शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

राजतन्त्र फर्कन किन हुन्न ?

राजतन्त्र अहिलेको निराशाको औषधि होइन

मङ्गलबार, १२ चैत २०८१, १४ : ४१
मङ्गलबार, १२ चैत २०८१

देशमा गणतन्त्र आइसकेपछि सबै थोक बिग्रियो र अब राजतन्त्र चाहियो भन्नेहरू सामाजिक सञ्जालमा हाबी भएका छन् । के यो साँचो हो ? पटक्कै होइन । सत्य के हो भने जनताको तीव्र आकांक्षा र राजनीतिक दलले देखाएको सपना अनुसारको गतिमा विकास निर्माण, नागरिकको जीवनस्तर सुधार र सुशासन कायम हुन सकेन । तर गएको १५ वर्षमा देशमा थुप्रै सकारात्मक परिवर्तन भएका छन् । 

नेपालीको प्रतिव्यक्ति आय २ः८ गुणाले यही अवधिमा बढेको छ । नेपाली जनता यही अवधिमा सबभन्दा बढी साक्षर भएका छन् । सामुदायिक शिक्षामा भौतिक सुधार, कम्प्युटर ल्याब, इन्टरनेट जडान यही बिचमा तीव्र गतिमा भएको छ । सडक, खानेपानी, विद्युत्, आम–सञ्चार, अस्पताल आदि गणतन्त्रकै समयमा सबभन्दा बढी निर्माण र विकास भएका छन् । जनताको स्वास्थ्यमा सुधार भएको छ र औसत आयु उल्लेख्य वृद्धि भएको छ । 

त्यसो हो भने जनतामा यो स्तरको आक्रोश र वितृष्णा किन ? यसका खास कारण छन् । जुन जमात केही भएन भनेर सामाजिक सञ्जालमा छताछुल्ल पोखिएको छ, त्यो जमातले ज्ञानेन्द्रको शासनकालमा फोन काटिएको, इन्टरनेट बन्द गरिएको, समाचार प्रकाशन गृहमा सेना र पुलिसले धावा बोलेको, राजनीतिक दलका नेताहरू घर–घरमा नजरबन्दमा परेको, सार्वजनिक ठाउँमा पाँचजना भन्दा बढीलाई उभिन समेत नदिएको र विकास निर्माणका काम ठप्पप्रायः भएको देखेकै छैन । किनकि आजकोे ३० वर्षे युवा त्यतिबेला सानै थिए । 

अझ उनीहरूले राजाको सक्रिय शासनकाल २०४६ अगाडिको कालरात्रि त सुनेको पनि छैनन् होला । त्यसबेला केही लेख्न, बोल्न, सार्वजनिक ठाउँमा भेला हुन र विरोध प्रदर्शन गर्न पाँइदैनथ्यो । 

कविता वाचन गरेकै कसुरमा पारिजातहरू गिरफ्तार हुन्थे । गीत गाएकै भरमा रायन, रामेश र जेबी टुहुरेहरू भद्रगोल जेल पुग्थे । पत्रिकामा लेखेकै भरमा उदारवादी राजतन्त्रकै हिमायती पदम ठकुराठीहरूलाई दरबारकै निर्देशनमा गोली हानेर हत्याको प्रयास गरिन्थ्यो । पञ्चायतमै चुनाव लडेर प्रधानपञ्च भएका हरिबोलहरू व्यवस्थाको विरोध गर्‍यो भनेर पदबाट निलम्बित हुन्थे । 

कक्षाकोठामा पढाइरहेका शिक्षकहरू विनाकारण गिरफ्तार हुन्थे भने आफ्नो हक र हितका बारेमा छलफल गरेबापत विद्यार्थीलाई कक्षाकोठामै पिटिन्थ्यो, राजकाज अपराध मुद्दा लगाएर जेल पुर्‍याइन्थ्यो ।

कविता वाचन गरेकै कसुरमा पारिजातहरू गिरफ्तार हुन्थे । गीत गाएकै भरमा रायन, रामेश र जेबी टुहुरेहरू भद्रगोल जेल पुग्थे । पत्रिकामा लेखेकै भरमा उदारवादी राजतन्त्रकै हिमायती पदम ठकुराठीहरूलाई दरबारकै निर्देशनमा गोली हानेर हत्याको प्रयास गरिन्थ्यो ।

 


गाउँघरका सामाजिक अभियन्ताहरू राजा विरोधीका नाममा जेल पुर्‍याइन्थे, जेल सार्ने नाममा गोली हानेर मारिन्थे । चेलीहरू सुन्दरी देखे दरबारकै संलग्नतामा अपहरण गरी बलात्कार गरिन्थ्यो अनि मारेर लास फालिन्थ्यो । त्यस्तालाई कारबाहीको माग गर्दा राजकाज अपराध मुद्दा लगाएर जेलमा कोचिन्थ्यो । 

यस्ता जघन्य घटना त हजारौँ छन् जसको सूची मात्र बनाउँदा पनि थुप्रै पुस्तक बन्छन् । छिन्ताङ काण्ड, पिस्कोर काण्ड, सुखानी काण्ड, ओखलढुङ्गा काण्ड— यी एकाध चर्चामा आएका काण्ड मात्र हुन् । यस्ता नेपाली नागरिक मार्ने काण्ड त कति भए कति राजाको सक्रिय शासनकालमा । 

अहिले इन्टरनेट बन्द भयो र वाइफाई एक घण्टा चलेन भने युवाहरू कोकोहोलो मच्चाउँछन् । त्यो कहालीलाग्दो इतिहासलाई विवेकशील किसिमले हेर्‍यो र मनन गर्‍यो भने तथ्य र तथ्याङ्कविना राजतन्त्रको पक्षमा कुर्लने झुन्डका पछि सुशिक्षित युवा वर्ग लाग्दैन भन्नेमा म पूर्ण विश्वस्त छु । 

अहिलेका युवाको वितृष्णा र आक्रोश राजनीतिक दलका शीर्ष नेता र तिनको कार्यशैलीप्रति छ, व्यवस्था र दलप्रति होइन । मलाई पनि वितृष्णा जाग्दै गएको छ । २०४६ सालदेखि जसलाई नेता भनेर देखेको थिएँ, तिनै आज पनि छन्, अब त ढिला भइसक्यो तिनीहरूले छाड्न । 

अबको नेतृत्व दोस्रो पुस्तामा होइन, तेस्रो पुस्तामा जानु अनिवार्य छ । सामान्य उदाहरण हेरौँ न — लोकेन्द्रबहादुर, प्रकाशचन्द्र, पशुपतिशमशेर वा कमल थापाबाट राजेन्द्रमा दलको नेतृत्व पुग्नेबित्तिकै राप्रपाले केही सिट जित्यो र समानुपातिकमा पनि मत बढायो । 

के यो नीति, सिद्धान्त वा कार्यक्रम परिवर्तन गरेर हो र ? होइन, ज्येष्ठ नागरिक नेताहरू पनि राजावादी नै थिए र अहिलेको नेतृत्व पनि राजावादी नै हो । परिवर्तन यति मात्र हो कि युवाको हातमा नेतृत्व गयो । खासगरी नेपाली काङ्ग्रेस, एमाले र माओवादीले अब ढिला नगरी युवा वर्गलाई नेतृत्व सुम्पनुपर्छ र पाका र अनुभवी नेताहरू अभिभावकीय भूमिकामा बस्नुपर्छ । 

अब एकै छिन हुनै नसक्ने कल्पना गरौँ, राजतन्त्र फर्कियो रे, अनि हुन्छ के ?

सबभन्दा पहिले मोबाइलका घन्टीहरू बज्न बन्द हुन्छन्, इन्टरनेट अवरुद्ध गरिन्छ, फोनका लाइन काटिन्छन् । सञ्चारगृहमा सेना र पुलिस पस्छन् र समाचारमा सेन्सरसिप सुरु हुन्छ । 

राजाले संविधान निलम्बन गर्छन् र कुनै राजावादीलाई नयाँ संविधान निर्माण र आम निर्वाचन गराउने आदेशसहित प्रधानमन्त्री नियुक्ति गर्छन् । नवनियुक्त प्रधानमन्त्रीले केही दिन त मन्त्री नियुक्ति गर्नै सक्दैनन् । दुई–चार हप्तामा मन्त्रीमण्डल गठन हुन्छ ।

विश्वबाट उन्मूलन हुँदै गएको एउटा परिवार र उसका आसेपासे सीमित व्यक्तिले चलाउने शासन राजतन्त्र हटेको १५ वर्ष हुँदा त उसको समर्थनमा ८–१० हजारको जुलुस निस्कन्छ भने सबै गणतन्त्रवादीहरू मिलेर आन्दोलनको आह्वान गर्दा पचासौँ हजारको जुलुस दैनिक निस्कन्छ । 

शिक्षक विद्यार्थी आन्दोलनमा आउँछन् । बिस्तारै चिकित्सक, नर्स हुँदाहुँदा स्थायी सरकार भनिने निजामती कर्मचारी पनि आन्दोलनमा आउनेछन्, किनकि यी सबै क्षेत्रमा गणतान्त्रिक लोकतन्त्रमा विश्वास गर्ने मानिसहरूको उपस्थिति ९० प्रतिशत भन्दा बढी छ । 

एकै छिन हुनै नसक्ने कल्पना गरौँ, राजतन्त्र फर्कियो रे, अनि हुन्छ के ? सबभन्दा पहिले मोबाइलका घन्टीहरू बज्न बन्द हुन्छन्, इन्टरनेट अवरुद्ध गरिन्छ, फोनका लाइन काटिन्छन् । सञ्चारगृहमा सेना र पुलिस पस्छन् र समाचारमा सेन्सरसिप सुरु हुन्छ ।


राजाले संविधान बनाउन नसकेको वा निर्वाचन गर्न नसकेको भनेर पहिले नियुक्त प्रधानमन्त्रीलाई अक्षम भन्दै पदबाट हटाउँछन् । अर्को कुनै हनुमान पात्रलाई प्रधानमन्त्री बनाउँछन् र उल्लिखित जिम्मेवारी दिन्छन् । उसले पनि ८–१० महिना खान्छ तर सुम्पिएको जिम्मेवारी पूरा गर्न सक्दैन । ७८ वर्षे ज्ञानेन्द्र धेरै उकासिए भने आफैँ प्रधानमन्त्री भएर मन्त्रीमण्डल बनाउन सक्छन् तर उनले पनि पार लाउन सक्दैनन् । 

राजाको कदमलाई केही अधिनायकवादी राष्ट्रबाहेक कसैले समर्थन गर्ने छैनन् । अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रनेछ र अन्तर्राष्ट्रिय मञ्चमा नेपाल एक्लिँदै जानेछ । अन्तर्राष्ट्रिय सहयोग घट्नेछ, देशमा पेट्रोलियम पदार्थ, ग्यास, मट्टीतेल आदिको हाहाकार हुनेछ र फेरि जनता सडकमा उत्रिनेछन् र ज्ञानेन्द्रलाई निर्मल निवास नै पठाउनेछन् ।

यति भइसकुन्जेल पाँच–सात वर्ष बित्न सक्छ । यो बिचमा शिक्षा, स्वास्थ्य, सडक, बिजुली, सञ्चार आदि कुनै पनि क्षेत्रमा सामान्य प्रगति पनि हुँदैन । किनकि राजालाई सत्ता जोगाउने मात्र ध्यान हुन्छ भने दलहरूलाई आन्दोलन गर्ने । अनि नेपाल फेरि १० वर्ष पछि पर्नेछ । 

विनानीति, विनासिद्घान्त र विनागन्तव्यको ८–१० हजार व्यक्तिको झुन्डका कारण राजतन्त्र आउने, नयाँ संविधान बनाउने, निर्वाचन गराउने र राजाले देश चलाउने भन्ने कुरा निर्दलीय पञ्चायतमा सत्ताको स्वाद चाखेका, काम र श्रम विनातलब भत्ता खाइरहेका राजाका आफन्त, नातेदार र आसेपासे सीमित व्यक्तिले सपनामा भन्ने कुरा मात्र हो । विपनामा अब नेपालमा राजतन्त्र कहिल्यै आउँदैन ।

के त्यसो भए अहिलेकै व्यवस्था, अवस्था, दल, नेता र कार्यशैलीमा सन्तुष्ट भएर बस्ने हो त ? कदापि होइन । तर व्यवस्था यही हो र दल यिनै हुन् । नेता र कार्यशैलीको परिवर्तन भने आवश्यक छ । 

प्रजातन्त्र स्थापना र गणतन्त्र ल्याउन ज्यानको बाजी थापेर हिँड्ने नेताहरूले अवसर पाए; आफ्नो ज्ञान, सीप र बर्कतले भ्याएसम्म देश र जनताका लागि गरे पनि; गर्दै जाँदा कैयांैँ नराम्रा काम पनि भए । अब राम्रा कामकोे जस र नराम्राको अपजस थाप्लामा राखेर जनताले सोचेजति र चाहेजति राम्रो गर्न नसकेकामा जनतासँग माफी माग्दै बिदा लिनुपर्छ यी शीर्ष नेताले । 
अहिलेको वितृष्णा र आक्रोशका कारण देशमा बढेको नीतिगत भ्रष्टाचार, सेवा प्रवाहमा ढिलासुस्ती, नागरिकको काममा अल्झन ल्याउने सरकारी नियम–कानुन र कार्यविधि हुन् । साथै कानुनी शासनको पालनामा पक्षपात र दलका वरिपरि रहनेले जे गरे पनि छुट पाउने अराजक अवस्था र दलका नेताको अनियन्त्रित बोलीप्रति हो सर्वसाधारणको आक्रोश, गणतान्त्रिक व्यवस्था र राजनीतिक दलप्रति होइन । 

विज्ञान र प्रविधिको विकासले समाज हामीले सोचेभन्दा अघि बढिसक्यो । आजको युवा सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता (एआई) बाट अत्यन्त प्रभावित भइसक्यो तर हाम्रा राजनीतिक दल, यसको नेतृत्व, सरकारी संयन्त्र र कर्मचारी उही पुरानै ढर्रा र कार्यशैलीमा रमाएका छन् ।

राज्य शक्तिको वैधानिकता हातमा लिएर बसेको पुरातनवादी नेतृत्व युवा वर्गको नवीन सोच र आविष्कारलाई लगाम लगाउन वा आफ्नै पुरानो सोच अनुसार हिँडाउन खोज्छ । जसका कारण अहिलेको नेतृत्वसँग युवा वर्गको वितृष्णा र आक्रोश बढेको छ । 

आजको युवाले हिजोको कालरात्रि हटाउन यी नेताको के भूमिका थियो भन्ने इतिहासलाई फर्केर हेर्नुभन्दा यी नेताको आजको बोली, व्यवहार र व्यक्तित्व परीक्षण गर्छ । युवाहरू सालीन, सौम्य र सदाचारी नेता देख्न चाहन्छन् भने छिटो, छरितो र प्रभावकारी सार्वजनिक सेवा प्रवाह भएको महसुस गर्न चाहन्छन् । हामी आम नागरिकको चाहना पनि यही हो । 
जनताले बढी के चाहेका छन् र ? मात्र भ्रष्टाचारमुक्त व्यवस्था, सदाचारी नेता, पारदर्शी शासन प्रणाली, महँगी र कालो बजारीमा नियन्त्रण, राजनीतिक दलले बोलेका र दस्ताबेजीकरण गरेका वाचाहरू सत्तामा पुगेपछि इमानदार साथ कार्यान्वयन गरेको देख्न चाहेका छन् जनताले । 

हिजोको सादगी नेता आज बिचौलियाको चङ्गुलमा नपरोस्, कमिसनखोरको महमा नडुबोस्, ठेकेदारहरूसँग हिस्सा खोज्ने नबनोस्, कर्मचारीहरूको सेटिङमा नचलोस् अनि विदेशी दलालहरूको मायाजालमा नफसोस् भन्ने त हो जनताको चाहना । जनताले भनेको छैन नि मेरो चुलो बाली दे नेता भनेर ।    
देश सकियो भन्ने भाष्य आम नागरिकले बनाएका होइनन् । ५२ प्रतिशत जनता त गणतन्त्रमा मेरो जीवनस्तर सुध्रियो भन्दै छन् । तर सत्तामा छउन्जेल सबै राम्रो भन्ने र सत्ताबाट झरेको भोलिपल्ट सबै सकियो र देश रसातलमा गयो भन्ने त नेता न हुन् । 

जुनसुकै दलको सरकारले गरेको होस्, राम्रोलाई राम्रो भन्ने र भएको कामलाई भएको भन्ने संस्कार राजनीतिक दलका नेतामा हुनुपर्‍यो । अरुले राम्रो गर्दा स्याबास र धन्यवाद भन्न डराउनु भएन नेताले । 

आफूले गरेको विकास निर्माण र जनहितका कामको तथ्य, तथ्यांक र तर्कसहित गणतन्त्रवादी सबै नेताले भन्नुपर्‍यो कि व्यवस्था मात्र होइन अवस्था पनि परिवर्तन भएको छ । हामीबाट केही गल्ती भएका छन्, अब सुध्रेर तपाईं जनताबिच आउँछौँ, गल्तीका लागि क्षमा गर्नुहोस् ।

म त भन्छु गणतन्त्र आएपछि देशको आर्थिक, सामाजिक, शैक्षिक र भौतिक पूर्वाधारमा उल्लेख्य सुधार भएको छ । नेपाली जनताको अवस्थामा पनि प्रगति भएको छ । यही अवधिमा नेपालीको प्रतिव्यक्ति आय भारतको जति २ः८ प्रतिशतको दरमै बढेको छ । सार्क देशमा सबभन्दा बढी बंगलादेशको छ । 
सम्झनुहोस् त सेख हसिनाको पालामा बंगलादेशमा ३ः६ प्रतिशतले नागरिकको प्रतिव्यक्ति आयमा वृद्धि भयो । तर तिनै हसिनालाई जनताले सत्ताच्युत मात्रै गरेनन् देशै निकाला गरे । किनकि उनले जनताको लेख्ने, बोल्ने, भेला हुने, विरोध गर्ने लोकतान्त्रिक अधिकार खोसिन् र पारिवारिक निरंकुश शासन चलाइन् । त्यसैले आर्थिक वृद्धि, जनताको जीवनस्तरमा सुधार र लोकतन्त्र छुट्याएर हेर्न हँुदैन । 

पूर्वराजा ज्ञानेन्द्र कस्ता थिए भन्ने त अहिले उनलाई राजा बनाउन गरिने भनिएको तथाकथित आन्दोलनका कमान्डर नवराज सुवेदीले आफ्नो आत्मकथा ‘इतिहासको एक कालखण्ड’मा लेखिएको विषयवस्तुबाट प्रस्ट हुन्छ । यो त एक विश्वासपात्रले भन्न हुने थोरै कुरा मात्र लेखेका हुन् । 

यस्ता देश र जनविरोधी कर्तूत त कति छन् कति, राजपरिवारका सदस्यको । त्यो त व्याख्या, विश्लेषण र लेखेर साध्य नै छैन । त्यसैले ढुक्कसँग भन्न सकिन्छ कि आजको निराशाको औषधि राजतन्त्र होइन ।

तर फेरि सरकारका क्रियाकलाप हेर्दा सन्तुष्ट हुने ठाउँ भने देखिँदैन । सरकारका लगातारका निर्णय सुनिरहँदा विख्यात लेखक ग्याब्रियल गार्सिया मार्खेजको भनाइ हाम्रा सत्तासीन नेताहरूको चरित्र र व्यवहारसँग मिल्दो देखिन्छ । 

उहाँ भन्नुहुन्छ, ‘जति धेरै शक्ति तपाईंसँग हुन्छ, त्यति नै धेरै कसैले तपाईंलाई ढाँटिरहेको छ वा छैन भनेर थाहा पाउन गाह्रो हुन्छ । जब तपाईं पूर्ण शक्तिमा पुग्नुहुन्छ, वास्तविकतासँग कुनै सम्पर्क रहँदैन । शक्तिशाली व्यक्ति स्वार्थी मानिसहरूबाट घेरिएको हुन्छ जसको अन्तिम उद्देश्य त्यो शक्तिशाली व्यक्तिलाई वास्तविकताबाट अलग गर्नु हुन्छ ।’

फेरि पनि उत्तम व्यवस्था बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्र नै हो । अहिलेको आवश्यकता र माग भनेको राजनीतिक दल र यसको नेतृत्वमा शुद्धीकरण, कर्मचारीतन्त्रमा व्यवसायीकरण र सरकारमा रहनेहरूको पूर्ण त रूपान्तरण हो, व्यवस्थामा परिवर्तन होइन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बलराम तिमल्सिना
डा. बलराम तिमल्सिना
लेखकबाट थप