चैत २० पछि माग पूरा नभएसम्म शिक्षकहरू सडक संघर्षमा उत्रिने

काठमाडौँ । विद्यालय शिक्षा ऐन जारी गराउन दबाब दिन नेपाल शिक्षक महासंघ आन्दोलनमा छ । शिक्षक, विद्यार्थी र विद्यालयमैत्री ऐन जारी गर्नुपर्ने मागसहित महासंघले विभिन्न चरणका आन्दोलन गर्दै आएको हो ।
सोही क्रममा शिक्षकहरू यतिबेला शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ६ दिनदेखि अनशनमा बसिरहेका छन् । उनीहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन गर्ने चेतावनी दिँदै आएका छन् ।
२०८० भदौ २७ गते तत्कालीन शिक्षामन्त्री अशोककुमार राईले यो विधेयक प्रतिनिधि सभामा पेस गरेका थिए । प्रतिनिधि सभाले दफावार छलफल गर्न विधेयक २०८० असोज २५ गते संसदीय समितिमा पठाएको थियो । समितिमा पेस भएको १८ महिना बितिसक्दा पनि विधेयक टुङ्गो लाग्न सकेको छैन ।
समितिले सरोकारवाला, संशोधनकर्ता सांसदलगायतसँग छलफल गरिसकेको छ भने प्रदेशस्तरमा छलफलबाट राय सुझाव सङ्कलन गर्ने काम पनि सकिएको छ । यद्यपि समितिले विधेयक टुङ्गो लगाउन सकेको छैन ।
आन्दोलनरत शिक्षकहरूलाई सरकारले वार्ताका लागि आह्वान गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र्रका महानिर्देशक कृष्णप्रसाद काप्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको हो । वार्ता समितिले सोमबार वार्तामा आउन आग्रह गर्दै पत्र पठाए पनि शिक्षकहरूले वार्ताको औचित्य नभएको बताएका छन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले वार्ता गर्नुपर्ने अवस्था नरहेको बताए । विगतमा वार्ता भएर सहमति भइसकेको अवस्थामा अहिले आफूहरूलाई ऐन चाहिएको उनले प्रस्ट पारे ।
‘यहाँ हुने वार्ताबाट ऐन आउने होइन । निरर्थक कामका लागि कसैको समय खेर नजाओस् भन्ने हो,’ उनले भने । महासंघले चैत ७ गतेदेखि १५ गतेसम्म अनशन बस्ने र चैत २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गर्ने निर्णय गरेको छ ।
२० गतेपछि सबै शिक्षक कर्मचारी काठमाडौँ आउने र जनआन्दोलनको झल्को दिनेगरी सडक आन्दोलन हुने सुवेदीको दाबी छ । ‘त्यसपछि जितिन्छ कि बितिन्छ । हामी काठमाडौँमा टिकिरहन्छौँ । हामी चाँडोभन्दा चाँडो काठमाडौँबाट फर्किन चाहन्छौँ तर, खल्तीमा ऐन लिएरमात्र,’ उनले भने, ‘कतिन्जेल राख्ने भन्ने सरकारको हातमा हुन्छ । चैतमै घर पठाउने हो कि, वैशाखसम्म राख्ने हो कि जेठभर राख्ने हो ! सरकारको हातमा हुन्छ ।’
ऐन जारी नगरेसम्म आन्दोलनबाट पछि नफर्किने सुवेदीको भनाइ छ । आन्दोलन गर्दै आए पनि परीक्षा, विद्यार्थी भर्ना लगायतका विषयमा अवरोध नहुने समेत उनले प्रस्ट पारे ।
२० गतेपछि सबै परीक्षा तथा पठनपाठन समेत सकिने बताउँदै उनले त्यही समयमा सडक आन्दोलन गर्न लागिएको बताए ।
‘पेसाकर्मीको रूपमा हामी लडिरहेका हौँ । सरकारमा को छ भन्ने कुराले त्यति असर गर्दैन । हाम्रो आन्दोलन र प्राप्तिहरूमा तात्विक फरक राख्दैन । सरकारलाई कुन दलले लिड गरिरहेको भन्ने कुरातिर ध्यान दिएका छैनौँ । शिक्षकको हिसाबले हामीले त्यति मतलब पनि गरिरहेका छैनौँ,’ सुवेदीले भने ।
२०७२ सालमा संविधान जारी गरियो । २०७५ सालभित्र सबै ऐन आउनुपर्ने भए पनि अहिलेसम्म शिक्षा ऐन जारी हुन सकेको छैन । विद्यालय शिक्षा विधेयक २०८० भदौ २९ गते संसदमा दर्ता भएको थियो । विधेयक दर्ता भएपछि पनि संसदका चार वटा अधिवेशन सकियो तर ऐन जारी हुन सकेन ।
नेपाली शिक्षक आन्दोलित नहुँदासम्म ऐन नआउने निष्कर्ष निकाल्दै आफूहरू आन्दोलनमा होमिएको सुवेदीले बताए । निश्चित फ्रेमवर्कभित्र काम गरेर निश्चित समयभित्र ऐन जारी गर्नुपर्नेमा समिति अनावश्यक छलफलतिर लागेको उनको आरोप छ ।
एक दिन ऐन विलम्ब हुँदा करिब १० देखि १५ जना शिक्षक कर्मचारी विनासेवा सुविधा आँखाभरि आँशु लिएर बर्हिगमन हुनुपर्ने बाध्यता रहेको सुवेदी बताउँछन् ।
‘त्यसको जिम्मा कसले लिने ? राज्यको दायित्य छ कि छैन ? हामी एक सेकेण्ड, एक घण्टा, एक दिन भएपछि छिटो आओस् भनेर आन्दोलनमा लागेका हौँ । यो उपसमिति एक वर्ष अगाडि बनाइदिएको भए के हुन्थ्यो ?’ सुवेदीले भने ।
समितिले विधेयकमा सुझाव सूचीकृत गर्ने जिम्मा आफूहरूलाई दिएको खण्डमा तीन दिनभित्रमा गरिदिने समेत उनले बताए । एउटै बुँदामा ५० जनाले संशोधन प्रस्ताव हालेको तर, त्यो ५० बुँदा नभइ एउटा बुँदामात्रै भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गणतन्त्रवादी र राजावादी सडकमा, ‘पर्ख र हेर’को नीतिमा रास्वपा
-
भारतमा स्तन छुनुलाई बलात्कार नमान्ने निर्णयमाथि सर्वोच्च अदालतले लगायो रोक
-
जलविद्युतमा लगानी गर्न भारतीय लगानीकर्तालाई ‘इप्पान’को आग्रह
-
इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी
-
प्रधानमन्त्रीको प्रश्न: नयाँ राजनीतिक दलहरू क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरूको पछि किन लाग्नुहुन्छ ?
-
बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु