बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

राष्ट्रिय परिचयपत्र नहुँदा रोकियो सामाजिक सुरक्षा भत्ता, वृद्धवृद्धालाई सास्ती

मङ्गलबार, १२ चैत २०८१, ०४ : ४३
मङ्गलबार, १२ चैत २०८१

मुगु । खत्याड गाउँपालिका–७ गम्था गाउँका ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउन नसकेको गुनासो गरेका छन् । उनान्सत्तरी वर्षीय खिम्ता घोडासैनी, ७० वर्षीया तुली सञ्ज्याल, ७७ वर्षीय पूर्णचन्द्र उपाध्याय र ६४ वर्षीया सौरा देवी घोडासैनीले राष्ट्रिय परिचयपत्र लिन समस्या भएकाले भत्ता पाउन मुस्किल भइरहेको बताए । 

स्थानीयका अनुसार बैंकमा भत्ता लिन जाँदा राष्ट्रिय परिचयपत्र आवश्यकपर्ने भनेपछि परिचयपत्र बनाउन दुई तीन दिन हिँडेर जिल्ला सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । जसले गर्दा धेरै ज्येष्ठ नागरिकले भत्ता पाउन सकेका छैनन् ।

स्थानीय सरकारले यस विषयमा चासो नदिँदा वृद्धवृद्धा थप समस्यामा परेका छन् । सम्बन्धित निकायले समाधानका लागि पहल गर्नुपर्ने ज्येष्ठ नागरिक बताउँछन् ।  खत्याडका खमाले गाउँका ७१ वर्षीय खाम्मा बुढाले राष्ट्रिय परिचय पत्र नहुँदा एक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बैंकबाट झिक्न नसकेको बताउँदै यसले दैनिक खर्च व्यवस्थापनमा समस्या हुँदै आएको सुर्नाए । 

बुढाले एक महिनामा दुई हजारका दरले सामाजिक सुरक्षा भत्ता पाउनेमा परिचयपत्र नहुँदा समस्या भएको बताए । उनका अनुसार वडा ५ मा मात्रै ३५ भन्दा बढी वृद्धवृद्धा र एकल महिलाले भत्ता पाउन सकेका छैनन् ।

खत्याड खमालेका ८४ वर्षीया चाउली बुढा पनि भत्ता नपाउनेमध्ये एक हुन् । उनले स्वास्थ्य प्रतिकूलका कारण राष्ट्रिय परिचयपत्र बनाउन दुई–तीन दिन हिँडेर गमगढी पुग्न नसकेको धारणा राखिन् ।

खत्याड–५ खमालेका अध्यक्ष चित्रबहादुर बुढाले राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा समस्या देखिएको बताए । उनले माछापुच्छ्रे बैंकले भत्ता दिन परिचयपत्र माग्ने गरेकाले वृद्धवृद्धाहरू समस्या झेल्न बाध्य हुनुभएको उल्लेख गरे ।  

उनका अनुसार वडाका १४५ भन्दाबढी वृद्धवृद्धा र एकल महिला सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता गराएका छन् । आवश्यक कागजात पूरा नहुँदा अधिकांशले भत्ता पाउन सकेका छैनन् । 

गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीहरूको समस्या समाधान गर्न आगामी दिनमा पालिकाको पायकपर्ने स्थानमा राष्ट्रिय परिचयपत्र वितरण शिविर राखिने प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप