बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
लेखा समिति बैठक

अधिकांश सांसदहरूको आरोपः बिचौलियाको काम गर्न कुलमानलाई हटाइयो

'नेपाललाई अँध्यारोतर्फ डोहोर्‍याइयाे'
मङ्गलबार, १२ चैत २०८१, २२ : २२
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ ।  बिचौलियाको काम गर्न कुलमान हटाएको सांसदहरूले आरोप लगाएका छन् । मंगलबार भएको प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिमा भएको छलफलमा बोल्दै सांसदहरूले यस्तो आरोप लगाएका हुन् ।

मंगलबारको समितिमा बीपी राजमार्ग, हुलाकी राजमार्गलगायत राष्ट्रिय राजमार्गहरूको वर्तमान अवस्थाबारे छलफल गर्ने कार्यसूची थियो । दिउँसो ३ बजेदेखि छलफल हुने समय तोकिएको समितिमा छलफलका लागि समयमै सांसदहरूको उपस्थिति बाक्लिएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायत अन्य पदाधिकारी उपस्थित भइसकेका थिए । मन्त्रीको उपस्थिति नहुँदै सभापति ऋषिकेश पोखरेलले छलफल अगाडि बढाए । तर, बिचैमा सांसद अमनलाल मोदीले कार्यसूचीमा रहेको विषयभन्दा सार्वजननिक महत्वको विषयमा छलफल गर्न माग गर्दै सुरुवातमै आफूलाई बोल्ने समय दिन माग गरे । 

सभापति पोखरेलले कार्यसूचीकै विषयमा छलफल गर्नुपर्ने भन्दै आफ्नो पालोमा मात्र बोल्न आग्रह गरे पनि सांसद मोदीले राजमार्गको विषयभन्दा सार्वजनिक महत्वको विषयमा छलफल गर्नुपर्ने अडान लिए । 

‘मलाई लागेको विषय म बोल्छु– सभापतिज्यूलाई के आग्रह गर्न चाहन्छु भने कुलमानलाई हटाउने विषय पटक–पटक समितिमा छलफल भएको हो । यो देशमा जसले उज्यालो अभियान चलायो, उसैलाई अहिले प्राधिकरणको निर्देशकबाट  हटाइएको छ,’ उनले भने, ‘यो अहिले जनचासोको विषय बनेको छ । यसबारे आज छलफल हुनैपर्छ ।’

सोही विषयमा सांसदबीच चर्काचर्की प¥यो । सांसदहरूले एकापसमा भनाभन गर्न थाले । मैले पनि बोल्न पाउनुपर्छ भन्दै घम्साघम्सी भएपछि एमाले सांसद तारा लामा तामाङ, कांग्रेसका रामकृष्ण यादव, मञ्जु खाँण, मोहन बस्नेतबिच पनि घिसिङको बर्खास्तीबारे विवाद भएको थियो । मोदीलाई रास्वपाका मनीष झा र हरि ढकालले समर्थन गरेका थिए ।

सभापति पोखरेलले होहल्ला शान्त गर्दै छलफल अगाडि बढाए 

‘यहाँ दुईटा विषय छ । माननीयज्यूलाई के आग्रह गर्न चाहन्छु भने बैठक बोलाउँदै दुई विषयमा छलफल गर्ने गरी बोलाइयो,’ उनले भने, ‘एउटा राष्ट्रिय राजमार्गको र दोस्रो विषय विविध छ ।’ छलफललाई सहज बनाउँदै सभापतिले भने, ‘त्यसो हुँदा पहिला विषयगत रूपमा जाउँ र आफ्ना विषयमा छलफल गरौँ ।’

यसपछि सुरुवातमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मालाई राष्ट्रिय राजमार्गको वर्तमान अवस्थाबारे प्रस्तुत गर्न सभापतिले आग्रह गरे । सचिव शर्माले राष्ट्रिय राजमार्गको वर्तमान अवस्था प्रस्तुत गरे । उनले हुलाकी राजमार्ग करिब ७० प्रतिशत निर्माण सम्पन्न भएको र कुल १ हजार ८५७ किलोमिटरमध्ये १३ किलोमिटर कालोपत्र सडक निर्माण भएको जानकारी दिए । 

यसैगरी बीपी राजमार्गको ३ वटा खण्डको ठेक्का लागेको जानकारी दिँदै अरनिको राजमार्ग निर्माणको काम अघि बढिरहेको बताए । यस्तै मध्यपहाडी राजमार्ग पनि निर्माण तिब्र भएको भन्दै देशैभरका सडक निर्माणका लागि तिब्र रुपमा मन्त्रालयले काम गरिरहेको जानकारी दिए । 

यसपछि सांसदहरूको बोल्ने पालो आयो । यसैक्रममा सांसद मोहनबहादुर बस्नेतले सूर्यविनायक धुलिखेल सडकको विषयमा प्रश्न उठाए । बस्नेतले उक्त सडक लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको तर सरकारले समस्या समाधान नगर्दा निर्माण ढिलाइ भइरहेको जानकारी गराउँदै समस्या समाधान नगर्नुको कारणबारे सोधे । 

ठेक्का लागेको लामो समयसम्म निर्माण नभएपछि सरकारले धुलिखेल–खावा सडकको टेन्डर रद्द गर्नुपरेकाले छिटो समस्या समाधानको लागि उनले माग गरे । उक्त सडक निर्माणका लागि आवश्यक बजेट यसै आर्थिक वर्षमा विनियोजन गर्नुपर्नेमा उनको जोड थियो । 
अरनिको राजमार्ग अन्तर्राष्ट्रिय मार्गका रूपमा रहेकाले उक्त राजमार्गको स्तरोन्नति र पुनर्निर्माणमा सरकारले ध्यान दिन जरुरी भएको उनले बताए । 

‘सरकारको रसुवा नाकाबाट २२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेको छ,’ बस्नेतले भने, ‘तर राजमार्गको गति अस्तव्यस्त छ । राजस्व आशा राख्ने बाटो नबनाउने अनि कसरी लक्ष्यअनुुसार राजस्व संकलन हुन्छ ?’ लार्चा बेलिब्रिज छिटो निर्माण गरियोस् ।’

यसपछि सांसद रामकृष्ण यादवले हुलाकी राजमार्गको अवस्था अस्तव्यस्त रहेको  बताउँदै सरकाले उक्त राजमार्ग निर्माणमा ध्यान नदिएको आरोप लगाए । यसपछि विषयवस्तुभन्दा बाहिर सरकारले कुलमानलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषमा प्रवेश गरे । उनले कुलमानलाई सरकारले हटाउन नहुने धारणा राखेका थिए । हटाउनुअघि उक्त विषयमा प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाउनु पर्ने बताए ।

‘कुलमानलाई नहटाउनु पर्ने थियो, अहिले यस विषयमा व्यापक चर्चा परिचर्चा भइरहेको छ । लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई पुनर्विचार गर्न पत्र पठाउनुपर्छ,’ सांसद यादवले भने ।  यसपछि सांसद मोदीले समिति सरकारको छायाँ बनेको आरोप लगाए ।
मंगलबारको समिति बैठकमा उनले पूर्वमन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएका घिसिङले अँध्यारो नेपाललाई उज्यालो बनाए पनि वर्तमान सरकारले हटाएर अन्याय गरेको बताए ।

‘सार्वजनिक लेखा समिति सरकारको छायाँ बनेको छ’, उनले भने, ‘नेपालमा काम गर्नसक्ने मानिसलाई सरकारले बर्खास्त गरेको छ, मेरो घोर आपत्ति छ, साथै यसमा सबै सांसद र पत्रकारहरूले ध्यान दिनुपर्छ ।’ सांसद मोदीले लेखा समितिमै डेडिकेटेड लाइनको बहस भएको र अहिलेसम्म निर्णय हुन नसकेको अवस्थामा सरकारले कुलमानलाई हटाएको बताए ।

साथै सरकारको यो निर्णयले नेपाललाई अँध्यारोतर्फ डोहोर्‍याएको प्रतिक्रिया दिँदै बिचौलियाको काम गर्न कुलमान हटाएको आरोप लगाए ।

‘सरकारको यो निर्णयले नेपालमा फेरि अँध्यारो फर्किएको छ । सरकारको यो कदमको म घोर निन्दा गर्छु,’ उनले भने, ‘हामीले डेडिकेटेड रकम उठाउनु पर्छ भनेका थियौं, तर सरकारले काम गर्नसक्ने मान्छेलाई बर्खास्त ग¥यो ।’ यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता उठाउनुपर्नेमा सरकारको धारणा लिनुपर्ने र समितिले छलफल चलाउनुपर्ने बताए ।

‘कुलमानलाई हटाइयो, अब बाँकी रहेको बक्यौता कसरी उठाउने ? मेरो माग छ, आज नै निर्णय गरियोस् बक्यौताको छलफल कहिले गर्ने ? यदि सम्भव छ भने, आजै छलफल गर्नुपर्छ,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कुलमानलाई हटाउनु सरकारको कायरता भएको प्रतिक्रिया दिए । ‘कुलमान माथिको कारबाही कायरताभित्रको दम्भ हो । सरकार बन्नासाथ लाइन जोडौ, बक्यौता उठाउँदै गरौंला भनिएको थियो । अब के हुन्छ ? ढकालले भने ।’

सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकारले सरकारले कुलमानलाई हटाएर ठुलो गल्ती गरेको भन्दै भोली पश्चात्ताप गर्नुपर्ने बताए । मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा नेता शर्माले भने, ‘विद्युत् प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ । हटाएपछि केके आरोप लगायो होला भनेर हेरेको । उसले (कुलमान) काम गर्न नसकेको भन्ने आरोप रहेछ ।’

उनले सरकारको आरोप कसैले पनि नपत्याउने बताए । ‘यो आरोप कसैले पत्याउँदैन मन्त्रीज्यू ! यस्तो वाहियात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु दुःखद् हो । यो निर्णय सरकारले सच्याओस् आग्रह छ’, निर्णय सच्याउन आग्रह गर्दै शर्माले भने, ‘मैले बजारबाट त्यतिवेला योग्यतामध्येबाट कुलमानलाई नियुक्त गरेको थिएँ, परिणामले त्यो पुष्टि पनि भयो । त्यसैले सरकारले ठुलो गल्ती ग¥यो, भोलि पश्चाताप हुनेछ ।’

सांसद गोकुल बास्कोटाले भने कार्यसूचीकै विषयवस्तुमा रहेर प्रस्तुति दिए । ‘एउटा विषयवस्तुमाथि अर्को विविध छ । सचिवज्यूलाई पनि दिक्क लाग्यो होला विषयगत छलफल पहिला अनि पछि सार्वजनिक महत्वको विषयमा कुरा गरौँ,’ उनले भने, ‘मलाई संसारमा उठेका विषय आजै कुरा गर्नुपर्छ भन्ने लाग्दैन,’ म विषयवस्तुबाट कुरा गर्छु र जसलाई जहाँ दुःखेको छ । कुरा त्यहीँबाट सुरु हुन्छ ।’ 

त्यसपछि छलफल कार्यसूची तिर मोडियो । उनले अरनिको राजमार्गको अवस्थाबारे प्रस्तुत गर्दै यो राजमार्गमा बाढीले क्षति पुगेको स्थानमा छिटो पुनर्निर्माण गर्न आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप