराएको छ ।
जितसँगै एपीएफ क्लबले फाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । भैरहवास्थित सिद्धार्थ रंगशालामा बुधबार कुनै समय पीएएफ क्लब हारको अत्यन्तै नजिक पुगिसकेको थियो । दुई सय ५५ रनको लक्ष्य पछ्याएको एपीएफ क्लबले एक सय ६४ रनमा आठ विकेट गुमाइसकेको थियो ।
त्यतिबेला एपीएफ क्लबलाई जितका लागि थप ९१ रन आवश्यक थियो भने तल्लो क्रमको दुई विकेटमात्र बाँकी थियो । यस्तो स्थितिमा पनि आठौँ नम्बरका ब्याट्सम्यान लोकेशले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै टोलीलाई जितसम्म डोर्याएका थिए ।
टोलीलाई जित दिलाउन लोकेशले अविजित ८४ रनको योगदान गरे । यस क्रममा उनले केवल ५४ बलको सामना गरी ६ छक्का र ६ चौका पनि हिर्काए । उनलाई १० औँ नम्बरमा क्रिज समाल्न आएका इर्शाद अहमदले पनि राम्रो साथ दिए । उनले लामो समय क्रिजमा टिकेर ४० बलमा दुई चौकाको मद्दतले अविजित १६ रन बनाए ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको कोशी प्रदेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर दुई सय ५४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले ४४.४ ओभरमा आठ विकेट गुमाएर दुई सय ५८ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
एपीएफ क्लबका लागि कप्तान रोहित पौडेलले पनि उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले ७३ बलको सामना गरी ६ चौकाको मद्दतले ६१ रन बनाए । दीपक बोहराले पनि २६ बलमा सात चौकाको मद्दतले ३६ रन बनाए ।
सन्दीप जोराले २५ बलमा चार चौकाको मद्दतले ३० रन बटुले । अभिषेक गौतम १४ रनमै पेभेलियन फर्किए । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि १० रन पायो । कोशीका बलर फिर्दोष अन्सारी र दिपेश कँडेलले तीन–तीन विकेट लिए । ज्ञानेन्द्र श्रेष्ठ र भुपाल लुइँटेलले पनि एक–एक विकेट हात पारे ।
त्यसअघि, कोशी प्रदेशका लागि ओपनर सकिब हकले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले ६८ रन बनाए । यस क्रममा उनले ६३ बलको सामना गरी ११ वटा चौका पनि हिर्काए । कप्तान अंकित सुवेदीले पनि २३ बलमा एक छक्का र चार चौकाको मद्दतले ३५ रन बनाए ।
आशिष भट्टराईले टोलीको खातामा ३४ रन थपे । उनले ५७ बलमा पाँच चौका प्रहार गरे । सुजन थपलियाले ५७ बलमा दुई चौकाको मद्दतले ३३ रन बटुले । ओपरन चिराग शाहले ४८ बलमा चार चौकाको मद्दतले २४ रन बनाए ।
दिपेश कँडेलले पनि १२ रन जोडे । कोशी प्रदेशले अतिरिक्त रुपमा पनि २० रन पायो । एपीएफ क्लबका बलर अभिषेक गौतम र मौसम ढकालले तीन–तीन विकेट लिए । रोहित पौडेलले पनि दुई विकेट हात पारे । इर्शाद अहमद र अमर रौतेलाले पनि एक–एक विकेट कुम्ल्याए ।
जारी प्रतियोगितामा एपीएफ क्लबले आफ्नो अन्तिम खेल खेलेको हो । एपीएफ क्लब सात जित र दुई हारबाट १४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । त्रिभुवन आर्मी क्लबको पनि १४ अंक नै छ । आर्मी क्लब दोस्रो स्थानमा छ । तालिकाको पहिलो स्थानमा आसिन नेपाल पुलिस क्लबको १६ अंक छ ।
पुलिस क्लब जारी प्रतियोगितामा आफूले खेलेको सबै खेल जित्ने एकमत्र टोली पनि हो । पुलिस क्लब र आर्मी क्लबले आफ्नो अन्तिम खेल खेल्न बाँकी छ । पुलिस क्लब र आर्मी क्लबबिचको खेल बिहीबार खेलिने छ ।
उक्त खेलमा आर्मी क्लबले पुलिस क्लबलाई पराजित गरेमा पुलिस र आर्मी नै फाइनलमा पुग्नेछन् । तर, पुलिस क्लबले आर्मी क्लबलाई हराएमा आर्मी र एपीएफ क्लबको समान १४–१४ अंक हुनेछ । यस्तो स्थितिमा नेट रन रेटको आधारमा एक टोली फाइनलमा पुग्नेछ र उपाधिका लागि पुलिस क्लबसँग भिडन्त गर्नेछ ।
हालको स्थितिमा एपीएफ क्लबको भन्दा आर्मी क्लबको नेट रन रेट गतिलो छ । आर्मी क्लबको नेट रन रेट १.६७५ र एपीएफ क्लबको नेट रन रेट ०.५२८ रहेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू
-
अराजक गतिविधि नियन्त्रणमा निर्मम हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड
-
विश्वका दृष्टान्तबाट ज्ञानेन्द्रले सिक्न नसकेको पाठ
-
गठबन्धनका कारण महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी