बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै सकियो तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’

मङ्गलबार, १२ चैत २०८१, २० : ५९
मङ्गलबार, १२ चैत २०८१

काठमाडौं ।  तेस्रो ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव’ (नेटफिस्ट) मंगलबार सकिएको छ। अमजद परवेजको निर्देशन र रमेश रञ्जनको लेखन रहेको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चनसँगै महोत्सव सकिएको हो ।

गत बुधबार सुरू भएको नाटक थापागाउँस्थित मण्डला थिएटरको प्राङ्गणमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति नीशा शर्माले दमाहा बाजा बजाउँदै आरम्भ भएको थियो ।

मण्डला थिएटरमा महोत्सवमा १२ देशका १७ नाटक मञ्चन भए । जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोनी’, लिथुवआनीया र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिन्जु ओपेर एपिसोड्स’लगायत नाटक मञ्चन भए । नेपालबाट ‘झोडा’ र ‘सामा चाको सामा चाको अहिवा हे’ छनोटमा परेका थिए ।

महोत्सवमा रंगमञ्चसँगै कला संस्कृति, सिनेमा, मिडिया, नीति, राजनीतिलगायत विविध विषयमा हरेक दिन छलफल भए । महोत्सवको पहिलो अन्तक्र्रिया यही विषय केन्द्रित थियो । ‘रैथाने ज्ञानको उज्यालो’ शीर्षकमा अध्येताद्वय भोगिराज चाम्लिङ र गुरुङ सुशान्तबीच संवाद भयो ।

नेपाली रंगमञ्च र सिनेमा’को मितेरीपथबारे सेसनमा निश्चल बस्नेत, केकी अधिकारी, दीपक रौनियार र आशान्त शर्माले सहजकर्ता श्रीजु सरलसँग आफ्ना अनुभव साटे । ‘मिडियाको आँगनमा रंगमञ्च’ शीर्षकमा सम्पादक सन्तगाहा मगर र सम्पादक जनकराज सापकोटा वक्ता थिए । पत्रकार पुष्पा केसीले छलफल सञ्चालन गरिन् । 

लेखक प्रभाकर गौतमले सत्र सञ्चालन गरेको ‘राजनीतिमा कलानीति’ शीर्षकको अर्को सत्रमा पूर्वसंस्कृति मन्त्री सदन किराँती, युवा नेता रामकुमारी झाक्री र ठाकुर गैरेले कलानीतिको खाँचो र सुधारबारे धारणा राखे । 

महोत्सवको अन्तिम दिन छलफलका दुई सत्र थिए । पत्रकार समर्पणश्रीले ‘जनप्रतिनिधिहरुसँग गाउँ गाउँमा सिंहदरबार/ठाउँठाउँमा थिएटर’ शीर्षकको सत्र चलाए । सेसनमा दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिका प्रमुख, बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख र रंगकर्मी चेतन आङ्थोपोले सो विषयमा चर्चा गरे । 

महोत्सवकै आकर्षण मानिएको अन्तिम छलफलमा दुई फरक पुस्ताका प्रतिभाशाली कलाकार हरिवंश आचार्य र विजय बरालबीच संवाद भयो । सिमली छायामा बसी शीर्षकको यो छलफलमा हरिवंशसँग बिजयले आफ्नो रंगमञ्च र सिनेमाका नयाँ पुराना सन्दर्भको चर्चा गरे । मण्डला थिएटर, थापागाउँमा नारा आयोजना भएको निटफेस्टले ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ थिम बोकेको थियो । नाटकसँगै कविता, नृत्य, संगीत, चित्रकलालगायत अन्य कलात्मक प्रस्तुतिहरु समेटिएका थिए । स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासमेत आयोजना भए । 

निटफेस्टका अध्यक्ष तथा अभिनेता दयाहाङ राईले महोत्सवमा भएका मञ्चन, प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिताले आफूलाई सन्तुष्ट बनाएको र महोत्सवलाई निरन्तरता दिन उर्जा थपेको बताए । 

‘हिजोको रंगमञ्चको यात्रादेखि आजसम्म आइपुग्दा हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गरे, आज हामी हाम्रो पुस्ताले सिकेको ज्ञान र अनुवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रक्रियामा छौं,’ उनले भने । महोत्सवको तेस्रो संस्करणमा हामीले रैथाने ज्ञानको उज्यालो थिममा त्यही हस्तान्तरणको अभ्यास गर्यौं ।’ महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी थिए । एक साता चलेको महोत्सवमा हजारौं स्रोता दर्शकले सहभागीता जनाएका थिए । 

महोत्सव संयोजक केदार श्रेष्ठले विश्वभरका कलाकार र नेपाली कलाकारले एक अर्काको कामबाट सिक्ने अभ्यास भएको बताए । महोत्सवमा संसारभरका  १ सय १५ नाटक आवेदनमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप