बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

गौचरन बनेको ५२ बिघामा केराखेती, हरियाली बनायो सहकारीले

मङ्गलबार, १२ चैत २०८१, १८ : ३९
मङ्गलबार, १२ चैत २०८१

देउखुरी । ठूलो राप्ती र सानो राप्तीबिच रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ । 

सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रूपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गरिएको छ । उनले भने, 'सहकारीले कार्यविधि तयार गरेर चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्यविधिअनुसार केरा खेती गरिएको छ ।' बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्देश्यले जमिनको खोजी गर्ने क्रममा राप्ती किनारमा गौचरनमा केराखेती थालिएको हो । 

'जग्गाको मालिक खोज्ने र छलफल गर्ने काम भयो । उहाँहरू सबैले जग्गा सहज रुपमा दिनुभयो', सचिव अधिकारीले भने । चक्लाबन्दी गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको उनको भनाइ छ । 'बलौटे माटो भएकाले यहाँ केराखेती राम्रो हुन्छ', उनले भने । बिरुवा उत्पादन गर्न मालभोग केराखेती गरेको अधिकारी बताउँछन् । 

२०८० वैशाखमा चितवनको टाँडी र हेटौँडाबाट २० हजार बोट ल्याएर केरा रोपिएको हो । रोपेको एक वर्षमा केरा पसाउन सुरु गरेको छ । बिरुवा खरिद गर्न रु ३७ लाख लगानी गरिएको अधिकारीले बताए।  'केराका बिरुवा रेखदेख गर्न पाँच जनालाई रोजगारी दिएका छौँ', उनले भने । 

अन्य कृषिबाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको अधिकारी बताउँछन्। एकपटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरू कृषिबाली जस्तो दुःख नहुने भएपछि सहकारीले केराखेती गरेको उनले बताए । 

उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने बताइन् । 'स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ । लमही विद्युत् प्राधिकरणले विद्युत् विस्तार गरेकाले बिजुलीको समस्या छैन', उनले भने । 

केराखेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएकाले थोरै खेतीबाट पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले पछिल्लो समय केराखेती गर्ने किसान बढेका कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताए । उनका अनुसार जिल्लामा पाँच सय ३० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप