बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा दिल्लीले १ विकेटले हरायो लखनउलाई

मङ्गलबार, १२ चैत २०८१, ०० : ००
मङ्गलबार, १२ चैत २०८१

विशाखापटनम । निकै सनसनीपूर्ण खेलमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा लखनउ सुपर जायन्ट्सलाई १ विकेटले पराजित गरेको छ । सोमबार भएको खेलमा लखनउले प्रस्तुत गरेको २ सय १० रनको लक्ष्य दिल्लीले ३ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पछ्यायो ।

398332

खेलमा दिल्लीको सुरुवात भने राम्रो हुन सकेन । टोलीले दोस्रो ओभरमा ७ रनमा ३ विकेट गुमाइसकेको थियो । तर, त्यसपछि पुनरागमन गर्दै टोलीले रोमाञ्चक जित हात पार्न सफल भयो ।

टोलीको जितमा आशुतोष शर्मा नायक बने । उनले नटआउट रहँदै ३१ बलमा ६६ रन जोडेर टोलीलाई जितसम्म डोर्‍याए । उनले ५ चौका र ५ छक्का प्रहार गरे ।

398341

त्यस्तै, विपराज निगमले १५ बलमा ३९ रन बनाए । उनले ५ चौका र २ छक्का हिर्काए । ट्रिस्टन स्टब्सले ३४ रन, फाफ डु प्लेसिसले २९ रन तथा कप्तान अक्षर पटेलले २२ रन जोडे ।

लखनउका लागि सरदुल ठाकुर, मनिमारन सिद्धार्थ, दिगवेश राठी र रवि विश्नोईले २–२ विकेट लिए ।

यसअघि, मिचेल मार्स र निकोलस पुरनले विस्फोटक ब्याटिङ गर्दै उत्कृष्ट सुरुवात दिलाए पनि नाटकीय पतनको सामना गर्दा लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो ।

निकै उत्कृष्ट सुरुवात गरेको लखनउले पहिलो विकेटका रुपमा ऐडन मारक्रमलाई गुमाएको थियो । पाँचौँ ओभरमा ४६ रनको स्थितिमा मारक्रम १३ बलमा १५ रन बनाउँदै विपराज निगमको शिकार बने ।

398328

त्यसपछि मार्स र पुरन मिलेर मात्र ४२ बलमा ८७ रन जोडे । मार्सले ३६ बलमा ७२ रन जोडे । उनले ६ चौका र समान छक्का प्रहार गरे । पुरनले ३० बलमा ७५ रन जोडे । उनले ६ चौका र ७ छक्का प्रहार गरे ।

मार्स र पुरन आउट भएपछि अन्य खेलाडीले खुलेर रन बनाउन सकेनन् । कप्तान ऋषभ पन्त शून्य रनमा पभेलियन फर्किए । डेभिड मिलरले १९ बलमा २७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कुनै बेला २ सय ५० रन आसपास पुग्ने देखिएको लखनउको इनिङ्स नाटकीय पतनपछि २ सय ९ रनमा सीमित बन्यो ।

398326

दिल्लीका लागि मिचेल स्टार्कले ४ ओभरमा ४२ रन खर्चेर ३ विकेट हात पारे । कुलदीप यादवले किफायती बलिङ गर्दै ४ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिए । विपराज निगम र मुकेश कुमारले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप