देशमा केही हुन सक्दैन भन्ने भाष्य अब भाषण गरेर मात्र चिर्न सकिँदैन : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मुलुकमा विकसित युवा पलायनबारे नकारात्मक भाष्यलाई भाषण गरेर मात्र चिर्न नसकिने बताएका छन् । मंगलबार काठमाडौँ टेक्निकल स्कुलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले भाषण गरेर मात्रै मुलुकमा केही हुन सक्दैन भन्ने भाष्य चिर्न नसकिने बताएका हुन् ।
उनले मुलुकमा निर्माण भएको गलत भाष्यलाई चिर्न यसपछाडिको यथार्थलाई सूक्ष्म ढंगले अध्ययन गरेर रणनीति बनाउन जरुरी रहेको जिकिर गरे । मुलुकमा उत्पन्न असन्तुष्टि र नैराश्यलाई बदल्ने जिम्मेवारी र दायित्व वर्तमान सरकारले लिएको समेत मन्त्री भण्डारीको दाबी छ ।
उनले भने, ‘हामीसँग अत्यन्त ठुलो जिम्मेवारी र दायित्व छ । त्यो जिम्मेवारी र दायित्वको आधारमा अहिले जुन असन्तुष्टि र नैराश्य निर्माण भएको छ त्यसलाई हामीले बदल्नुपर्दछ । त्यसको लागि नेपालबाट वैदेशिक रोजगारीमा जाने नागरिकको त डाटाहरू आएकै छन् । तर वैदेशिक रोजगारीबाट नेपाल फर्केर कति जना आएका छन् भनेर कसैले पनि कुरा गर्दैन । ७० लाख मान्छे वैदेशिक रोजगारमा गएका छन् । ती मान्छेहरू कहाँ गए ? फर्केर आइरहेका छन् कि छैनन् ? वैदेशिक रोजगारीमा गएका ४२ लाख नेपाली नागरिकहरू फर्किएर नेपालमा आएका छन् भन्ने तथ्याङ्क मैले प्राप्त गरेको छु । यसले के देखाउँछ भने आउने जाने क्रम त भइरहेको छ । मलेसिया, जापान तथा कोरियामा जाने ९० प्रतिशत नागरिक रहेका छन् । त्यहाँ पलायन हुने अवस्था छैन । निश्चित समयपछि नेपाल फर्केर आउनुपर्छ । त्यसले मुलुकमा गरिबी घटाउनको लागि ३० प्रतिशत मद्दत गर्यो भन्ने कुरा आइरहेको छ ।’
वैदेशिक रोजगारीमा जाने नियमित प्रक्रिया भए पनि सिपयुक्त जनशक्ति पठाउने कुरामा सरकारको ध्यान जानुपर्ने उनको तर्क छ । उनले अबको दश वर्षमा दश लाख सीपयुक्त जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य रहेको समेत बताए । वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप र ल्याएको पुँजीलाई मुलुकको विकासमा योगदान गर्न लगाउनु सरकारको प्राथमिकता रहेको बताए ।
उनले भने, ‘अब हामीले १० वर्षमा दश लाख जनशक्ति उत्पादन गर्ने मात्र होइन । यो दश वर्षमा वैदेशिक रोजगारीबाट फर्किएका नेपाली नागरिकहरूले सिकेका सीप र पुँजीलाई मुलुकको योगदानमा कसरी लगाउने भन्ने कुरा सबैभन्दा प्राथमिकतामा रहेको छ । सीपयुक्त नागरिक जाँदै गर्छन् । तर फर्किएर आएका मानिसहरूलाई फेरि नफर्किने वातावरण तयार गर्न दश वर्ष हामीले लिन खोजिरहेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर, कसको मूल्य कति ?
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह