बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
गुटगत कलह

कांग्रेसमा शेखर–गगनबिचको विवाद सतहमा

मङ्गलबार, १२ चैत २०८१, १९ : १०
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । नेपाली कांग्रेसमा पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानल बनाएर सभापति र महामन्त्रीमा उम्मेदवार बनेका डा. शेखर कोइराला र गगन थापाबिच संसदीय दलको नेता निर्वाचनबाट सुरु भएको कलह यतिबेला सबैले महसुस गर्ने गरी नै सतहमा आएको छ । पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने बेलामा दुई नेताबिचको विवाद छताछुल्ल भएको हो । 

लोकतान्त्रिक अपाङ्ग सङ्घमा १४ औँ महाधिवेशनबाट इतर समूहका नेताबिचको विवाद छताछुल्ल हुँदा सभापति शेरबहादुर देउवा समूह भने रमिता हेर्दै मौन छ ।

यही चैत ८ र ९ गते भएको सङ्घको महाधिवेशनमा माधव चम्लागाईं, विकास थापा र कल्पना खड्काले नेतृत्वका लागि प्रतिस्पर्धा गरेका थिए । उम्मेदवारमध्ये चम्लागाईं महामन्त्री थापाको समूहबाट, थापा डा. शेखरको समूहबाट र खड्का पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको निगाहमा उम्मेदवार बनेका थिए । पछि संस्थापनले पनि महामन्त्री थापाले अघि सारेका चम्लागाईंलाई समर्थन गर्ने छनक दिएपछि दुई उम्मेदवार (थापा र खड्का)ले विरोध गरे । 

निर्वाचनबाट अध्यक्षमा चम्लागाईं निर्वाचित भएको सोमबार बिहान घोषणा गरिएपछि डा. शेखरका उम्मेदवार थापाको नेतृत्वमा पत्रकार सम्मेलन गरेर समानान्तर समिति घोषणा भएको छ । समानान्तर समिति घोषणा कार्यक्रममा डा. शेखर निकट कांग्रेस केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल र नेता गुरुराज घिमिरे सहभागी थिए । 

चम्लागाईं ३५१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएको तथा अध्यक्षका उम्मेदवारद्वय थापा र खड्काले क्रमशः ८८ र १३ मत प्राप्त गरेको मत परिणाम सार्वजनिक गरिएको थियो । 

आफूहरूलाई सहभागी हुन नदिइ भएको निर्वाचनबाट चम्लागाईं अध्यक्ष भएको घोषणा गरिएपछि थापाले डा. शेखरसँग छलफल गरी उनी निकटका केन्द्रीय सदस्य डा. पोखरेललाई साथमै राखेर सोमबार साँझ समानान्तर समिति घोषणा गरेका हुन् । थापा नेतृत्वको समानान्तर समितिलाई अध्यक्षकी प्रत्यासी खड्काले समर्थन गरेकी छन् । उनी पनि समिति घोषणास्थलमा थिइन् ।

यसअघि रातोपाटीसँग अध्यक्षका प्रत्यासी खड्काले मतगणना नहुँदै आफूहरूले मत हाल्न नपाएकाले निर्वाचनको नतिजा नस्वीकार्ने बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘‘विकासजी र मलाई मददान गर्न दिइएन । एकलौटी रूपमा भएको निर्वाचन हामीले नस्वीकार्ने भनिसकेका छौँ ।’ 

मतदात शनिबार सकिए पनि विवाद भएपछि आइतबार नगनेर सोमबारमात्रै मतगणना सुरु गरिएको थियो । विवाद भएपछि थाती राखिएको मतगणना महामन्त्री थापाको दबाबपछि सभापति शेरबहादुर देउवाको निर्देशनमा सोमबार गनिएको हो । आइतबार पार्टी कार्यालय सानेपामा पार्टीको कार्यसम्पादन समिति बैठकमा नेताहरू जान लाग्दा निर्वाचनमा मतदान एकलौटी गरिएको भन्दै खारेज गर्न असन्तुष्टहरूले माग गरेका थिए । तर उनीहरूको दबाब महामन्त्री थापाको जोडबलसामु अर्थपूर्ण बन्न सकेन । सभापति देउवाले मतगणना गर्न निर्देशन दिए ।

पार्टीले सङ्घको निर्वाचन गर्नका लागि बनाएको केन्द्रीय सदस्य मधु आचार्य नेतृत्वको निर्देशन समितिमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ सदस्य थिए । तर, सङ्घको नयाँ नेतृत्व चुन्ने बेलामा अमेरिकामा रहेकी बजिमय निर्वाचन प्रक्रियामा सहभागी भइनन् । आचार्यको मनलाग्दी चल्ने भएपछि अर्का सदस्य श्रेष्ठ भने उदघाटन सत्रमा सहभागी भएर बाहिरिएमा महाधिवेशन भएको स्थल कांग्रेस केन्द्रीय कार्यालय सानेपामा फर्किएनन् । 

आचार्यले महामन्त्री थापा र केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीसँग समन्वय गर्दै नयाँ नेतृत्व चयनका लागि दुई अध्यक्षका उम्मेदवारको असन्तुष्टिबिच मतदान गराए । एकलौटी रूपमा भएको मतदानमा ८९२ महाधिवेशन प्रतिनिधि र केन्द्रीय कार्यसमितिका १७१ जना मददातामध्ये ४७० जनाले मात्रै मताधिकार प्रयोग गरे । मतदानमा सहभागी संख्याले पनि एकलौटी भएको देखाउँछ । 

सङ्घको महाधिवेशनमा भएको एकलौटीमा संस्थापनले किन महामन्त्रीको कुरा सुन्यो भन्ने रातोपाटीको प्रश्नमा संस्थापन पक्षीय नेता भन्छन्, ‘महामन्त्री थापाजी र शेखरजी भिडेपछि हामी शान्त भएर हेर्ने नीति बनायौँ । कसको जनमत कति रहेछ भन्ने परीक्षण हुन्छ भन्ने हाम्रो रणनीति थियो ।’

ती नेताले महाधिवेशनमा कसलाई साथमा लिने भन्ने रणनीति बनाउन सजिलो हुन्छ भनेर सङ्घमा त्यसो गरिएको बताए ।

जे होस्, २०७९ पुस ६ गते भएको संसदीय दलको नेताको निर्वाचनमा इतर समूहबाट उम्मेदवार बनेका थापालाई डा. शेखरले सहयोग नगरेको थापा निकट नेताहरूले बताएका थिए । आफ्नो समूहमा प्रतिनिधि सभामा ३१ सदस्य हुँदाहुँदै २५ मतमात्रै आएको भन्दै गगन पक्षीय नेताहरूले डा. शेखरको विरोध गरेका थिए । त्यसपछि उनीहरूबिच सम्बन्ध त्यति राम्रो नरहे पनि सतहमा आएको थिएन । लोकतान्त्रिक अपाङ्ग सङ्घको निर्वाचनबाट उनीहरूबिचको विवाद छताछुल्ल रूपमा बाहिर आएको छ । यसबारे नेताहरूले औपचारिक प्रतिक्रिया भने दिन चाहेनन् । 

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ २०६३ सालमा गठन भए पनि १८ वर्षपछि पहिलो महाधिवेशन गरेको थियो । नेताहरूबिचको विवादले १८ वर्षपछि गरिएको महाधिवेशनन पनि विवादरहित बन्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप