शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

क्षयरोगका सङ्क्रमित बढ्दै, बागलुङमा हालै भेटिए १७९ जना रोगी

मङ्गलबार, १२ चैत २०८१, ०१ : १२
मङ्गलबार, १२ चैत २०८१

ढोरपाटन । हरेक वर्ष क्षयरोगका सङ्क्रमित बढ्दै गएका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले परीक्षणको दायरा बढाउँदै गएपछि सङ्क्रमितको सङ्ख्या पनि बढेको हो । 

दूरदराजका बस्तीमा क्षयरोगसम्बन्धी जनचेतनाको कमीका कारण सङ्क्रमण बढ्दै गएको प्रदेश जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक देवप्रकाश घिमिरेले बताए । जिल्लाभर चालु आर्थिक वर्षको आठ महिनामा १७९ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए । 

घिमिरेका अनुसार अघिल्लो वर्ष मात्रै ३१० जनामा सङ्क्रमण देखिएको थियो । क्षयरोगको ‘स्क्रिनिङ’ र ‘कन्ट्र्याकट्रेसिङ’ गर्न बाँकी रहेकाले क्षयरोगी अझै बढ्ने अनुमान गरिएको उनले बताए । 

सन् २०३५ भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको सरकारले खोजी अभियानलाई पनि तीव्रता दिइरहेको घिमिरेको भनाइ छ । अघिल्लो वर्ष बडिगाड गाउँपालिकामा सबैभन्दा बढी २२७ सङ्क्रमित भेटिएका बताउँदै यो वर्ष बडिगाडमा खोजी गर्न बाँकी रहेको जानकारी दिए ।  

उनका अनुसार गत वर्ष क्षयरोगका कारण जिल्लाका १० जनाले ज्यान गुमाएका छन् । यो वर्ष सबैभन्दा बढी ढोरपाटनमा ४३ सबैभन्दा कम तमानखोलामा तीन जना सङ्क्रमित भेटिएका जनाउँदै घिमिरेले पछिल्लो समय खोजपड्ताल पनि बढाइएको उल्लेख गरे । 

उनले भने, ‘क्षयरोग समयमा पत्ता लगाएर उपचार गरे निको हुन्छ, जिल्लामा जनचेतनाको अभावले सङ्क्रमण फैलँदो छ, बागलुङमा निको हुने दर ९० दशमलव चार प्रतिशत छ । उपचारसँगै नियमित औषधि सेवन गरेमा क्षयरोग निको हुन्छ’, निरीक्षक घिमिरेले भने, ‘हामीले यहाँका नागरिकलाई सचेत गराइरहेका छौँ, सम्भावित सङ्क्रमितमध्ये ६८ प्रतिशत मात्रै भेटिएकाले खोजपड्ताललाई तीव्रता दिएका छौँ । बागलुङमा देशभरको तुलनामा मृत्युदर कम छ ।’

सङ्क्रमण नियन्त्रणका लागि बढी सङ्क्रमित भएको ठाउँबाट खोजपड्ताल अभियानलाई तीव्रता दिइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले बताए । उनका अनुसार पहिलो चरणमा जिल्लाका गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकालाई क्षयरोगमुक्त बनाउने अभियान सञ्चालन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप