१२ बजे, १२ समाचार : तीन ठूला नेताको सहमति भएकै दिन विद्युत प्राधिकरणबाट कुलमान आउटदेखि मैनबत्ती बालेर रविद्वारा सांकेतिक विरोधसम्म

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. ओली, देउवा र प्रचण्डबिच सहमति
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आइतबार छलफल भएको छ । ती नेताका बिच भएको छलफलमा सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सर्च कमिटी गठन गर्ने सहमति भएको छ ।
२. सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे ।
. मैनबत्ती बालेर विरोध
रास्वपाका सभापति रवि लामिछाने ५ महिनापछि फेसबुकमा फर्किएका छन् । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णय भएपछि सोमबार राति फेसबुक लाइभमा आएर उनले साङ्केतिक विरोध गरेका हुन् ।
४. समाजवादी मोर्चा जुट्यो शक्ति प्रदर्शनको तयारीमा
विपक्षी कित्तामा रहेका चार दल सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । एक लाख मानिस उतार्नेगरी तयारी भइरहेको मोर्चा आवद्ध नेताको दाबी छ ।
५. संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा सकस
विभिन्न संवैधानिक आयोगका पदाधिकारी रिक्त छन् । कतिपय आयोगको नेतृत्व नै खाली भइसकेको छ । यस्तो अवस्थामा सरकारले नियुक्तिको प्रक्रियासमेत सुरु गर्न सकेको छैन ।
६. विवादित ‘इम्बोस्ट नम्बर प्लेट’ अनिवार्य गर्ने तयारी
गत वर्ष निकै विवादित भएपछि कार्यान्वयनबाट पछि हटेको सरकार फेरि ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्ने तयारीमा जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट बिउँताउने तयारी गरेको हो ।
७. गभर्नर सिफारिसका लागि समिति गठन
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
८. शिक्षा विधेयक कहिले आउला ?
संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । समितिले विधेयकमा सहमति जुटाउन भन्दै उपसमिति गठन गरेको छ । गत शुक्रबार बसेको समिति बैठकले एमाले सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
९. राष्ट्रपतिसँग प्रचण्डको भेट
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । सोमबार चितवनबाट काठमाडौँ फर्केलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
१०. पाँच वर्षअघिको ‘लकडाउन’ तस्बिरमा
कोभिड–१९ महामारीका क्रममा पाँच वर्ष अघि ‘लकडाउन’ सुरु भएको थियो । यस क्रममा विभिन्न प्रतिबन्ध लागेको थियो ।
११. लुम्बिनी प्रदेशमा कानुन निर्माणको अवस्था
लुम्बिनी प्रदेश सभाले ७ वर्षको अवधिमा ८४ वठा ऐन निर्माण गरिसकेको छ भने थप दुई ऐन प्रमाणीकरणको क्रममा छन् । प्रदेश सभाले कानुन निर्माणमा निर्वाह गरेको भूमिकासहितका विषयमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।
१२. दिल्लीले लखनउलाई १ विकेटले हरायो
निकै सनसनीपूर्ण खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गरेको छ । सोमबार भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पछ्यायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकको बिक्रीका लागि ट्रम्पले चीनमाथिको कर घटाउन सक्ने
-
यूएईमा नेपाल फेस्टिभल हुने
-
बलियो हैदराबादलाई उसैको मैदानमा चुनौती दिँदै लखनउ
-
ललितपुर महानगरपालिका वडा नं. १ मा निःशुल्क ३० दिने डिजिटल मार्केटिङ तालिम सुरु
-
‘डोरी’ले सेन्सरमा पायो ‘पिजी’, अग्रिम बुकिङ खुला
-
राजतन्त्रबारे भारत र चीनको पोजिसन के हो ?