स्ववियु निर्वाचन ः चाहना बाँकी कलेजमा एकै दिन गराउने, व्यवहार भाँड्ने

काठमाडौँ । स्ववियु निर्वाचन हुन नसकेको त्रिभुवन विश्वविद्यालयका बाँकी कलेजमा एकैदिन गराउने तयारी विद्यार्थी संगठनहरूले गरेका छन् । प्रमुख तीन विद्यार्थी संगठनहरू नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबिच एकै मितिमा निर्वाचन गराउने अनौपचारिक सहमति भएको हो ।
यस विषयमा तीन वटा संगठनका अध्यक्षहरूले पटक पटक छलफल गरेका थियो । छलफलपछि चैत ११ गते तीन वटै संगठनका अध्यक्षहरूले संयुक्त विज्ञप्ति जारी गर्ने सहमति भएको थियो । सोही आधारमा एकै मितिमा निर्वाचन गराउने प्रतिबद्धतासहितको विज्ञप्ति समेत बनेको थियो । तर, अन्तिममा अखिल क्रान्तिकारीका अध्यक्ष विजयप्रकाश सापकोटाले हस्ताक्षर गर्न मानेनन् । त्यसपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र अनेरास्ववियु अध्यक्ष समिक बडालले ३ बुँदे विज्ञप्ति जारी गरे ।
दुवै अध्यक्षले निर्वाचन हुन बाँकी रहेका कलेजहरूमा एकै मितिमा निर्वाचन गराउने र तालाबन्दी गरिएका कलेजहरूको ताला खोल्ने प्रतिबद्धता जनाएका थिए । विज्ञप्ति जारी गरेको तीन दिन भइसकेको छ । तर, कुनै पनि क्याम्पसको ताला खुलेको छैन ।
ताला खोल्ने विषयमा नेविसंघले केन्द्रबाट मातहतका कमिटीहरूलाई निर्देशन जारी गरिसकेको छ । तर, क्याम्पस तहबाट गरिएको तालाबन्दी खुल्न सकेका छैन । त्यस्तै अनेरास्ववियु र अखिल क्रान्तिकारीले समेत तालाबन्दी खोल्न निर्देशन दिएका छन् । तर, उनीहरूको निर्देशनलाई क्याम्पस तहका कमिटीले टेरपुच्छर लगाएका छैनन् ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पससहित त्रिचन्द्र, शंकरदेव, रत्नराज्य (आरआर), विश्वभाषा, नेपाल ल, पब्लिक युथ, पाटन, सरस्वती, तेह्रथुम, पक्लिहवा कृषि, भैरहवा, बुटवल, सिद्धनाथ (विज्ञान), रामपुर कृषि, वीरेन्द्र बहुमुखी, सुर्खेत लगायतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन बाँकी छ ।
विद्यार्थी संगठनहरूले ती सबै कलेजहरूमा एकै मितिमा निर्वाचन गराउने चाहना देखाएका हुन् । सोही अनुसार दुई संगठनका अध्यक्षले विज्ञप्तीसमेत जारी गरे । तर, व्यवहारमा भने आफूले जित्न सक्ने कलेजमा चुनाव गर्ने र अर्को संगठनले जित्न सक्ने कलेजमा चुनाव रोक्ने देखिएको छ ।
आफूले जित्न सक्ने कलेजमा मात्र निर्वाचन गराउने र हार्न सक्ने कलेजहरूमा चुनाव नै नगराउने मनसाय देखिएको भन्दै क्रान्तिकारीले संयुक्त विज्ञप्ति हस्ताक्षर गर्न नमानेको जनाएको छ ।
अनेरास्ववियुका अध्यक्ष समिक बडालले बाँकी रहेका कलेजहरूमा एकै मितिमा स्ववियु निर्वाचन गराउने गरी पहल भइरहेको बताए । त्यसका लागि अन्य विद्यार्थी संगठनहरूसँग छलफल चलिरहेको उनको भनाई छ ।
‘कुनैमा १६ गते तोकिएको छ । कुनैमा अर्कै मितिमा निर्वाचन गर्ने भनिएको छ । मिति तोकिएको र नतोकिएका सबै कलेजमा एकै मितिमा निर्वाचन गराउने विषयमा विद्यार्थी संगठनहरू सहमत छन्,’ अध्यक्ष बडालले भने ।
त्रिवि केन्द्रीय क्याम्पसमा भने विद्यार्थी संगठनहरूले चाहेर पनि निर्वाचन गराउन सकिने अवस्था छैन । किनभने त्यहाँको विषय उच्च अदालत पाटनमा विचाराधीन छ । नेविसंघको तर्फबाट उम्मेदवार बनेका तर, अन्तिमता उम्मेदवारी खोसिएका अनोज कार्की समूहले अदालतमा मुद्दा हालेको थियो । अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै चैत ८ गतेका लागि तोकिएको निर्वाचन रोकेको थियो । त्यसपछि हालसम्म उक्त मुद्दामा आदेश जारी हुन सकेको छैन ।
केन्द्रीय क्याम्पसको विषय अदालतमा विचाराधीन रहेकाले तत्काल सहमति गर्न सकिने अवस्था नरहेको अध्यक्ष बडालले बताए । अन्य कलेजहरूमा केन्द्रीय अध्यक्षहरूबिच सहमति गरेर सोही अनुसार क्याम्पस कमिटीहरूलाई सर्कुलर जारी गर्न सकिने उनको भनाइ छ ।
नेविसंघ प्रवक्ता सुरज सेजुवालले एकै मितिमा निर्वाचन गराउन अधिकांश विद्यार्थी संगठनहरू सहमत भएको बताए । तर, केन्द्रले गरेको निर्णयहरू स्थानीय कमिटीहरूले नमान्दा समस्या हुने गरेको उनको भनाइ छ ।
‘हामीले एकै मितिमा निर्वाचन गराउने, तालाबन्दी भएका क्याम्पसको ताला खोल्ने भनेर सहमति गर्छौँ । तर, तल्ला कमिटीहरूले मान्दैनन् । यो सबै संगठनमा समस्या देखिएको छ,’ सेजुवालले भने ।
चैत १८ गते वा १९ गते एकै दिन निर्वाचन गराउने गरी तयारी भइरहेको उनको भनाइ छ । त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले चैत ३ गते एक निर्देशन जारी यथाशीघ्र निर्वाचन प्रक्रिया अगाडि बढाउन भनेको थियो ।
त्रिविको निर्देशन अनुसार काठमाडौँ उपत्यकाका अमृत साइन्स क्याम्पसमा मात्रै निर्वाचन सम्पन्न हुन सकेको छ । ती बाहेक अन्य क्याम्पसहरूमा भने नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियू लगायतको तालाबन्दी तथा अवरोध कायमै छ ।
कलेजहरूमा भिन्न भिन्न कारण स्थगित भएको निर्वाचनलाई संयुक्त विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिको परामर्शमा यथाशीघ्र एकै मितिमा निर्वाचन सम्पन्न गर्नेगरी तालाबन्दीको अन्त्य गर्न केन्द्रीयस्तरबाट संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तालाबन्दी तथा अन्य अवरोध हटाइ निर्वाचन प्रक्रिया पुनः सुरु गर्न सबै विद्यार्थी संगठनहरू एकजुट भई पहल गर्ने उनीहरूको प्रतिबद्धता छ । निर्वाचनलाई अवरुद्ध गर्ने कुनै पनि अलोकतान्त्रिक गतिविधिहरूको विरोध गर्दै, आरोप प्रत्यारोपको राजनीतिको अन्त्य गर्न आवश्यक समन्वय र संवादमार्फत समाधान खोज्ने बताएका छन् ।
तर, व्यवहारमा भने तिनै विद्यार्थी संगठनहरू आफ्नो अडानबाट पछि नहट्ने देखिएका छन् ।
अखिल क्रान्तिकारीले सत्तारूढ संगठनहरूले आफूले जित्ने कलेजमा मात्रै चुनाव चाहेको दाबी गरेको छ । क्रान्तिकारीका महासचिव रोशन थापा मगरले सबै कलेजहरूमा एकै मितिमा निर्वाचन गराउन आफूहरूले समेत चाहेको बताए । तर, नेविसंघ र अनेरास्ववियु आफूले जित्ने कलेजबाहेक अन्यमा निर्वाचन गराउने मनसाय नदेखाएपछि आफूहरूले विज्ञप्तिमा हस्ताक्षर नगरेको बताए ।
‘एकै मितिमा निर्वाचन गराउने विषयमा हाम्रो कुनै आपत्ति छैन । तर उहाँहरू (नेविसंघ, अनेरास्ववियु) आफूले जित्ने बाहेकका कलेजमा निर्वाचन नगराउने र जित्नेमा मात्रै गराउन खोजेको देखिन्छ,’ महासचिव मगरले भने, ‘उनीहरूलाई संख्या बढाउन मात्रै चुनाव गराउनु छ । हामी त हार जित भन्दा पनि जसरी भएपनि निर्वाचन गराउनुपर्छ भन्ने मनसायमा हौं ।’
- १९ वटा आंगिक कलेजमा निर्वाचन हुन बाँकी
त्रिविका ६२ वटा आंगिक क्याम्पस छन् । त्यस्तै एक हजार ५२ वटा सम्बन्धनप्राप्त कलेजहरू छन् । ती मध्ये ४३ वटा आंगिक क्याम्पस र २५० भन्दा बढी सम्बन्धनप्राप्त कलेजहरूमा स्ववियु निर्वाचन भयो ती बाहेक १९ वटा आंगिक क्याम्पसमा पटक पटक निर्वाचन प्रक्रिया सर्दै आएको छ ।
४३ वटामध्ये १६ वटा नेविसंघ (पद्मकन्या नेविसंघ बागी उम्मेदवार विजयी), अनेरास्ववियु १४, अखिल क्रान्तिकारी १०, स्वतन्त्र २, समाजवादी विद्यार्थी युनियन १ आंगिक क्याम्पसमा विजयी भएका छन् ।
त्यस्तै नेविसंघले आंगिक र सम्बन्धनप्राप्त गरेर ११५ वटा क्याम्पसमा हालसम्म स्ववियु निर्वाचन जितेको छ । त्यस्तै अनेरास्ववियुले १०३, अखिल क्रान्तिकारी ८४ वटा क्याम्पसमा स्ववियु निर्वाचन जितेको छ । ती बाहेक अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन तथा स्वतन्त्र उम्मेदवारहरू समेत कतिपय क्याम्पसमा स्ववियु अध्यक्षमा निर्वाचित भएका छन् ।
- निर्वाचन हुन नसकेका १९ वटा आंगिक क्याम्पस :
१. त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुर (अदालतमा मुद्दा विचाराधीन)
२. नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग (१९ गतेका लागि मिति घोषणा)
३. शंकरदेव क्याम्पस, पुतलीसडक (मिति अनिश्चित)
४. त्रिचन्द्र क्याम्पस, घण्टाघर (१३ गतेको मितिमा समेत स्थगित)
५. विश्वभाषा क्याम्पस, प्रदर्शनीमार्ग (मिति अनिश्चित)
६. पाटन संयुक्त क्याम्पस, पाटनढोका (१६ गते निर्वाचन हुदै)
७. रत्नराज्यलक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग (१६ गते निर्वाचन हुदै)
८. सरस्वती बहुमुखी क्याम्पस, लैनचौर (स्थगित)
९ पब्लिक युथ क्याम्पस, धोविचौर (स्थगित)
१०. तेह्रथुम क्याम्पस, चुहानडाडा आठराई (स्थगित)
११. रारा बहुमुखी क्याम्पस, जनकपुर (स्थगित)
१२. ठाकुरराम बहुमुखी क्याम्पस, विरगन्ज (मतगणना स्थगित)
१३. रामपुर कृषि क्याम्पस खैरहनी, चितवन (स्थगित)
१४. वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुर (स्थगित)
१५. बुटवल बहुमुखी क्याम्पस, बुटवल (स्थगित)
१६. भैरहवा बहुमुखी क्याम्पस, भैरहवा (स्थगित)
१७. पक्लिहवा कृषि क्याम्पस, रुपन्देही (स्थगित)
१८. सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत (स्थगित)
१९. सिद्धनाथ विज्ञान क्याम्पस, महेन्द्रनगर कञ्चनपुर (स्थगित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू
-
अराजक गतिविधि नियन्त्रणमा निर्मम हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड
-
विश्वका दृष्टान्तबाट ज्ञानेन्द्रले सिक्न नसकेको पाठ
-
गठबन्धनका कारण महिला सहभागिता घट्यो : पूर्वराष्ट्रपति भण्डारी