शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

डाक्टर : चारै तिरबाट घेराबन्दीमा परेको पेसा

मङ्गलबार, १२ चैत २०८१, १२ : १२
मङ्गलबार, १२ चैत २०८१

वर्षौंको कठिन अध्ययन र तालिमपछि पनि नेपाली डाक्टर जीविकोपार्जनका लागि संघर्ष गर्न बाध्य छन् । हामीकहाँ डाक्टरले बिरामीको उपचार मात्रै होइन सरकार, भ्रष्ट संस्था, निरंकुश सिनियर्स, राजनीतिक हस्तक्षेप र समाजको उपेक्षासँग पनि संघर्ष गर्नुपर्छ ।

न्यून तलब, सीमित रोजगारीका अवसर र कार्यस्थलको खराब अवस्थाले उनीहरूको पेसागत जीवनलाई झनै कठिन बनाएको छ । धेरै अस्पतालले महिनौँसम्म तलब रोक्दा स्वास्थ्यकर्मी आर्थिक संकटमा पर्छन् । समाजले डाक्टरहरूलाई सेवाको प्रतीक मान्छ तर वास्तविकता ठिक उल्टो छ । थुप्रै जिम्मेवारी सम्हाल्ने उनीहरूलाई उचित पारिश्रमिक र सम्मान दिइँदैन । महिनौँदेखि तलब नपाएका धेरै स्वास्थ्यकर्मी जागिर छाड्ने दोधारमा छन् ।

  • भ्रष्टाचार र शोषण

नेपालको स्वास्थ्य सेवा प्रणालीमा भ्रष्टाचारले गहिरो गरी जरा गाडेको छ । उच्च पहुँच भएका राजनीतिक नेताहरू, कर्मचारीहरू र बिचौलियाहरू मिलेर स्वास्थ्य क्षेत्रलाई भित्रैबाट खोक्रो बनाउँदै छन् । सरकारी नीति–नियमहरू बिरामी र डाक्टरहरूको हितमा नभई निजी मेडिकल कलेजहरू र राजनीतिक शक्तिहरूको फाइदाका लागि बनाइन्छ । 

निजी अस्पताल र मेडिकल कलेजले सरकारी निर्देशन र नियमलाई बारम्बार तोड्दा पनि सम्बन्धित अधिकारीले मौनता साध्ने गर्छन् । त्यसैले स्वास्थ्य सेवा जनताको आवश्यकता मात्र नभई केही सीमित प्रभावशाली व्यक्तिहरूको स्वार्थ पूरा गर्ने व्यापारझैँ बनेको छ । 

हामीकहाँ डाक्टरहरू विविध कारण असन्तुष्टिको चरम बिन्दुमा पुगेका छन् । स्वास्थ्य सेवा क्षेत्रलाई तहसनहस पार्ने शोषण, भ्रष्टाचार र राजनीतिक हस्तक्षेपलाई नियन्त्रण नगर्ने हो भने स्वास्थ्य सेवा प्रणाली नै धराशायी हुने खतरा छ ।


यस्तै एउटा पछिल्लो उदाहरण हो— माननीय प्रधानमन्त्री केपी शर्मा ओली; स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको नेतृत्वमा भएको चिकित्सा शिक्षा आयोगको पूर्ण सदन बैठकबाट पारित छात्रवृत्ति नियमन । उक्त नियमन अनुरूप निजी र सरकारी दुवै स्तरका मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई तीन वर्ष अवधिभर आठौँ तहका सरकारी अधिकारी बराबरको छात्रवृत्तिको व्यवस्था गरिएको थियो । तर यस विपरीत निजी मेडिकल कलेजहरूले आवासीय चिकित्सकलाई अझै पनि महिनाको १८ हजार रुपैयाँ मात्र दिइरहेको जानकारीमा आएको छ । उक्त रकम चिकित्सा पेसामा वर्षाैं लगानी गरेका डाक्टरका लागि आफ्नो परिवारलाई सहयोग गर्न वा पढाइको ऋण तिर्न त परको कुरा, नेपालका सहरहरूमा बाँच्नका लागि पनि पर्याप्त हुँदैन ।

  • बेरोजगारी र अस्वस्थ प्रतिस्पर्धा

नेपालको स्वास्थ्य सेवा क्षेत्र डाक्टरहरूको अभावले मात्र होइन, रोजगारीका अवसरको कमीले पनि समस्याग्रस्त छ । प्रत्येक वर्ष हजारौँ डाक्टर चिकित्सा क्षेत्रमा प्रवेश गर्छन्, तर अस्पतालहरूमा रिक्त पद प्रायः छैनन् वा ती पदमा अस्वस्थ प्रतिस्पर्धा हुने गर्दछ । 

हालै चिकित्सा संस्थान (आईओएम) ले केही रिक्त मेडिकल अफिसरको पदका लागि आवेदन मागेको थियो । यसमा ६०० भन्दा बढी डाक्टरले आवेदन दिएका थिए, जो आवश्यक संख्या अनुपातमा ४० देखि ८० गुणा भन्दा बढी हो । देशमा अवसर नहुँदा हजारौँ दक्ष नेपाली डाक्टर रोजगारी खोज्दै बिदेसिन बाध्य छन् ।

  • राजनीतिक हस्तक्षेप

नेपाली स्वास्थ्य क्षेत्र राजनीतिक दलहरूको नियन्त्रण र प्रभाव विस्तार गर्ने थलो बनेको छ । नेताहरू र उनीहरूका सहयोगीले पूरै अस्पताल कब्जा गरेर जागिर, पदोन्नति र स्रोतहरूको बाँडफाँड योग्यताभन्दा सम्बन्ध र पक्षपातका आधारमा गर्छन् । यसरी दक्ष र योग्य डाक्टरलाई भन्दा राजनीतिक पहुँच भएकालाई अवसर दिइन्छ । यसले गर्दा नेपालमा स्वास्थ्य सेवाको गुणस्तर झनै खस्कँदै पनि गएको छ ।

हामीकहाँ प्रायः नीतिहरू प्रणाली सुधार गर्ने उद्देश्यले भन्दा पनि सत्तामा रहेका व्यक्तिका व्यक्तिगत स्वार्थको पूर्तिका लागि डिजाइन गरिन्छ । स्रोत–साधनको दुरुपयोग हुन्छ, अस्पतालहरूको आधुनिकीकरण, आवश्यक औषधि र उपकरणहरूको खरिद वा पूर्वाधार सुधारका लागि छुट्याउनुपर्ने पैसा प्रायः व्यक्तिगत खल्तीहरूमा जान्छ । फलस्वरूप, एक भ्रष्ट स्वास्थ्य सेवा प्रणाली अस्तित्वमा आउँछ, जहाँ डाक्टरहरूबाट कुनै समर्थन विनाचमत्कार र जादुको अपेक्षा गरिन्छ ।

  • असुरक्षित कार्यस्थल 

नेपालमा डाक्टरहरू नियमित रूपमा भौतिक आक्रमण, धम्की र सार्वजनिक अपमानको समेत सिकार बन्ने गरेका छन् । उपचार प्रक्रियाका क्रममा सन्तोषजनक नतिजा नआएपछि आक्रोशित भीडले अस्पतालका कर्मचारीलाई आक्रमण गर्ने घटना सामान्य बनेका छन् । 

नेपाल सरकार स्वास्थ्य क्षेत्रका कर्मचारीलाई यस्ता हिंसाबाट जोगाउन कडा नीतिहरू लागु गर्न असफल ठहरिएको छ । डाक्टरहरू आफ्नो जीवन जोखिममा पारेरै सेवा दिन बाध्य छन् ।

  • सिनियर–जुनियर टक्सिसिटी

भ्रष्टाचार र सरकारी उपेक्षासँगै नेपालका डाक्टर आफ्ना वरिष्ठ समकक्षीबाट समेत दुव्र्यवहारको सिकार भइरहेका छन् । चिकित्सा क्षेत्रमा प्रभुत्व र शोषणको संस्कृतिले गहिरो रूपमा जरा गाडेको छ । तसर्थ धेरै युवा डाक्टरहरूको यात्रा कठिन हुन्छ । सिनियर डाक्टरहरू आफ्ना जुनियरका लागि आफू अनुकूल मापदण्ड तय गर्छन् र क्लिनिकल अभ्यासका उनीहरूमाथि अपमानजनक व्यवहार गर्छन् । यसले सकारात्मक सिकाइ वातावरण सिर्जना गर्नुभन्दा उल्टै डर, दबाब र असहजता बढाएको स्पष्ट देखिन्छ ।

हालैको एक अन्तर्वार्ताका क्रममा एक वरिष्ठ डाक्टरसाबले ग्रामीण क्षेत्रमा कार्यरत डाक्टरहरूले बिरामीलाई ‘इन्ट्युबेट’ गर्नुपर्नेमा निकै जोड दिएको देखियो । यसमा प्रश्न छ — ‘इन्ट्युबेसन’का क्रममा बिरामीको मृत्यु भयो भने यसको जिम्मेवारी कसले लिने ? जुनियर डाक्टरहरूको सुरक्षाको प्रत्याभूति कसले गर्ने ? प्राथमिक स्वास्थ्य केन्द्रहरू वा स्वास्थ्य चौकीहरूमा आईसीयू वा भेन्टिलेटरजस्ता जीवनरक्षक सुविधा नै उपलब्ध हुँदैनन्, त्यस्तो अवस्थामा इन्ट्युबेट गरिएका बिरामीलाई ठुला अस्पतालमा स्थानान्तरण गर्न असमर्थ भएमा उनीहरूको अवस्था के हुने ? यसले बिरामीको स्वास्थ्यमा कसरी सुधार पुर्‍याउँछ ?

इन्ट्युबेसन एक जटिल प्रक्रिया हो, जसलाई आपतकालीन अवस्थामा पनि अत्यन्तै सावधानीपूर्वक गर्नुपर्छ । अनुभवी एनेस्थेसियोलोजिस्टहरूलाई समेत कहिलेकाहीँ यो प्रक्रिया निकै चुनौतीपूर्ण हुन सक्छ तर न्यूनतम स्रोत–साधन, तालिम र कुनै सुपरीवेक्षणबिना नै जुनियर डाक्टरलाई यस्तो जोखिमपूर्ण काम गर्न बाध्य पारिन्छ । त्यस्तै बिरामीको जीवन बचाउने प्रयास गर्दा विभिन्न कमजोरीका कारण उनीहरू आफैँ कानुनी, मानसिक र व्यावसायिक संकटमा पर्ने जोखिममा समेत रहन्छन् ।

नेपालको चिकित्सा क्षेत्रको विषाक्त वातावरणको पछिल्लो उदाहरण धुलिखेल अस्पतालमा देख्न सकिन्छ, जहाँ मनोचिकित्सा विभागका एक आवासीय डाक्टरले आफ्नै विभागका प्राध्यापक र वरिष्ठ चिकित्सकबाट निरन्तर उत्पीडन तथा दुव्र्यवहार सहनुपरेपछि आत्महत्याको प्रयास गर्न बाध्य हुनुपर्‍यो । यस घटनाले नेपालमा चिकित्सा पेसासँग जोडिएका युवा डाक्टरहरूको मानसिक स्वास्थ्यलाई प्रायः बेवास्ता गरिने र सहयोगका लागि गरिएको गुहार नसुनिने गम्भीर वास्तविकतालाई उजागर गरेको छ । नेपाली डाक्टरको मानसिक स्वास्थ्य आफ्नै मनोचिकित्सा विभागमै सुरक्षित छैन भने अन्यत्र कहाँ सुरक्षित हुन सक्छ ?

  • नेपाली डाक्टरहरूको ब्रेन ड्रेन

यी कठोर परिस्थितिलाई हेर्दा हजारौँ नेपाली डाक्टरले हरेक वर्ष राम्रो अवसरको खोजीमा विदेश जाने निर्णय गर्नु कुनै अस्वाभाविक होइन । अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता देशले नेपालका योग्य र दक्ष डाक्टरहरूको ‘ब्रेन ड्रेन’बाट निकै फाइदा उठाइरहेका छन् । तर नेपाल सरकारले यो गम्भीर समस्याको मूल कारणलाई सम्बोधन गर्नुपर्ने ठाउँमा मौनता साँध्दा देशको स्वास्थ्य सेवा प्रणाली झनै गम्भीर संकटमा पर्दै गएको छ ।

  • परिवर्तनका लागि गुहार

हामीकहाँ डाक्टरहरू विविध कारण असन्तुष्टिको चरम बिन्दुमा पुगेका छन् । स्वास्थ्य सेवा क्षेत्रलाई तहसनहस पार्ने शोषण, भ्रष्टाचार र राजनीतिक हस्तक्षेपलाई नियन्त्रण नगर्ने हो भने स्वास्थ्य सेवा प्रणाली नै धराशायी हुने खतरा छ । सरकारले सक्षम र योग्य उम्मेदवारको नियुक्ति गर्नुका साथै स्वास्थ्यकर्मीहरूको सुरक्षा, उचित पारिश्रमिक सुनिश्चित, थप रोजगारीका अवसरहरू सिर्जना र निजी चिकित्सा संस्थाहरूको अनियन्त्रित प्रभाव अन्त्य गर्न ठोस नीति लागु गर्नुपर्नेछ ।
राज्यले नेपाली डाक्टरको महत्त्वलाई गम्भीर रूपमा लिन्छ भने तिनको सुरक्षा, सम्मान र अधिकार सुनिश्चित गर्न तत्काल ठोस कदम चाल्नुपर्छ । अन्यथा देशले समाजको सेवा गर्न र अरूको जीवन बचाउन समर्पित डाक्टरहरू गुमाउँदै जानेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. सन्देश लम्साल
डा. सन्देश लम्साल
लेखकबाट थप