शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

ललितको कीर्तिमानी प्रदर्शनसँगै पुलिस क्लबको लगातार आठौँ जित

मङ्गलबार, १२ चैत २०८१, १५ : ००
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार आठौँ जित हासिल गरेको छ । पुलिस क्लबले मंगलबार खेलिएको आफ्नो पछिल्लो खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराएको हो । 

जारी प्रतियोगितामा हालसम्म आठ खेल खेलेको पुलिस क्लबको यो आठौँ जित हो । आफूले खेलेको सबै खेल जित्ने पुलिस क्लब एकमात्र टोली पनि हो । पुलिस क्लब १६ अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । 

कर्णाली प्रदेशले भने जारी प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलेको हो । कर्णाली प्रदेशले आफूले खेलेको नौमध्ये चार खेलमा जित र पाँच खेलमा हारको नतिजा निकाल्यो । कर्णाली प्रदेश यसअघि नै उपाधि होडबाट भने बाहिरिइसकेको छ । 

दाङको लमहीस्थित क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा अलआउट हुनुअघि एक सय ४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने २४ ओभरमै अलआउट हुनुअघि एक सय तीन रनमात्र बनाउन सक्यो । 

पुलिस क्लबका बलरहरूको आक्रमणसामु कर्णाली प्रदेशका ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कर्णाली प्रदेशलाई लक्ष्यसम्म पुग्न नदिन पुलिस क्लबका बलर ललित राजवंशी एक्लैले ६ विकेट लिए । उनले नौ ओभरमा ४१ रन खर्चिए ।

ललित प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा एक सय विकेट लिने पहिलो बलर पनि बनेका छन् । उनले ४२ खेलको ४० इनिङ्समा यो उपलब्धि हात पारेका हुन् । उनले लिएको विकेट संख्या १०३ पुगेको छ ।

सागर ढकालले पनि दुई विकेट हात पारे । उनले आठ ओभरमा तीन मेडन राख्दै केवल १९ रन खर्चिएका थिए । करण केसीले पनि एक विकेट कुम्ल्याए । 

कर्णाली प्रदेशका लागि ओपनर रविन्द्र शाहीले ४९ रन बनाए । केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुकेका रवीन्द्रले केवल ३२ बलमा दुई छक्का र सात चौका हिर्काए । अर्जुन घर्तीले पनि ३० रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसअघि, पुलिस क्लबका चार ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सकेका थिए । ओपनर अर्जुन साउदले ३६ रन बनाए । विकेटकिपर ब्याट्सम्यान अर्जुनले ६० बलमा एक छक्का र चार चौका हिर्काए । मध्यक्रमका दिलीप नाथले पनि ३४ रन जोडे । उनले ५९ बलमा दुई चौका प्रहार गरे ।

तल्लो क्रमका ब्याट्सम्यान सागर ढकालले अविजित २२ रन बटुले । उनले २८ बलमा एक चौका प्रहार गरे । श्रवण यादवले ११ रन बटुले । पुलिस क्लबका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

पुलिस क्लबले अतिरिक्त रूपमा पनि १३ रन पाएको थियो । कर्णाली प्रदेशका बलर अनुज चनरा एक्लैले चार विकेट लिए । उनले १० ओभरमा दुई मेडन राख्दै २९ रन खर्चिए । दिवान पुनले पनि तीन विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप