शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

देशमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात

मङ्गलबार, १२ चैत २०८१, १७ : १६
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । नेपालमा उत्पादित ८८.६ प्रतिशत चिया निर्यात हुने गरेको पाइएको छ।

नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्ययोजनाले कोशी प्रदेशमा प्रशोधित अर्थोडक्स चिया ११.४ प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुने जनाएको हो । यस्तै अर्गानिक सर्टिफाइड चिया २१.६३ प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ ।

कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले नेपालको चिया उद्योग विकासमा महत्वपूर्ण भूमिका खेलेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा यसको आर्थिक प्रभाव पनि उल्लेखनीय देखिन्छ । अर्थोडक्स चियाको गुणस्तर, प्राकृतिक स्वाद, र सुगन्धले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको अध्ययनले देखाएको छ । विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाहरूमा ओर्थोडक्स चियाको व्यावसायिक खेती विस्तार भइरहेको छ ।

अध्ययनका अनुसार कोशी प्रदेशमा हाल एक सय वटा अर्थोडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा छन् । जसमा २१ वटा अर्गानिक सर्टिफाइड र ७९ वटा अर्गानिक अनसर्टिफाइड छन्। आर्थिक वर्ष २०७९/०८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो। कुल उत्पादनमा अर्गानिक सर्टिफाइड चियाको हिस्सा ११.९ प्रतिशत र अनसर्टिफाइड चियाको हिस्सा ८८.१ प्रतिशत रहेको छ।

अध्ययनमा सहभागी ८४ उद्योगमा कुल ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको पाइएको छ, जसमध्ये ३६.४ प्रतिशत ऋण र ६३.६ प्रतिशत स्वपुँजी रहेको छ।

वैदेशिक लगानी भने दुई उद्योगमा मात्र रहेको छ। त्यस्तै अर्गानिक सर्टिफाइड चियाको आन्तरिक बजार मूल्य प्रतिकेजी ९४१.६० रुपैयाँ छ भने अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ छ। अनसर्टिफाइड चियाको मूल्य भने आन्तरिक बजारमा ४३३.७१ रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा ४०८.३१ रुपैयाँ मात्र छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप