उपाधि जितेकै मैदानमा पञ्जाबलाई चुनौती दिँदै गुजरात टाइटन्स

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा मंगलबार पूर्वविजेता गुजरात टाइटन्सले पञ्जाब किङ्सको सामना गर्दैछ । आईपीएलको जारी संस्करणमा खेल्न लागिएको यो पाँचौँ खेल हो ।
गुजरात र पञ्जाबबिचको खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । खेल नेपाली समय अनुसार, राति १७ः४५ बजे सुरु हुनेछ । नरेन्द्र मोदी स्टेडियम गुजरात टाइटन्सको घरेलु मैदान पनि हो ।
गुजरात टाइटन्सले हालसम्म एकपटक आईपीएलको उपाधि चुमेको छ । गुजरातले सन् २०२२ मा उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको थियो । उक्त खेल पनि यही स्टेडियममा खेलिएको थियो ।
पञ्जाब कङ्सले भने हालसम्म उपाधि जित्न सकेको छैन । सन् २०१४ मा पञ्जाब किङ्स फाइनलमा पुगेको थियो । तर, उपाधि भने जित्न सकेन । उक्त संस्करणको फाइनलमा कोलकाता नाइट राइडर्सले पञ्जाब किङ्सलाई तीन विकेटले हराएको थियो ।
गुजरात टाइटन्सले आफ्नो घरेलु मैदानमा हालसम्म १६ वटा खेल खेलेको छ । त्यसमध्ये नौ खेलमा गुजरात टाइटन्स विजयी भएको छ । घरेलु मैदानमा खेलिएको बाँकी सात खेलमा भने गुजरात पराजित भएको छ ।
- हेड टु हेडमा गुजरात अगाडि
आईपीएलमा हालसम्म गुजरात टाइटन्स र पञ्जाब किङ्सबिच कुल पाँच खेल खेलिएको छ । त्यसमध्ये तीन खेलमा गुजरातले पञ्जाब किङ्सलाई हराएको छ । बाँकी दुई खेलमा भने पञ्जाब किङ्सले गुजरातलाई पराजित गरेको छ । नरेन्द्र मोदी स्टेडियममा गुजरात टाइटन्स र पञ्जाब किङ्स दोस्रो पटक आपसमा भिड्न लागेका हुन् ।
- गुजरातको बलियो पक्ष ब्याटिङ
जारी आईपीएलमा गुजरात टाइटन्सको सबैभन्दा बलियो पक्ष भनेको सशक्त ब्याटिङ हो । अहिले गुजरातको ब्याटिङ निकै बलियो देखिन्छ । जारी सिजनका लागि गुजरातले जस बटलरलाई टोलीमा आबद्ध गरेको छ ।
बटलरको आगमनबाट टोलीको ओपनिङ सशक्त हुने विश्वसा गुजरातले लिएको छ । फिनिसिङका लागि शेरफन रदरफोर्ड, शाहरुख खान, राहुल तेबतिया, राशिद खान, ग्लेन फिलिप्सजस्ता प्रभावशाली खेलाडी टोलीमा छन् ।
- सन्तुलित टोली छ पञ्जाब
पञ्जाब किङ्समा पनि यो सिजन प्रभावशाली खेलाडीहरूको कमी छैन । पञ्जाब किङ्स सन्तुलित टोलीका रूपमा पनि देखिएको छ । पञ्जाबमा श्रेयष ऐयरजस्ता क्षमतावान् कप्तान छन् । उनी टोलीको मध्यक्रममा सधैँ उपयोगी सिद्ध हुँदै आएका छन् ।
फिनिसरका रूपमा नेहल बाधेरा, ग्लेन म्याक्सवेल, सशांक सिंह, मार्को यानशेन, सूर्यान्श शेडगेजस्ता प्रभावशाली खेलाडी छन् । अर्षदीप सिंह, युजवेन्द्र चहल, यश ठाकुर, हरप्रित ब्रार र मार्को यानसनका रूपमा प्रभावशाली बलरहरू पनि टोलीमा छन् ।
- ब्याट्सम्यानलाई साथ दिने पिच
गुजरात टाइटन्स र पञ्जाब किङ्सबिच खेल हुने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानहरूका लागि उपयोगी मानिन्छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रूपमा बढी रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल ३५ खेल खेलिएको छ । त्यसमध्ये १५ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जित हात पारेका छन् । बाँकी २० खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेको छ ।
यो स्टेडियममा हालसम्म बनेको सबैभन्दा ठुलो स्कोर तीन विकेट गुमाएर दुई सय ३३ रन हो । उक्त स्कोर सन् २०२३ को आईपीएलमा गुजरात टाइटन्सले मुम्बई ईन्डियन्सविरुद्ध बनाएको थियो । पिचको अवस्था र राति खस्ने शीतको अवस्थालाई हेर्दा टस जित्ने टोलीले पहिले बलिङ गर्ने सम्भावना छ ।
- छैन वर्षाको सम्भावना
पञ्जाब किङ्स र गुजरात टाइटन्सबिच खेल हुने दिन मंगलबार अहमादाबादमा वर्षाको कुनै सम्भावना छैन । दिनभर घाम लागेर चर्को गर्मी हुने त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मंगलबार अहमादाबादको तापक्रम २४ देखि ४१ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
- सम्भावित टोली
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), जस बटलर (विकेटकिपर), साई सुदर्शन, महिपाल लोमरोर, ग्लेन फिलिप्स, शाहरुख खान, राहुल तेवतिया, राशिद खान, साई किशोर वा ईशान्त शर्मा, कागिसो राबडा, मोहम्मद सिराज र प्रसिद्ध कृष्णा ।
पञ्जाब किङ्स : श्रेयष ऐयर (कप्तान), प्रभसिमरन सिंह (विकेटकिपर), जस इङ्लिस, सशांक सिंह, मार्कस स्टोइनिस, ग्लेन म्याक्सवेल, नेहल बाधेरा, सूर्यान्श शेडगे, मार्को यानसन, हरप्रित ब्रार, अर्शदीप सिंह र युजवेन्द्र चहल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबलमा जातीय दुर्व्यवहार उन्मुलन गर्न रोनाल्डोको नेतृत्वमा विशेष कार्यदल गठन
-
हसनको ‘वन अफ द मिलियन्स’को सकियो छायाङ्कन
-
अवरुद्ध सदन खुलाउन सभामुखले डाकेको छलफल निष्कर्षविहीन, संसद बैठक अनिश्चित
-
म्यानमारमा शक्तिशाली भूकम्प, भारत र थाइल्याण्डसम्म धक्का
-
एनआरएनए एकता महाधिवेशन मूल आयोजक समितिको सदस्य सचिवमा गौतम
-
बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ