१० बजे १० समाचार : ओली, देउवा र प्रचण्डबिच सहमति, सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई

आज २०८१ चैत ११ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा ओली, देउवा र प्रचण्डबिच सहमति, सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई, समाजवादी मोर्चा जुट्यो शक्ति प्रदर्शनको तयारीमा, संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा सकस, विवादित ‘इम्बोस्ट नम्बर प्लेट’ अनिवार्य गर्ने तयारी, गभर्नर सिफारिसका लागि समिति गठन लगायत छन् ।
१. ओली, देउवा र प्रचण्डबिच सहमति
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’बिच आइतबार छलफल भएको छ । ती नेताका बिच भएको छलफलमा सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन सर्च कमिटी गठन गर्ने सहमति भएको छ ।
२. सरकारले विद्युत् प्राधिकरणबाट हटायो कुलमानलाई
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे ।
३. समाजवादी मोर्चा जुट्यो शक्ति प्रदर्शनको तयारीमा
विपक्षी कित्तामा रहेका चार दल सम्मिलित समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । एक लाख मानिस उतार्नेगरी तयारी भइरहेको मोर्चा आवद्ध नेताको दाबी छ ।
४. संवैधानिक आयोगका पदाधिकारी नियुक्तिमा सकस
विभिन्न संवैधानिक आयोगका पदाधिकारी रिक्त छन् । कतिपय आयोगको नेतृत्व नै खाली भइसकेको छ । यस्तो अवस्थामा सरकारले नियुक्तिको प्रक्रियासमेत सुरु गर्न सकेको छैन ।
५. विवादित ‘इम्बोस्ट नम्बर प्लेट’ अनिवार्य गर्ने तयारी
गत वर्ष निकै विवादित भएपछि कार्यान्वयनबाट पछि हटेको सरकार फेरि ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य गर्ने तयारीमा जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट बिउँताउने तयारी गरेको हो ।
६. गभर्नर सिफारिसका लागि समिति गठन
नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय ‘सिफारिस समिति’ गठन भएको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको एक मन्त्रीले जानकारी दिए ।
७. शिक्षा विधेयक कहिले आउला ?
संसद्को शिक्षा समितिमा विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सुरु भएको छ । समितिले विधेयकमा सहमति जुटाउन भन्दै उपसमिति गठन गरेको छ । गत शुक्रबार बसेको समिति बैठकले एमाले सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो ।
८. राष्ट्रपतिसँग प्रचण्डको भेट
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् । सोमबार चितवनबाट काठमाडौँ फर्केलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् ।
९. पाँच वर्षअघिको ‘लकडाउन’ तस्बिरमा
कोभिड–१९ महामारीका क्रममा पाँच वर्ष अघि ‘लकडाउन’ सुरु भएको थियो । यस क्रममा विभिन्न प्रतिबन्ध लागेको थियो ।
१०. लुम्बिनी प्रदेशमा कानुन निर्माणको अवस्था
लुम्बिनी प्रदेश सभाले ७ वर्षको अवधिमा ८४ वठा ऐन निर्माण गरिसकेको छ भने थप दुई ऐन प्रमाणीकरणको क्रममा छन् । प्रदेश सभाले कानुन निर्माणमा निर्वाह गरेको भूमिकासहितका विषयमा रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।