बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
राजस्व सङ्कलन

भैरहवा र नेपालगञ्ज भन्सारले भेट्टाएनन् राजस्व लक्ष्य

राजस्व संलकनको लक्ष्य निर्धारण शैली पुरानो भएको जिकिर
बुधबार, १३ चैत २०८१, ०६ : ४८
बुधबार, १३ चैत २०८१

बुटवल । लुम्बिनी प्रदेशमा रहेका दुई ठुला भैरहवा र नेपालगञ्ज भन्सार कार्यालय विभागले तोकेको वार्षिक लक्ष्यमा पुग्न असफल हुने देखिएको छ । 

चालु आर्थिक वर्षको आठ महिना अर्थात् साउनदेखि फागुन अन्तिमसम्म  भैरहवा भन्सार कार्यालय रूपन्देहीले वार्षिक लक्ष्यको जम्मा ५५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । नेपालगञ्ज भन्सार कार्यालय बाँकेले पनि यही अवधिमा ४६. ५८ प्रतिशत मात्र सङ्कलन गरेको छ ।

अर्को आर्थिक वर्ष सुरु हुन चार महिना मात्र बाँकी छ । यस्तोमा विभागले तोकेको लक्ष्य भेट्टाउन मुस्किल पर्ने भन्सार कार्यालयका अधिकारीहरूले बताएका छन् । 

भैरहवा भन्सार कार्यालयले यो आर्थिक वर्षमा एक खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ असुल गर्ने लक्ष्य पाएको थियो । उसले यो आठ महिनामा ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । 

यस्तै नेपालगञ्ज भन्सार कार्यालय बाँकेले साउनदेखि फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । उसले यो आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलनको लक्ष्य पाएको थियो । 

भैरहवा भन्सार  कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले विगतमा पेट्रोल, डिजेल, चारपाङ्ग्रे सवारीसाधन आदिको आयात हेरेर लक्ष्य निर्धारण भए पनि अहिले त्यो निकै कम भएकाले राजस्व सङ्कलन लक्ष्यमा पुग्न गाह्रो हुने बताए । 

यस्तै नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्र कुमार खड्काले बजारको शिथिलताको असर परेको बताए । 

भारतबाट दैनिक उपभोग्य वस्तुहरू आएका तर ठुला उपकरण तथा पेट्रोलियम पदार्थजस्ता राजस्व धेरै आउने वस्तुहरू कम आएका उनले बताए । उनले पनि राजस्वको लक्ष्य भेट्टाउन कठिन हुने बताए । 

bhairawa-naka

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनी संयोजक होमराज भुसालले राजस्व संलकनको लक्ष्य निर्धारण शैली पुरानो भएको बताए । पेट्रोलियम पदार्थ, निर्माण साम्रगीहरूमा केन्द्रित गरेर राजस्व लक्ष्य निर्धारण गरिने परम्परा रहेको तर अहिले तेल आयात नै घटेको उनले बताए । 

पछिल्लो समय ठुला विकास निर्माणका कामले पनि भुक्तानी नपाउँदा नयाँ उपकरण तथा अन्य सामान ल्याउन अप्ठारो देखिएको उनको भनाइ थियो । भन्सार कार्यालयले राजस्व छली नियन्त्रणमा ध्यान नदिँदा पनि राजस्व गुमिरहेको उनले बताए ।

८ महिना के छ अवस्था ?
भैरहवा भन्सार कार्यालय रुपन्देहीले असोजमा आठ अर्ब ७८ करोड १६ लाख ८६ हजार रुपैयाँ संकलनको लक्ष्य पाएको थियो । कार्यालयले योभन्दा बढी अर्थात् आठ अर्ब ८१ करोड ५१ लाख २५ हजार रुपैयाँ सङ्कलन गरेको थियो । भदौमा भने लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

चालु वर्षमा कार्यालयले पाएको मासिक लक्ष्य पनि गत असोजबाहेक पूरा गर्न सकेको छैन । असोज दसैँ तिहारजस्ता चाडपर्वका महिना भएकाले लक्ष्य पूरा भएको थियो । 

प्रमुख भन्सारका सूचना अधिकारी  नरेन्द्र प्रसाद चौधरीले यो नाकाबाट मोटरसाइकल, जिप, कार, भ्यान, ईभी, पेट्रोल, मोबाइल, बिलेट, टायल, डिजेल, मार्बल स्ल्याब, एलपी ग्यास, चकलेटलगायत वस्तुबाट सबैभन्दा धेरै राजस्व सङ्कलन हुने बताए ।

उनका अनुसार मुख्य १० प्रकारका वस्तुबाट मात्रै ८ महिनामा २८ अर्ब ४४ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको रातोपाटीलाई बताए ।

गत आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन गरेको छ । सो आधारमा अहिले घटाएर एक खर्ब नौ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ असुल गर्ने लक्ष्य दिएको हो । 

नेपालगञ्ज भन्सार कार्यालयले भने चालु आर्थिक वर्षको फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।

7nepalgunj-bhansar-2_HVomwzt9rL

फागुनमा दुई अर्ब ३१ करोड ४८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकोमा एक अर्ब ७० करोड ५४ लाख सङ्कलन भएको छ । गत आर्थिक वर्षमा विभागले २८ अर्ब ६६ करोड लक्ष्य दिएकोमा नेपालगञ्ज भन्सार कार्यालयले १८ अर्ब १५ करोड राजस्व असुली गरेको थियो ।

नेपालगञ्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात हुँदा जडीबुटीलगायत वस्तु निर्यात हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप