तिघ्राको प्लास्टिक सर्जरी गराउँदा सर्जनले बिगारिदिए, ३ करोड १७ लाख क्षतिपूर्ति माग

काठमाडौँ । प्लास्टिक सर्जरी गर्दा शरीरको अंग झनै बिगारिदिएको भन्दै ग्रान्डी सिटी अस्पतालका प्लास्टिक सर्जनविरुद्ध उपभोक्ता अदालतमा मुदा दायर भएको छ ।
सुनसरी धरान घर भई काठमाडौँको धुम्बाराहीमा बस्दै आएकी वर्षा भण्डारीले सोमबार सर्जरी गर्ने क्रममा शरीरको अंग बिगारेको भन्दै ग्रान्डी सिटी अस्पताल प्लास्टिक सर्जन सञ्जीव त्रिपाठी र अस्पतालविरुद्ध ३ करोड १७ लाखको मागदाबी गर्दै मुद्दा दायर गरेकी हुन् ।
भण्डारीले आज दायर गरेको मुद्दामा प्लास्टिक सर्जरी गरी आफ्नो दुई जाँघ (तिघ्रा अगाडिको भाग) लाई आकर्षक र मिलेको आकार बनाउन अस्पताल गएकी थिइन् । सेवा लिन जाँदा उक्त अस्पतालका प्लास्टिक सर्जन त्रिपाठीले लापरबाही गरी दुई पटकसम्म सर्जरी गर्नुपर्ने अवस्थामा पु¥याएको र पछिलो सर्जरीले शरीरको अंग बिग्रन गएको भन्दै मुद्दा दायर गरेकी हुन् ।
पछिल्लो सर्जरी चिकित्कसकीय लापरबाही (मेडिकल नेग्लिजेन्स) भएकाले शरीरमा पर्न गएको नोक्सानीबापत उनले क्षतिपूर्ति मागदाबी गरेकी हुन् । उनले यो मुद्दाको अदालतमा प्रतिनिधित्व गर्न उपभोक्ता दुष्कृति कानुनका जानकार वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेलाई आफ्नो कानुन व्यवसायी नियुक्त गरेकी छन् ।
उनले अस्पताल लगायतको बिल भरपाईवापत नोक्सान क्षतिपूर्ति माग गरेकी छन् । उनले डा. त्रिपाठीसँग उपचार गराउँदा लागेको खर्च १० लाख रुपैयाँका साथै चिकित्सकको लापरबाहीबाट हुन गएको क्षतिको उपचारको खोजी गर्ने क्रममा कानुनी परामर्श, मनोपरामर्शलगायत सेवाको लागि अहिलेसम्म लागेको खर्च रकम ७ लाख रुपैयाँ मागदाबी गरेकी छन् ।
यसैगरी आय आर्जनबापत नोक्सानी क्षतिपूर्ति पनि माग गरेकी छन् । उनले विपक्षी डाक्टर त्रिपाठीसँग सर्जरी गर्ने कुरा भई उपचारका लागि सन २०२३ मा अस्ट्रेलियाबाट आएको र राम्रो आय आर्जन हुने गरेको कामसमेत छोड्नु परेको साथै अनिश्चित भविष्यसम्म पनि काममा फर्कन सक्ने अवस्था आएको भन्दै एक करोड ५० लाख रुपैयाँ मागदाबी गरेकी छन् ।
साथै गुमाउनु परेको शरीरको बनोट सुधार गर्ने उपचारको लागि न्युनतम उपचार खर्च ७५ लाख रुपैयाँ माग गरेकी छन् ।
साथै गैरआर्थिक क्षति वापत चिकित्सकको हेलचेक्र्याइँ तथा लापरबाहीको कारणले व्यहोर्नुपरेको मानसिक शारीरिक पीडाको क्षति न्यूनतम ७५ लाख गरी कुल ३ करोड १७ लाख रुपैयाँ मागदाबी गरेकी छन् ।
ग्रान्डी अस्पतालले डाक्टरलाई प्लास्टिक सर्जन विज्ञका रूपमा व्यवसायमा लगाउनेदेखि उपचारका क्रममा लापरवाही र हेल्च्क्रयाइँ गरेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने उनले माग गरेकी छन् ।
साथै सर्जनको इजाजत पत्रसमेत खारेजी गर्न माग गरेकी छन् ।
‘विपक्षी प्रतिवादी डाक्टर संजिव त्रिपाठीले मेरो उपचारमा गम्भीर लापरवाही/ हेलचेक्राई गरी मेरो शरीरको अंग कुरुप परी अंगभंग हुने गरी उपचार गरेको हुँदा निजलाई मुलुकी अपराधसंहिता २०७४ को दफा २३२ को उपदफा (२) बमोजिम हदैसम्मको सजाय र जरिवाना गरि निजको इजाजत पत्र खारेजीको सिफारिस समेत गरि पाउँ’ उजुरी पत्रमा लेखेकी छन् ।
२८ वर्षीया भण्डारी १० वर्षदेखि अध्यनसँगै अस्ट्रेलिया बस्दै आएकी थिइन् । अस्ट्रेलियामा मोडेलिङका रूपमा पनि उनी काम गर्थिन् । भविष्यमा सुन्दरी प्रतियोगितामा भाग लिने तयारीमा उनी थिइन् ।
नेपाल मोडेलिङको अवसरको प्रस्ताव समेत प्राप्त भएकाले उनले करियरमा मोडेल बन्ने अठोट गरेकी थिइन् । साथै आफूलाई थप आकर्षक बनाउन दुवै तिघ्राको आकार मिलाउन मन भएकाले सुलभ र भरपर्दो उपचारको खोजीमा थिइन् । अन्य देशभन्दा नेपालमा नै आएर लिपोक्सन पद्धतिबाट उपचार गर्ने सोच थियो उनको । कम खर्चिलो र नेपालबाट मोडलिङको र फोटो सुटको अफर समेत आएकाले सन् २०२३ को अन्त्यमा नेपाल आएकी थिइन् । नेपाल आएपछि लिपोसक्स गर्ने दक्ष र भरपर्दो सेवाका लागि डाक्टरसँग परामर्शको खोजी गर्ने क्रममा उनले अस्पतालका वेबसाइट र विपक्षी डा. त्रिपाठीको सामाजिक सञ्जालमा सम्पर्क गरेकी थिइन्।
सञ्जीव त्रिपाठीको व्यावसायिक दक्षताबारे उनले अस्पतालले राखेको विज्ञापनबाट थाहा पाएकी थिइन् । आफूले उपचार गरेका बिरामीको तस्बिर र भिडियोसहित त्रिपाठीले राखेकाले उहाँबाट आफू प्रभावित भएको उनको भनाइ छ।
उक्त भेटमा डा. त्रिपाठीले आफूले ३ हजार जनाभन्दा बढीको सर्जरी गरेको अनुभव सुनाएका र ८ वर्षको अनुभव भएको दाबी गरेका बताएका उनी सुनाउँछिन् ।
२०२४ फेब्रुअरीमा १६ मा अपरेसन गर्ने निर्णय हुनुअघि आफूलाई डा. त्रिपाठीले दुई पटक अपरेसन हुन्छ भन्नेबारे नबताएका उनी दाबी गर्छिन् । तय भएकै मितिमा अप्रेशन भयो । ४ लिटर बोसो झिकेका डाक्टरले बताएका थिए । ३.५ देखि ४ घण्टा समय लाग्ने भनिएकोमा अप्रेशन गर्न ७ घण्टा समय लागेको उनी बताउँछिन् ।
उनलाई अपरेसनको भोलिपल्ट डिस्चार्ज गरियो । तर फलोअपका लागि २०२४ फेबुअरी १९ मा जाँदा डाक्टरले धेरै बोसो निकालेको जस्तो देखियो । ‘मेरा दुवै जाँघहरूको आकार एकै प्रकारका छैनन्, मेरो देब्रे जाँघ दाइनेभन्दा ठूलो छ, किन होला भनी प्रश्न गरेको थिएँ,' उनको पत्रमा छ, 'उहाँले सुन्निएकाले निको हुन ३ देखि ४ महिना लाग्दछ र छाला पूरै नर्मल अवस्थामा आउन ६ देखि ८ महिना लाग्दछ भन्नु भयो,’ उजुरी पत्रमा उल्लेख गरेकी छन।
र औषधि सेवन गर्न दिइएको र नियमित मसाज गर्न पनि भनिएको उनले बताइन् । 'मैले निज डाक्टरको सुझावअनुसार नै सबै काम गर्दै आएको थिएँ । तर अपरेसन भएको ३ महिनासम्म मेरो लुज भएको छाला पुनः आफ्नो आकारमा आएन,’ उनले लेखेकी छन् ।
उनको दाहिने तिघ्रामा धेरै खत, फाइब्रोसिस, गाँठाहरू, बोसो थैली झुण्डिएको देखिएको छ। यसबारे डाक्टरलाई भिडियो र फोटो पठाएर शरीरमा समस्या भएको उनले बताइन् । ‘उहाँले छिटै निको हुन्छ भन्नुभयो । यसो गर्दा गर्दै सात महिना बितिसक्दा समेत मेरो समस्याको समाधान हुन सकेन,’ उनले लेखेकी छन् ।
यसपछि २०२४ सेप्टेम्बर २५ मा उनले दोस्रो अपरेसन गरिन् । उनै त्रिपाठीले अपरेसन गर्दा अन्य ३ जना डाक्टरबाट पनि थिए । ती डाक्टर को हुन्, के विषयका हुन् सर्जरीका हुन उनलाई केही थाहा छैन । यसबारे उनलाई सूचना पनि गराइएन । बारम्बार ताकेता गर्दा मात्र डा. सुरेन्द्र जंग बस्नेत र डा. कृष्ण कुमार नगरकोटी रहेको उनले जानकारी पाइन् ।
यसरी शल्यक्रिया गरेर शरीर बिग्रिँदा ती महिनापछि 'चिन्ता नगर्नुस् आफैँ सेपमा आउँछ' भन्ने गरेको उनले बताइन् । अप्रेसनपछि २०२४ को अक्टोबर ५ मा घाउको टाँका आफैं खुल्यो । त्यसपछि उनले डाक्टरलाई उक्त कुराको जानकारी गराउँदा ड्रेसिङ गर्दै जाँदा घाउ ठिक हुने बताएका थिए ।
त्यसपछि उनी डाक्टर त्रिपाठीलाई भेट्न गइन् । त्रिपाठीले केही टाँका खोलिदिए । त्यसको दुई दिनपछि टाँका नखोलेका घाउहरू उध्रेर ठुलो भयो । त्यस घाउमा डाक्टरले पुनः टाँका लगाइदिए । पुन टाँका लगाएको केही दिनपछि फेरि त्यो घाउ खुल्यो । डा. त्रिपाठीले औषधि लगाउदै गर्नु आफै निको हुन्छ भनेर घाउको टाँका खोलिदिए । पछि वरिपरि सेतो दागजस्तो देखिएको उनी बताउँछिन् ।
डाक्टरको उक्त लापरबाहीले उनको देब्रे तिघ्रा दाहिनेभन्दा ठुलो बनेको छ । यो कुरा उनले नोभेम्बरको अन्त्यतिर मात्र थाहा पाइन् । थप उपचारका लागि उनले थुप्रै परामर्श लिनुपरेको बताउँछिन् । साथै विदेशमा उपचारका लागि ७ हजार ७०० अमेरिकी डलर खर्च लाग्ने भएको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल
-
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ निर्वाचित