बिहीबार, २१ चैत २०८१
ताजा लोकप्रिय

हाम्रो श्रम–संस्कृति कुन हो ?

मङ्गलबार, १२ चैत २०८१, १३ : २६
मङ्गलबार, १२ चैत २०८१

शरीर तन्दुरुस्तीका लागि ‘मर्निङ वाक’ राम्रै हो । तर, यसको देखावटी अहिले सङ्क्रामक रोग जस्तै बनेको छ । पहिलेदेखि यस्ता ‘स्टण्टबाजी’ हुँदै आएका हुन् ।

 उत्पादनगत श्रम गर्नु नपर्ने तर अथाह आर्थिक स्रोतका मालिक–पुँजीवादीहरूले यस्तो गर्दै आएका छन् । अहिले भने आफूलाई समाजवादी र साम्यवादी भन्नेहरूले पनि यस्तै ‘स्टण्ट’ सुरु गरेका छन् । यो फगत विलासिता मात्रै हो ।

खेतीपाती गरेर आफ्नो जीविकोपार्जन गर्ने गरिब किसान, श्रमिक तथा श्रमजीवी वर्गका लागि भने ‘मर्निङ वाक’ विलासिता हुन सक्छ । झट्ट सोच्दा यो विरोधाभास लाग्न सक्छ तर संरचना, श्रम संस्कृति र विद्यमान समाज सन्दर्भमा हेर्दा यस्तो देखावटीपनले अहिलेको समाजलाई प्रगति पथमा लैजाला ? 

मधेससहित ग्रामीण क्षेत्रका गरिब किसानहरू घाम नझुल्कँदै खेतबारीमा पसिसकेका हुन्छन् । सहरका अधिकांश मजदुरहरू आँखा मिच्दै कारखाना वा श्रम क्षेत्रमा पुगिसकेका हुन्छन् । उनीहरूको श्रम भन्नु किसानीय, मजदुरीय क्रियाशीलता हो । औजारमा घोटिनु, बोक्नु, लगाउनु, जोत्नु, हेरचाह गर्नु, घाँस दाउरा गर्नु हो । तिनले कहाँ पाउनु मर्निङ वाकको समय ? कहाँ पाउनु  ब्रान्डेड जुत्ता र ब्रान्डेड ट्याकसुट ? 

मर्निङ वाक कसले गर्छ भने जोसँग मर्निङ वाक गर्ने समय छ । जसलाई उत्पादन श्रमको आवश्यकता नै छैन । उनीहरूको श्रम अर्कैले गर्दिरहेको छ, कसले भने तिनै आधारभूत किसान वा श्रमिक वर्गले, जो आफ्नो श्रम बेचेर पेट पाल्न बाध्य छन् ।

हामी कुन वर्गका लागि काम गरिरहेका छौँ ? हामीले कुन वर्गको संस्कृतिलाई प्रोत्साहन गरिरहेका छौँ ? यो व्यक्तिगत मात्र नभई राजनीतिक र आर्थिक विश्लेषणको प्रश्न पनि हो । श्रम गर्ने वर्ग बिहानैदेखि श्रममा छ, श्रमको मूल्य निर्धारण गर्ने वर्ग मर्निङ वाकमा छ । त्यसैले समाजमा गरिखाने र बसी–बोली खानेको दूरी बढ्दै गएको छ ।

किसानले अन्न फलाउँछ, त्यसको बजार मूल्य तोक्न बिचौलिया खडा भइदिन्छ । श्रमिकले घर बनाउँछ, त्यो घरको मूल्य उसको श्रमभन्दा महँगो हुन्छ । पत्रकार, लेखकले कलम चलाउँछ, उसको ‘सस्तो लोकप्रियता’ प्रवृत्तिले गम्भीर सामाजिक, अर्थ राजनीतिक र सांस्कृतिक मुद्दालाई नै ओझेलमा पार्दिन्छ । 

हाम्रो आनीबानी, प्रवृत्ति, सोच, चिन्तन, अध्ययन, लेखन कुन वर्गको पक्षमा खडा भइरहेको छ ? सस्तो लोकप्रियताले तात्कालिक आनन्द दिन त सक्छ तर दीर्घरुपमा कमजोर बनाउँछ ।

मर्निङ वाक स्टन्ट जस्तै हो– सामाजिक सञ्जालमा ‘ट्रेन्डिङ’ हुने, ‘लाइक’ र ‘शेयर’ बढाउने मोह पनि । टिकटक, फेसबुक, ट्विटर (एक्स) जस्ता प्लेटफर्ममा जति चाँडो लोकप्रियता आउँछ, उति नै चाँडो हराउँछ ।

त्यसैले वास्तविक श्रम संस्कृति, संघर्ष र सिर्जनाको ठाउँमा सतही प्रचार तथा सतही ‘कन्टेण्ट’ सबैतिर हावी हुँदै गएको छ । कयौँ राजनीतिक वा बौद्धिक व्यक्तित्व तथा क्षेत्र समेतले यस्तै स्टण्टबाजीलाई पदचाप बनाउँदा तिनले सामाजिक अग्रताका लागि तय गर्नुपर्ने दीर्घकालीन रणनीतिमा समेत धक्का पुगेको छ । 

विलासिता होइन, श्रमसंस्कृतिले मात्रै समाजलाई चलायमान बनाउँछ । मर्निङ वाक गर्नेबाट भन्दा खेत जोत्नेबाट हाम्रो भोक मेटिन्छ । 

मर्निङ वाक वा शारीरिक व्यायामको विरोध गरिएको होइन तर परिवर्तनकारीहरू सस्तो ‘ट्रेन्ड’ होइन, स्थायी विचार प्रवाहको पक्षमा उभिनुपर्छ । किसान, मजदुर वर्गलाई केन्द्रमा राखेर उनीहरूको साथमा उभिनुपर्छ । जमिनको वैज्ञानिक उत्पादनशीलता, मजदुर श्रम मूल्यको निश्चितता, राष्ट्रिय उद्यमी–उद्यममाथिको आर्थिक सहुलियत, पलायनरत युवालाई राज्यप्रति भरोसायोग्य बनाउने जस्ता प्राथमिकता कार्यान्वयन गर्न ढिला भइसकेको छ ।  

हुँदाहुँदा पूर्वराजाले अप्ठ्यारो सडकमा आठ घण्टा आफैँ गाडी हाँकेको भन्दै उनको तन्दुरुस्तताको ब्राण्डिङ दरबारियाबाट सुरु गरिदैछ । न मुद्दा, न योजना, न कार्यक्रम ! कुन नेता कति दौडन्छ, कसरी गाडी हाँक्छ, कसको जुँगा कलमी छ जस्ता सस्तो बहसमा देशलाई लगिँदै छ ।

हुँदाहुँदा पूर्व राजाले अप्ठ्यारो सडकमा आठ घण्टा आफैँ गाडी हाँकेको भन्दै उनको तन्दुरुस्तताको ब्राण्डिङ दरबारियाबाट सुरु गरिँदैछ । न मुद्दा, न योजना, न कार्यक्रम ! कुन नेता कति दौडन्छ, कसरी गाडी हाँक्छ, कसको जुँगा कलमी छ जस्ता सस्तो बहसमा देशलाई लगिँदै छ ।

हरेकले स्वस्थ खानुपर्छ । सकेसम्म स्थानीय खाना खानुपर्छ । तर, खानपिन जस्तो औपचारिकतालाई समेत सार्वजनिक उछाल्ने काम भएको छ ।

केराको पातमा पस्किएको होस् कि सालको पातमा, जुन परिकार देखाइएको छ, के साधारण जनताले आफ्नो दैनिक भोजनमा ती परिकार खान पाएका छन् ? प्याज र नुनसँगै मडुवाको रोटी खाएर मेलामा जानेको प्रतिनिधि हुँ भन्नेहरूको त्यो प्रदर्शनले आधारभूत जनतालाई सकारात्मक पक्कै प्रभाव दिइरहेको छैन । राम्रो काममा मपाईँत्व त छदै थियो, गल्ती कमजोरीमा समेत गर्व गर्ने अहङ्कार देखिएको छ ।

अझ नेताहरू त राजनीतिक, वैचारिक, कार्यक्रमिक कोशेली बोकेर जानुपर्छ जनताबिच । अरूले धोका दिएको, हामीले गल्ती गरेको जस्ता कुरा कोशेली हुँदैनन् । आफ्नो वर्ग पक्षधरता छाडेर अर्को पक्षमा जाँदा धोका नपाएर के पाइन्छ त ? 

भूमिहीन हँसिया फरोस तहका जनताका निम्ति तिनैका असली प्रतिनिधि हौँ भन्नेसँग के कार्यक्रम छन् ? शहीद, बेपत्ता, घाइते–अपाङ्गलाई के राहत छन् ? विभिन्न उपाय अवलम्बन गर्दा पनि कृषिमा असफल भइरहेका साना, मझौला किसानका निम्ति के योजना र कार्यक्रम छन् ? दलित मुक्तिको अर्थ व्यावहारिक कार्यक्रम के छ ? राजनीतिक रूपमा त्यसलाई कसरी अवलम्बन गरिन्छ ? आधारभूत वर्गको प्रतिनिधित्व गर्छौँ भन्नेले यी वर्गीय मुद्दाभन्दा बढी मर्निङ वाकको महत्त्व स्थापित गर्ने सन्दर्भ औचित्यपूर्ण हुनै सक्दैन ।

यसरी जनतामा प्रेम बस्छ भन्नु फेसबुक जस्ता सामाजिक सञ्जालमा दश हजार साथी छन्, बिरामी पर्दा भने अस्पताल पुर्‍याउनेसम्म कोही छैन भने जस्तै होइन र ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप