बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तनहुँमा भेटिए एक सय ७९ क्षयरोगी, १५ जनाको मृत्यु

सोमबार, ११ चैत २०८१, २० : १०
सोमबार, ११ चैत २०८१

दमौली ।  जिल्लामा चालु आर्थिक वर्षमा १७९ जना क्षयरोगका बिरामी भेटिएका छन् । चालु आर्थिक वर्षको आठ महिनामा दश वटै स्थानीय तहमा एक सय ७९ क्षयरोगका बिरामी भेटिएका हुन् । 

प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका ल्याव टेक्निसियन दीपक श्रेष्ठका अनुसार आँबुखैरेनी गाउँपालिकामा २०, बन्दीपुर गाउँपालिकामा १९, भानु नगरपालिकामा ११, भिमाद नगरपालिकामा छ, व्यास नगरपालिकामा ५३, देवघाट गाउँपालिकामा १५, घिरिङ गाउँपालिकामा १४, ऋषिङ गाउँपालिकामा सात, म्याग्दे गाउँपालिकामा ११ र शुक्लागण्डकी नगरपालिकामा २३ जनामा क्षयरोग पुष्टि भएको छ । त्यसमध्ये छ जना बालबालिका छन् भने तीन जना एचआइभी सङ्क्रमित छन् । 

त्यसैगरी जिल्लामा क्षयरोगबाट १५ जनाको मृत्यु भएको छ । साउन महिनादेखि फागुन मसान्तसम्ममा क्षयरोगबाट १५ जनाको मृत्यु भएको उनले जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा क्षयरोगबाट जिल्लामा १४ जनाको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्षमा जिल्लामा दुई सय ८६ क्षयरोगका बिरामी भेटिएका थिए । जिल्लास्थित एक सय ११ स्वास्थ्य संस्थाबाट क्षयरोगीको उपचार भइरहेको श्रेष्ठले जानकारी दिनुभयो । त्सैयगरी १४ स्वास्थ्य संस्थामार्फत क्षयरोग पहिचानका लागि खकार परीक्षणको व्यवस्था मिलाइएको छ । 

प्रदेश जनस्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको बताए । ‘उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ,’ उनले भने, ‘सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।’

कर्णालीमा पनि बढे क्षयरोगी 

त्यसैगरी कर्णालीमा पनि क्षयरोगीको सङ्ख्या वृद्धि भएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका १० जिल्लामा आठ सय ९९ नयाँ क्षयरोगका बिरामी थपिएका हुन् ।

अघिल्लो आर्थिक वर्षमा प्रदेशभर एक हजार सात सय १४ जनामा क्षयरोगको सङ्क्रमण देखिएको थियो । चालु आवको आठ महिनामा मात्रै आठ सय ९९ बिरामी थपिएका हुन् । साउनदेखि फागुनसम्ममा सबैभन्दा धेरै सुर्खेत जिल्लामा तीन सय १२ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । 

सल्यानमा एक सय ७६, रुकुमपश्चिममा एक सय पाँच, दैलेखमा ८७, जाजरकोटमा ७०, कालिकोटमा ५२, जुम्लामा ४३, डोल्पामा २३, मुगुमा २१ र सबैभन्दा कम हुम्लामा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयका क्षयकुष्ठ फोकलपर्सन तथा सूचना अधिकारी पदम केसीले जानकारी दिए । उनले अझै क्षयरोगीहरु उपचार बाहिर रहनु चुनौतीपूर्ण रहेको बताए । 

यसैबीच आज विश्व क्षयरोग दिवसको अवसर पारेर प्रभातफेरि र कोणसभा गरिएको छ । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले उपचार बाहिर रहेका क्षयरोगका बिरामीलाई उपचारमा ल्याइ सन् २०५० भित्र नेपाललाई क्षयरोग मुक्त बनाउने अभियानलाई सघाउन आग्रह गरे । उनले बस्ती बस्तीमा क्षयरोगका बिरामी रहेकोले खोजी कार्यलाई तीव्रता दिन सुझाव दिए । 

स्वास्थ्य सेवा निर्देशक डा रविन खड्काले प्रदेशमा क्षयरोगका बिरामीलाई उपचारमा ल्याउने काम भइरहेको जानकारी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप