आइतबार, १७ चैत २०८१
ताजालोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कानुन

के हो ‘रोमियो–जुलियट ल’ ?

सहमतिमै हुने शारीरिक सम्पर्कबारे के छ व्याख्या ?
मङ्गलबार, १२ चैत २०८१

आइतबार गृहमन्त्री रमेश लेखकले सरकार विवाहको उमेर घटाउने पक्षमा रहेको बताए । कानुन समितिको बैठकमा उनले बालबालिका सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक  मन्त्रिपरिषदमा विचाराधीन रहेको र संशोधन विधेयक तयार भएको जिकिर गर्दै विवाहको उमेर घटाउने प्रस्ट पारे ।

गृहमन्त्री लेखकले विवाहको १८ वर्षमा झार्नुपर्ने तर्क गर्दै ‘रोमियो–जुलियट ल’ लागु गर्नुको विकल्प नरहेको जिकिर गरे ।

‘रोमियो–जुलियट ल’ के हो ? यसै विषयमा अधिवक्ता श्रृङ्गऋषि काफ्लेसँग कुराकानी गरेका छौँ ।

  • ‘रोमियो–जुलियट ल’ के हो ?

सामाजिक विषयको कुरा गर्दा अहिलेको युगमा १३/१४ वर्षदेखि नै केटाकेटीहरू स्मार्ट भएको देखिन्छ । उनीहरू स्वाभाविक रूपमा प्राकृतिक ढंगले नै एकअर्काप्रति आकर्षित हुन्छन् । यो स्वाभाविक हो । यसैक्रममा १८ वर्ष नपुग्दै उनीहरूको बिचमा मञ्जुरीमा शारीरिक सम्पर्क हुने गरेको सूचना पाउँछन् । यो अहिलेको सामाजिक अवस्था हो ।

कानुनी अवस्थाको कुरा गर्ने हो भने १८ वर्ष पुगेपछि व्यक्ति बालिग हुन्छ । त्योभन्दा अघि मन्जुरीमै करणी भएको छ भने पनि कानुनले त्यसलाई जबरजस्ती करणी भएको मान्दछ । दबाब, षड्यन्त्र छैन, प्रेमभावमा शारीरिक सम्पर्क मन्जुरीमै भयो भने पनि कानुनले जबरजस्ती करणी नै मान्छ ।

त्यसको परिणामस्वरुप विद्यमान कानुन अनुसार उसले ठुलो कानुनी सजाय भोग्नुपर्ने हुन्छ । उसको करिअर, जीवन, शिक्षा डामाडोल हुन्छ । ऊ अपराधी बन्छ । यो अवस्थालाई न्यूनीकरण गर्नका लागि विश्वमा भइरहेको अभ्यास भनेको ‘रोमियो–जुलियट ल’ हो ।

१६–१७ वर्षको उमेरमा केटा र केटीका बिचमा प्रेम सम्बन्ध रहेकै अवस्थामा शारीरिक सम्बन्ध भएमा अन्य जबरजस्ती करणी अनुसारको सजाय नदिने । किनभने त्यहाँ जबरजस्ती थिएन, करकाप पनि थिएन । त्यो उमेरको व्यक्तिले सामाजिक परिणाम, भावनात्मक परिणाम, मनोवैज्ञानिक, शारीरिक परिणाम के हुन्छ भनेर छुट्ट्याउन सक्दैन । त्यो अवस्थामा उसलाई अन्य व्यक्तिसरह नै सजाय दियो भने उसमाथि न्याय हुँदैन । कानुनको सोचाइ वा सिद्धान्त भनेको प्रत्येकका लागि न्याय हो ।

कसैले मनसायपूर्वक, षड्यन्त्र गरेर, कसैलाई करकापमा राखेर, धम्की दिएर जबरजस्ती करणी गर्छ भने राज्यको दायित्व हो– बालबालिका र प्रत्येक स्त्रीको रक्षा गर्नुपर्छ ।

कारागारमा हेर्ने हो भने अधिकांश जबरजस्ती करणीका घटना छन् । केही सुधारकेन्द्रमा छन्, केही कारागारमा छन् । यसलाई अपवादको रूपमा, ‘रोमियो जुलियट ल’ लाई विश्वले कसरी अंगीकार गरेको हो भने जबरजस्ती करणीमा राज्यले बनाएको कानुन हुन्छ । अपवादको रूपमा त्यसमा केही सर्त हुन्छ ।

‘रोमियो जुलियट ल’ मा दुई वटा सर्त हुन्छ ।

बालिग नहुँदै पनि सहमतिमा शारीरिक सम्बन्ध भएको हुनुपर्छ । कसैको करकापमा शारीरिक सम्बन्ध भएको हुनुहुँदैन । दुई जनाको बिचमा प्रेमभावमा, सहमतिमा शारीरिक सम्बन्ध भएको हुुनुपर्छ ।

यस्तै, केटा र केटीको उमेरको ग्याप अत्यन्तै सानो हुनुपर्छ । एक जना १६ वर्षको छ भने अर्को १७ वर्षको छ भने उमेर ग्याप सानो देखियो ।

एक जना १६ वर्षको छ भने अर्को १७ वर्षका किशोरकिशोरीविच प्रेम छ । उनीहरूबिच शारीरिक सम्बन्ध भयो तर छोरीको अभिभावकले केटाले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिन्छ । यो सम्बन्धमा दुवैको राजीखुसी थियो, कुनै जबरजस्ती थिएन भने त्यो १७ वर्षको केटाले अरु सरहनै सजाय पाउनु कतिको न्यायसंगत हुन्छ भन्ने कुरा सोच्नुपर्ने हुन्छ । ‘रोमियो जुलियट ल’ ले अपवादको रूपमा अरुभन्दा सजायमा पृथक ढंगले व्यवहार गर्ने गर्छ ।

  • नेपालको सन्दर्भमा ‘रोमियो जुलियट ल’ले काम गर्ला ?

पछिल्लो समय किशोरकिशोरीहरूले १६, १७, १८ वर्षको बिचमा प्रेम सम्बन्ध छ । कतिपय ठाउँमा जातका कारणले फसाउने पनि गरिएको छ । किशोरकिशोरी सहमतिमै शारीरिक सम्बन्धमा प्रवेश गर्छन् तर यसलाई जबरजस्ती करणीको नाम दिएर उनीहरूलाई अर्को अपराधी बनाउने कुराले समाजलाई धेरै फाइदा गर्छ जस्तो लाग्दैन ।

जरुरी के छ भने हाम्रो छोराछोरीलाई पुरुष र स्त्रीकोबिचमा कतिसम्म सम्बन्ध अगाडि बढाउने ? सीमा के हुन्छ ? त्यसको दुरी, परिणाम के हुन्छ ? त्यो कुरा सिकाउनु पर्छ । सचेतनातिर जानुपर्छ । तर सबैलाई समात्दै ल्याएर कारागारमा राखेर समाजलाई यसले उन्नत बनाउँछ भन्ने लाग्दैन ।

यो कानुन बनाउँदै गर्दा समाजलाई यसले विकृततर्फ लाने हो कि भन्ने कुरामा हामी होसियार हुनुपर्छ । त्यसका लागि सचेतना फैलाउनु आवश्यक छ । कानुन भने विभेदकारी हुनुहुँदैन । अहिलेको समाजलाई पनि सम्बोधन गर्नुपर्छ ।  लामोसमय बहस गरेर, प्रत्येक सरोकारवालासँग छलफल गरेर यसको परिणाम के आउँछ भन्ने विषयमा बहस गरेर मात्रै अगाडि बढ्नुपर्छ । बहस गरेर कति हदसम्म जान सक्छौँ भनेर निर्क्योल गर्नु नै बुद्धिमत्तापूर्ण हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया