प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटः मधेशविरुद्ध सुदूरपश्चिमका ब्याट्सम्यानको लज्जास्पद प्रदर्शन, ४४ रनले हार्यो

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार सम्पन्न मधेश प्रदेशविरुद्धको खेलमा सुदूरपश्चिम प्रदेशका ब्याट्सम्यानहरुले लज्जास्पद प्रदर्शन गरेका छन् ।
मधेश प्रदेशले दिएको केवल एक सय तीन रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेश २९ ओभरमा केवल ५८ रन बनाउँदै अलआउट भएको हो । उक्त खेलमा मधेश प्रदेश ४४ रनले विजयी भयो ।
जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सबैभन्दा सानो स्कोर भने होइन । यसअघि, कोशी प्रदेशविरुद्धको खेलमा गण्डकी प्रदेश २० दशमलब ४ ओभरमा केवल ३१ रन बनाउँदै अलआउट भएको थियो । उक्त खेलमा गण्डकी प्रदेशका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । कोशी प्रदेशले भने ८ दशमलब २ ओभरमै एक विकेट गुमाएर विजय लक्ष्य पूरा गरेको थियो ।
सुदूरपश्चिम प्रदेशका कुनै ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । हेमन्त धामीवाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । हेमन्तले ३३ बलमा एक छक्का र एक चौकाको मद्दतले १९ रन बनाए ।
टेक रावत तीन रनमा आउट भए । प्रकाश पाण्डे, निश्चल क्षेत्री, किरण ठगुन्ना, शेर मल्ल र मिलन बोहराले त खातासम्म खोल्न सकेनन् । कप्तान नारायण जोशीले ६ र अर्जुन विकले नौ रन बटुले । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा सात रन पायो ।
मधेश प्रदेशका बलर विशाल पटेल एक्लैले ६ विकेट लिए । उनले ६ ओभरमा दुई मेडन राख्दै केवल १८ रन खर्चिए । प्रदिप पासवानले पनि तीन विकेट हात पारे । उनले आठ ओभरमा तीन मेडन राख्दै केवल सात रन खर्चिए । रुपेश सिंहले पनि एक विकेट लिएका थिए ।
सुदूरपश्चिम प्रदेशले दोस्रो ओभरको पहिलो बलमा पहिलो विकेट, दोस्रो बलमा दोस्रो विकेट र चौथो बलमा तेस्रो विकेट गुमाएको थियो । माथिल्ला तीन विकेट गुमाउँदासम्म सुदूरपश्चिम प्रदेशले दुई रनमात्र बनाउन सकेको थियो ।
यसैगरी, सुदूरपश्चिम प्रदेशले चौथो ओभरको अन्तिम बलमा चौथो र पाँचौ ओभरको अन्तिम बलमा पाँचौँ विकेट गुमाएको थियो । चौथो र पाँचौँ विकेट गुमाउँदा सुदूरपश्चिम प्रदेशले केवल पाँच रन बनाएको थियो ।
यसैगरी, सुदूरपश्चिम प्रदेशले छैटौं ओभरमा तेस्रो बलमा छैटौँ विकेट गुमाएको थियो । त्यतिबेला टोलीको स्कोर केवल ६ रन थियो । आठौँ ओभरको तेस्रो बलमा सुदूरपश्चिम प्रदेशको सातौँ विकेट खसेको थियो । त्यतिबेला टोलीको स्कोर १२ रन थियो ।
यसैगरी, सुदूरपश्चिम प्रदेशले आफ्नो आठौँ विकेट १६औँ ओभरको अन्तिम बलमा गुमाएको थियो । त्यतिबेला टोलीको स्कोर ३९ रन थियो । नवौँ विकेट भने १८औँ ओभरको पाँचौँ बलमा गुमायो । त्यतिबेला टोलीको कुल स्कोर ४२ रन थियो ।
त्यसअघि, भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मधेश प्रदेशले ४२ दशमलब ३ ओभरमा अलआउट हुनुअघि एक सय दुई रन बनाएको थियो । मधेश प्रदेशका माथिल्ला चार ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
ओपनर रोहन विक दुई रनमै आउट भए । अर्का ओपनर मयान यादव र तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान अनिल साहले त खातासम्म खोल्न सकेनन् । चौथो नम्बरका ब्याट्सम्यान हरिशंकर साह पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् । दीपेश दासले टोलीको खातामा १२ रन थपे ।
पवन सर्राफले टोलीको खातामा १९ रन थपे । उनले ४६ बलमा एक चौका हिर्काए । रुपेश सिंहले १२ रन बनाए । तल्लो क्रमका ब्याट्सम्यान प्रदिप पासवानले सर्वाधिक अविजित २३ रन बनाए । उनले ५२ बलमा तीन चौका हिर्काए । मधेश प्रदेशका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मधेश प्रदेशले अतिरिक्त रुपमा १६ रन पायो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ६ मेडन राख्दै केवल पाँच रन खर्चिए । हेमन्त धामीले पनि चार विकेट हात पारे । उनले ५ दशमलब ३ ओभरमा एक मेडन राख्दै केवल ११ रन खर्चिए ।
सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेका छन् । मधेश प्रदेशले अझै एक खेल खेल्न बाँकी छ । मधेश प्रदेशले हालसम्म आठ खेल खेल्दै तीन जित र पाँच हारको नतिजा निकोलेको छ । सुदूरपश्चिम प्रदेशले भने आफ्नो अन्तिम खेल खेलिरहेको हो । सुदूरपश्चिम प्रदेशले नौमध्ये तीन खेलमा जित र ६ खेलमा हारको नतिजा निकाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा