बंगलादेशमा ‘कू’को तयारी ?

ढाका । बंगलादेशको सेनाले छिटै नै मोहम्मद युनुसको सरकारलाई सत्ताबाट हटाएर ‘कू’ गर्ने तयारी गरिरहेको भन्दै सञ्चार माध्यमहरूले खबर प्रकाशित गरेका छन् । बंगलादेशका सेना प्रमुख वकार उज जमानले सोमबार शीर्ष सेना अधिकारीहरूको आपतकालीन बैठक बोलाएको पनि समाचारमा उल्लेख छ । यसले अस्थिरताको अवधिबाट गुज्रिरहेको बंगलादेशमा आगामी दिनहरूमा केही ठूलो घटना हुने हो कि भन्ने संकेत गरेको छ ।
बंगलादेशी सेना प्रमुखले बोलाएको बैठकमा पाँच लेफ्टिनेन्ट जनरल, आठ मेजर जनरल, स्वतन्त्र ब्रिगेडका कमान्डिङ अफिसर र सेना मुख्यालयका शीर्ष अधिकारीहरू उपस्थित रहेको इन्डिया टुडेले आफ्नो समाचारमा दाबी गरेको छ ।
गत वर्ष अगस्टमा शेख हसिनाको सरकारलाई अपदस्थ गरेपछि मोहम्मद युनुसको नेतृत्वमा गठित अन्तरिम सरकार सत्तामा छ । यद्यपि, बंगलादेशका जनता यो सरकारलाई विश्वास गर्न सकिरहेका छैनन् । बंगलादेशमा अस्थिरताको स्थिति अझै जारी छ ।
सेनाले राजधानी ढाकामा बढायो आफ्नो गतिविधि
समाचार अनुसार सेनाको आपतकालीन बैठकमा देशमा स्थिरता ल्याउन सेनाको भूमिकाबारे छलफल गरिएको थियो । स्रोतहरूका अनुसार सेनाले या त राष्ट्रपतिलाई देशमा आपतकाल लगाउन दबाब दिन सक्छ वा युनुस सरकार विरुद्ध विद्रोह गरेर आफैं सत्ता कब्जा गर्न सक्छ ।
सेनाले आफ्नो निगरानीमा राष्ट्रिय एकताको सरकार गठन गर्ने बारे विचार गर्नसक्ने पनि भनिएको छ । बंगलादेश सेनाले राजधानी ढाकामा आफ्नो गतिविधि बढाएको कारणले पनि कूको चर्चा तीव्र हुँदै गएको हो । संयुक्त सुरक्षा बलले शुक्रबार बिहानैदेखि विभिन्न स्थानमा गस्ती बढाएको छ र चेक पोइन्ट पनि स्थापना गर्न थालेको छ ।
बंगलादेशमा हालैका महिनाहरूमा राजनीतिक दल र विद्यार्थी नेताहरूले पनि सेना विरुद्ध आवाज उठाएका छन् । यस कारण सेनाको एक हिस्सा रिसाएको छ र यी प्रदर्शनकारीहरूलाई दबाउने तयारी गरिरहेको छ । विद्रोहको डरका बीच बंगलादेशको अन्तरिम सरकारका सल्लाहकार मोहम्मद युनुस चाँडै चीनको भ्रमणमा जाँदैछन् । यस्तो अवस्थामा सबैको नजर मोहम्मद युनुसको चीन भ्रमणमाथि टिकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद राई पक्राउ परेको सदनलाई जानकारी
-
शिक्षकको आन्दोलन, विद्यार्थीको भविष्य र सरकारको अकर्मण्यता
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
-
‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
-
बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह