बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘टिका’ लगाएर फर्किए ‘नेता’

विपक्षीलाई मनोनयनको फारमसमेत नदिएर प्रतिस्पर्धाको ढोका नै बन्द गरिएको यथार्थले एमालेभित्रको निरङ्कुश चरित्र उजागर
सोमबार, ११ चैत २०८१, २२ : ५७
सोमबार, ११ चैत २०८१

विराटनगर । सत्तारुढ नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको दसौँ राष्ट्रिय महाधिवेशन विराटनगरमा सोमबार सकिएको छ । आइतबार उद्घाटन भएको अधिवेशनको बन्द सत्र सोमबार सकिएको हो ।

चौतारीले अधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । तर, निर्वाचनको माग गर्ने प्रतिनिधिहरूको भावना विपरीत नेताहरूको आदेशमा पाण्डेलाई अध्यक्ष बनाएको हो । निवर्तमान उपाध्यक्षसमेत रहेका राजेश राईले पनि प्रतिस्पर्धाबाट नेतृत्व गर्न पाउनु पर्ने माग गरेका थिए । प्रतिनिधिहरूले पनि नयाँ नेतृत्व चयन निर्वाचनको प्रक्रियाबाट टुङ्गो लगाउनु पर्ने माग गर्दै हस्ताक्षर अभियान नै चलाएका थिए ।

यो अधिवेशन सकिँदै गर्दा गम्भीर प्रश्न र सवालहरू पनि प्रेस चौतारीले छोडेर गएको छ । नेतृत्व चयनको प्रक्रियामा अनेक अलोकतान्त्रिक गतिविधि गरिए । कतिपय चौतारीकै प्रतिनिधिहरूले भनिरहेका छन्, ‘यो महाधिवेशन होइन, लोकतान्त्रिक मूल्य–मान्यताको हत्या हो ।’ 

एमालेले आफ्नै पार्टी भित्रको एउटा सङ्गठनको नेतृत्व चयनका लागि गरेको यो पञ्चायती र राणाकालीन शासनको जस्तो निरङ्कुश व्यवहार उसैको लागि भविष्यमा प्रत्युत्पादक बन्ने छ । पार्टीहरूले यही दिनका लागि सङ्घर्ष गरेका थिए ? विपक्षीलाई मनोनयनको फारम नै नदिने अलोकतान्त्रिक कार्य केवल निरङ्कुश राजतन्त्रमा मात्र देखिन्थ्यो । तर आज, ‘जनताको शासन’ को नारा लगाउने एमालेजस्ता दलहरूमा त्यही राजतन्त्रीय शैलीको पुनरावृत्ति भइरहेको छ । यो प्रवृत्ति केवल लज्जास्पद मात्र होइन, गणतन्त्रको आत्माविरुद्धको अपराध पनि हो ।

‘नेताले भनेको नाम घोषणा’ गर्नु नेपाली राजनीतिको वर्तमान विसङ्गतिलाई नाङ्गै बनाउनु हो । राजा र राणाले ‘यिनलाई नियुक्त गर’ भनेजस्तै आज पार्टी नेताहरूले आफ्ना नजिककालाई पदस्थापना गरे । आलोचनात्मक चेत बोकेकाहरूलाई पाखा लगाए ।

यो प्रेस चौतारीका प्रतिनिधिको नेतृत्व चयन गर्न पाउने अधिकारमाथि मजाक पनि हो । राजतन्त्र ढालेर गणतन्त्र स्थापना गर्ने नेताहरूको जिब्रोमा लोकतन्त्रको पवित्र शब्द छ, तर आचरणमा निरङ्कुशताको विष छरिएको छ ।

नेतृत्वको नाममा ‘टिका लगाएर’ फर्किनु लोकतन्त्र होइन । प्रतिनिधिहरू स्वतन्त्र चिन्तन र अभिव्यक्तिको अधिकारबाट वञ्चित भए । उनीहरूलाई मात्र आज्ञाकारी कठपुतली जस्तै बनाइयो । यो प्रवृत्तिलाई तुरुन्त रोक्नुपर्छ, नत्र यसले राजावादीहरूलाई सिधै बल पु¥याउँछ । जब जनताले देख्छन् कि गणतन्त्रवादी भनिएका दलहरू राजतन्त्रकै पद्धति अपनाउँदैछन्, तब उनीहरू सोच्न बाध्य हुन्छन् ‘नयाँ राजा र पुराना राजामा के फरक रह्यो ?’

दलहरू भित्रको लोकतान्त्रिक पद्धति जति कमजोर हुँदै जान्छ, नेपालको गणतान्त्रिक व्यवस्था त्यति नै खतरामा पर्दै जान्छ । लोकतन्त्रको उल्लङ्घन गर्ने यस्ता प्रवृत्तिले प्रतिगमनलाई टाउको उठाउने मौका दिन्छ । आज एमालेमा देखिएको निरङ्कुशता भोलि राजावादीहरूको पक्षमा जनमत निर्माण गर्ने औजार बन्न सक्छ ।

हामीले बुझ्नुपर्छ दलहरूभित्रको आन्तरिक लोकतन्त्र गणतन्त्रको मेरुदण्ड हो । पार्टीभित्र प्रजातान्त्रिक मूल्य र विधिको सम्मान गर्न नसक्नेहरूले मुलुकमा लोकतन्त्रको रक्षा गर्न सक्दैनन् । आजको ‘टिका प्रथा’ भोलिको तानाशाहीको पूर्वाभ्यास हो ।

राजनीतिक दलका नेताहरूले आफूलाई जनताप्रति जबाफदेही बनाउनुको साटो निरङ्कुश राजाहरूझैँ व्यवहार गरिरहेका छन् । यस्तो अवस्थामा हामी गणतन्त्रको दिगोपनाबारे गम्भीर प्रश्न उठाउन बाध्य छौँ । जनताको त्याग र बलिदानीबाट प्राप्त गणतन्त्रलाई यी दलहरूले आफ्नो सत्ता र स्वार्थको खेलौना बनाएका छन् ।

यो प्रवृत्ति तुरुन्त नरोकिए, नेपालको राजनीतिक भविष्य अन्धकारमय हुने निश्चित छ । नेपालको राजनीतिमा प्रजातन्त्रको नाममा बन्द कोठाभित्र रचिने निर्णयहरूको इतिहास लामो छ । तर, त्यही बन्द कोठाभित्र रचिएका षड्यन्त्रहरूलाई चिर्दै लोकतन्त्रको फूल फुलाउन लामबद्ध राजनीतिक नेताहरूले अहिले त्यस्तै षड्यन्त्र र छलछाम गर्नु आश्चर्यजनक र आपत्तिजनक छ । 

जनताको अधिकारको कुरा गर्ने दलहरूले आफ्नै सङ्गठनभित्र निर्वाचनको प्रक्रियालाई बेवास्ता गर्दा उनीहरूको दोहोरो चरित्र देखिन्छ । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओलीको नेतृत्व आएपछि सो पार्टीभित्र भएका यस्ता परिदृश्य र घटनाहरू नौलो होइनन् ।

भीम रावल, बिन्दा पाण्डे, उषाकिरण तिम्सिना लगायतलाई कारबाही गरेका घटनाले नै ओली प्रवृत्ति कति जब्बर र निरङ्कुश छ भन्ने देखाउँछ नै । तर, त्यही एमालेभित्र वाक स्वतन्त्रताको वकालत गर्ने पत्रकारहरू नै त्यसको सिकार बन्नु डरलाग्दो सङ्केत हो । यो मदन भण्डारीले प्रतिवादन गरेको जबजको सिद्धान्त विपरीत पनि हो । चौतारीले गरेको यसखालको गतिविधिले राजनीतिमा लोकतन्त्रको नाममा चल्ने खोक्रो नाटकलाई चित्रण गर्दछ ।

राजनीतिक दलहरूले आफ्नो सङ्गठनभित्र प्रजातान्त्रिक अभ्यास सुनिश्चित नगरेसम्म देशमा लोकतन्त्रको जग बलियो हुने छैन । नेतृत्वलाई चुनौती दिने, निर्णय प्रक्रियामा खुला बहस गर्ने र आलोचनात्मक चिन्तनलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गर्न नसकेसम्म नेपालको लोकतान्त्रिक यात्रा अधुरै रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप