पहिलो जितको खोजीमा रहेका दुई पूर्वविजेता कोलकाता र राजस्थान आपसमा भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच भिडन्त हुँदैछ । यी दुई टोलीबिचको खेल गुवाहाटीस्थित बरसापारा क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
यो स्टेडियम राजस्थान रोयल्सको दोस्रो घरेलु मैदान हो । जारी प्रतियोगितामा खेल्न लागिएको यो छैटौँ खेल हो । राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले जारी आईपीएलमा आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।
आफ्नो पहिलो खेलमा यी दुबै टोली पराजित भएका थिए । कोलकाता नाइट राइडर्स प्रतियोगिताको उद्घाटन खेलमा घरेलु मैदानमै रोयल च्यालेन्जर्स बेंगलुरुसँग सात विकेटले पराजित भएको थियो । राजस्थान रोयल्स भने आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ४४ रनले हारेको थियो ।
दुबै टोली पूर्वविजेता
राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले यसअघि आईपीएलको उपाधि जितिसकेका छन् । कोलकाता नाइट राइडर्सले हालसम्म तीनपटक उपाधि चुमेको छ । राजस्थान रोयल्सले भने हालसम्म एकपटक उपाधि जितेको छ ।
राजस्थान रोयल्सले सन् २००८ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो । त्यतिबेला राजस्थान रोयल्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले हराएको थियो । राजस्थान रोयल्स सन् २०२२ को फाइनलमा भने गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।
यसैगरी, कोलकाता नाइट राइडर्सले सन् २०१२ मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्सलाई पाँच विकेटले हराएको थियो । कोलकाताले दोस्रो उपाधि सन् २०१४ मा जितेको थियो ।
उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले पराजित गरेको थियो । कोलकाताले तेस्रो उपाधि सन् २०२४ मा जितेको थियो । साविक विकेता कोलकाताले अघिल्लो संस्करणको फाइनलमा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराएको थियो ।
हेड टु हेडमा दुबै बराबर
आईपीएलमा हालसम्म कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिच कुल ३० खेल खेलिएको छ । त्यसमध्ये यी दुबै टोलीले बराबर खेल जितेका छन् । १४ खेलमा कोलकाताले राजस्थानलाई हराएको छ भने राजस्थानले पनि १४ खेलमै कोलकातालाई पराजयको स्वाद चखाएको छ ।
यी दुई टोलीबिचको एक खेल अनिर्णित रुपमा सकिएको छ भने एक खेल वर्षाका कारण रद्द भएको छ । गुवाहाटीस्थित बरसापारा क्रिकेट स्टेडियममा भने कोलकाता र राजस्थानबिच दोस्रो पटक भिडन्त हुन लागेको हो ।
राजस्थानका सञ्जु सामसन र ध्रुव जुरेल लयमा
जारी आईपीएलमा राजस्थान रोयल्सका सञ्जु सामसन र ध्रुव जुरेल लयमा देखिएका छन् । सनराइजर्स हैदराबादविरुद्धको खेलमा यी दुबै ब्याट्सम्यानले उत्कृष्ट अर्धशतक बनाएका थिए । ओपनर सञ्जु सामसनले केवल ३७ बलमा चार छक्का र सात चौकाको मद्दतले ६६ रन बनाएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ध्रुव जुरेलले पनि केवल ३५ बलमा ६ छक्का र पाँच चौकाको मद्दतले ७० रन बनाएका थिए । उक्त खेलमा सिमरन हेटमायरले पनि २३ बलमा चार छक्का र एक चौकाको मद्दतले ४२ रन बनाएका थिए ।
शुभम दुबेले केवल ११ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ३४ रन जोडेका थिए । यस आधारमा जारी आईपीएलमा राजस्थान रोयल्सको ब्याटिङ पक्ष बलियो देखिन्छ । यसका अतिरिक्त यशस्वी जैसवाल, रियान परागको अनुभव पनि राजस्थानका लागि उपयोगी बन्न सक्छ ।
बलिङमा तुषार देशपाण्डे र महिष तिक्षणा लयमा छन् । पहिलो खेलमा तुषारले तीन र महिशले दुई विकेट लिएका थिए । पहिलो खेलमा चल्न नसकेका जोफ्रा आर्चर पनि बुधबारको खेलमा कोलकाताका लागि घातक बन्न सक्छन् ।
कोलकातालाई रहाणे र सुनिल नारिनबाट आश
कोलकाता नाइट राइडर्समा पनि ब्याट्सम्यानहरुको कमी छैन । जारी आईपीएलमा खासगरी ओपनर सुनिल नारिन र कप्तान अजिनक्या रहाणे लयमा देखिएका छन् । रहाणले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा अर्धशतक बनाएका थिए ।
उक्त खेलमा रहाणेले ३१ बलको सामना गरी चार छक्का र ६ चौकाको मद्दतले ५६ रन बनाएका थिए । ओपनर ब्याट्सम्यान सुनिल नारिनले पनि केवल २६ बलमा तीन छक्का र पाँच चौकाको मद्दतले ४४ रन बनाएका थिए ।
अर्का ओपनर क्विन्टन डी काक पहिलो खेलमा नचले पनि उनी आक्रामक शैलीमा रन बनाउन माहिर खेलाडी हुन् । यसका अतिरिक्त कोलकाताको टोलीमा चौथोदेखि सातौँ नम्बरसम्म प्रभावशाली फिनिसरहरु रहेका छन् ।
बलिङतर्फ भने पहिलो खेलमा सुनिल नारिन, वरुण चक्रवर्ती र वैभव अरोडाले एक–एक विकेट लिएका थिए । स्पेन्सर जोन्सन र हर्षित राणाजस्ता क्षमतावान् बलर पनि कोलकाताको टोलीमा छन् । समग्रमा जारी आईपीएलमा कोलकाताको टोली सन्तुलित छ ।
ब्याट्सम्यानलाई खुसी बनाउने पिच
कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबिच बुधबारको खेल हुने गुवाहाटीस्थित बरसापारा क्रिकेट स्टेडियमको पिच ब्याट्सम्यानहरुका लागि निकै उपयुक्त मानिन्छ । त्यसैले यो स्टेडियमा गतिलो रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको केवल चार खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । एक खेलमा जवाफी ब्याटिङ गर्ने टोलीले जित हात पारेको छ । एक खेल भने अनिर्णित रुपमा सकिएको छ ।
आईपीएलअन्तर्गत यो स्टेडियममा हालसम्म खेलिएको खेलमा बनेको सबैभन्दा ठुलो स्कोर चार विकेट गुमाएर एक सय ९९ रन हो । त्यो स्कोर सन् २०२३ मा खेलिएको दिल्ली क्यापिटल्सविरुद्धको खेलमा राजस्थान रोयल्सले बनाएको थियो ।
छैन वर्षाको सम्भावना
राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबिच खेल हुने दिन बुधबार गुवाहाटीको मौसम सफा रहने छ । बुधबार वर्षाको कुनै सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर घाम लाग्नेछ भने चर्को गर्मी हुनेछ । तापक्रम २२ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने छ ।
सम्भावित टोली
राजस्थान रोयल्स : रियान पराग (कप्तान), सन्जु सामसन, यशस्वी जैसवाल, शुभम दुबे, नितिश राणा, ध्रुव जुरेल (विकेटकिपर), शिमरन हेटमायर, जोफ्रा आर्चर, महिश तिक्षणा, तुषार देशपाण्डे, सन्दीप शर्मा र फजलहक फारुकी ।
कोलकाता नाइट राइडर्स : अजिनक्या रहाणे (कप्तान), वेंकटेश ऐयर, क्विन्टन डी काक (विकेटकिपर), अंगकृष रघुवंशी, रिंकु सिंह, सुनिल नारिन, आन्द्रे रसेल, रमनदीप सिंह, हर्षित राणा, वरुण चक्रवर्ती, स्पेन्सर जोन्सन र वैभव अरोडा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपालमा फरेन्सिक मेडिसिन क्विज सफलतापूर्वक सम्पन्न
-
हिजोको घटनामा पूर्वराजालाई जोड्नु अनुपयुक्त : कमल थापा
-
कांग्रेस नेता सिटौलाले मागे शुक्रबारको हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा
-
आइतबार प्रतिनिधिसभा बैठक बस्ने, यस्ता छन् कार्यसूची
-
पत्रकार हत्याको विरोध महासंघद्वारा आन्दोलनका थप कार्यक्रम तय
-
नैनशोभाको सुपारी