शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

पाँचौँ खेलमा पनि न्युजिल्यान्डसामू निरीह बन्यो पाकिस्तान, पहिलो शतक पूरा गर्नबाट तीन रनले चुके टिम सिफर्ट

बुधबार, १३ चैत २०८१, १५ : ००
बुधबार, १३ चैत २०८१

काठमाडौँ । न्युजिल्यान्डले पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पनि भ्रमणकारी टोली पाकिस्तानलाई आठ विकेटको फराकिलो अन्तरले हराएको छ । जितसँगै न्युजिल्यान्डले पाँच खेलको शृंखला पनि ४–१ ले जितेको छ ।

घरेलु टोली न्युजिल्यान्ड पहिलो खेलमा नौ विकेट, दोस्रो खेलमा पाँच विकेट र चौथो खेलमा एक सय १५ रनको फराकिलो अन्तरले विजयी भएको थियो । तेस्रो खेलको नतिजालाई भने पाकिस्तानले नौ विकेटले आफ्नो पक्षमा पारेको थियो ।

पाँचौँ खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको न्युजिल्यान्डले १० ओभरमै केवल दुई विकेट गुमाएर एक सय ३१ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

न्युजिल्यान्डको जितमा ओपनर टिम सिफर्टले अविजित ९७ रनको योगदान गरे । उनले केवल ३८ बलको सामना गरी १० छक्का र ६ चौका पनि हिर्काए । उनी केवल तीन रनका कारण पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक पुरा गर्नबाट चुके । 

अर्का ओपनर फिन एलनले पनि टोलीका लागि २७ रनको योगदान गरे । उनले केवल १२ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । दुबै ओपनरले पहिलो विकेटका लागि ९३ रनको साझेदारी गरे । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका मार्क चपम्यान तीन रन बनाउँदै आउट भए । ड्यारल मिचेल दुई रनमा अविजित रहे । पाकिस्तानका बलर सुफियन मुकिमले दुई विकेट लिए । 

त्यसअघि, पाकिस्तानका लागि कप्तान सलमान अघाले अर्धशतकीय पाली खेलेका थिए । उनले ५१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ३९ बलमा एक छक्का र ६ चौका पनि प्रहार गरेका थिए ।

सदाब खानले २८ र ओपनर मोहम्मद ह्यारिसले ११ रन बनाए । पाकिस्तानका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । पाकिस्तानले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । न्युजिल्यान्डका बलर जेम्स निसमले पाँच र ज्याकब डफीले दुई विकेट लिए ।

अब न्युजिल्यान्ड र पाकिस्तानबिच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलिने छ । पहिलो एकदिवसीय शनिबार खेलिने छ । दोस्रो खेल अप्रिल २ तारिखमा र तेस्रो खेल अप्रिल ५ तारिखमा खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप