किन होइनन् उज्यालोका नायक कुलमान ?

ऊर्जामन्त्री दीपक खड्काले उज्यालोका नायक भनेर चिनिएका नेपाल विद्युत् प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङका विपक्षमा आक्रोशहरू अभिव्यक्त गर्दै हिँडेका छन् । कुलमान उज्यालोका नायक होइनन्, बरु भारत हुन सक्छ भन्ने समेत उनको स्पष्टीकरण सुनिन्छ । उनको स्पष्टीकरणमा कतै सहमति हुने ठाउँ छैन ।
मन्त्रालयले आफ्नो निकायका कर्मचारीलाई उचित कारण भए कारबाही गरी हटाउने, नभए खुरुखुरु काम गर्न दिने हो तर कुलमानको हकमा पटकपटक स्पष्टीकरण सोध्दै मानसिक तनाव दिएर नौटंकी मच्चाइरहेको देखिन्छ । देशको विकास गर्छु भनेर मन्त्रालय सम्हालेको मन्त्रीले सधैँभरि एउटा कर्मचारीका पछि लागेर अत्यन्तै लाजमर्दाे काम गरिरहेको देखिन्छ । यस्तो लज्जित काम गर्दा पनि सम्बन्धित दल कांग्रेस र प्रधानमन्त्री भने चुप रहेर साक्षी बनिरहेका देखिन्छन् । करिब आठ वर्षदेखि नेपाली जनताले कुलमानलाई दिएको त्यो उपाधि वा विशेषण खोस्न सकिन्छ कि भनेर कार्यभार सम्हालेको दिनदेखि नै मन्त्रीले न्वारानदेखिको बल लगाएका छन् । कुनै व्यक्ति, मन्त्री र सरकारलाई मन परेन वा स्वार्थ मिलेन भन्दैमा तीन करोड नेपालीका मन–मुटुमा बसेका र जनताले उज्यालोको नायक बनाएका कुलमानको उपाधि वा विशेषण खोस्छु भनेर सजिलै खोसिँदैन । यो उपाधि भनेको कुनै भौतिक वस्तु वा पदक नभएर उनको व्यक्तित्व र कृतित्वको मूल्यांकन गर्दै आम नेपाली जनताले दिएको मायाको उपाधि हो । जनताले कुलमानलाई विश्वास, भरोसा र माया गरी दिएको अत्यन्तै मूल्यवान् उपाधि हो यो । यस्ता उपाधिलाई कसैले जबर्जस्त खोस्न खोज्नु वा होइन भन्दै हिँड्नु मूर्खताबाहेक केही हुन सक्दैन ।
मन्त्री खड्काले आफ्नो पद र शक्तिले जबर्जस्त कुलमानलाई बिनाकारण हटाए पनि नेपाली जनताले मन–मुटुबाट कुलमानलाई हटाउनै सक्दैनन् । मन्त्री खड्काले कुलमानलाई हटाए भने उनको व्यक्तिगत र राजनीतिक जीवनमा अर्काे एउटा ठुलो कालो दाग लाग्ने निश्चित छ । यद्यपि यहाँ मैले कुलमान भगवान् वा अद्वितीय व्यक्ति नै हुन् र उनले आफ्नो कार्यकालमा सबै राम्रो गरेका छन् भनी निरपेक्ष रूपमा गुणगान वा प्रशंसा गर्न खोजेको होइन । तर आठवर्षदेखि लगातार नेपाललाई उज्यालो बनाउन गरेको उनको मिहिनेत, प्रयत्न र योगदानलाई कदर गर्नै पर्छ; मन्त्रीले जस्तै आँखा चिम्लिएर ‘होइनन्’ भन्न सकिँदैन ।
देशको विकास गर्छु भनेर मन्त्रालय सम्हालेका मन्त्रीले सधैँभरि एउटा कर्मचारीको पछि लागेर अत्यन्तै लाजमर्दाे काम गरिरहेको देखिन्छ । यस्तो लज्जित काम गर्दा पनि सम्बन्धित दल कांग्रेस र प्रधानमन्त्री भने चुप रहेर साक्षी बनिरहेका देखिन्छन् ।
नेपाली जनताले कुलमान घिसिङलाई मात्र नभएर अन्य थुप्रै व्यक्तित्वलाई समय–समयमा विभिन्न उपाधिबाट विभूषित गरेका छन् — राष्ट्रनिर्माता पृथ्वीनारायण शाह, प्रजातन्त्र पिता त्रिभुवन, आदिकवि भानुभक्त आचार्य, महाकवि लक्ष्मीप्रसाद देवकोटा, जननायक बीपी कोइराला, लौहपुरुष गणेशमानसिंह श्रेष्ठ, जननेता मदन भण्डारी, महानायक राजेश हमाल आदि ।
नेपाली जनताले २०७२/०७३ पहिले १८ घन्टासम्म लोडसेडिङ भोगेको बिर्सेका छैनन् । जब कार्यकारी निर्देशकमा कुलमानको नियुक्त हुन्छ, त्यसपछि उनकै नेतृत्वमा देशलाई लोडसेडिङ मुक्त गरिएको थियोे र नेपाली जनताले उनलाई उज्यालोको नायक र बिजुलीका पर्याय भनेर हौसला र सम्मानपूर्वक उपाधि दिएका थिए । नेपाली जनताको अन्तर्मन र मुटुमा कुलमान बसिसकेका छन् । आज नेपालको सन्दर्भमा कुनै सरकारी निकाय वा संस्थामा कुनै नेतृत्वले चाह्यो भने कसरी जादुगरी उपलब्धि हासिल गर्न सक्छ भनेर कुलमान दृष्टान्त बनेका छन् ।
नेपालका प्रायः सबै सरकारी निकाय र संस्थानहरू अविश्वसनीय र धराशायी बनेको अवस्थामा विद्युत् प्राधिकरण भने बलियो र विश्वसनीय हुँदै जानुमा कुलमानकै नेतृत्वको कारण हो भन्नलाई हिच्किचाउनुपर्ने अवस्था छैन ।
कुलमान कुनै ‘स्टन्ट’ र भिडबाट नभई काम गरेर उज्यालोका नायक बनेका हुन् । उनको अब्बल व्यवस्थापकीय क्षमता र दूरदृष्टिकै कारण आज नेपाल विद्युत् प्राधिकरणले यति ठुलो सफलता हासिल गरेको देखिन्छ । अहिले पनि नेपालका प्रायःजसो संस्थानहरू उठ्न नसकिने गरी थला परिरहेका छन् । काम गर्न चाह्यो भने असम्भव हुँदैन र सकिन्छ भनेर कुलमान उदाहरणीय बनेका छन् । नेपालमा आजभन्दा आठ वर्षपहिले बिजुलीको अवस्था कस्तो थियोे र अहिले कस्तो छ, तथ्यमै स्पष्ट छ । कुनै मन्त्रीलाई डाह लागेर, रिस उठेर र आफ्नो स्वार्थ पूरा हुन सकेन भन्दैमा तथ्यांक मेटाउन सकिँदैन ।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणमा नियुक्त हुनुअघि विद्युत् उत्पादन बर्खामा ८ सय मेघावाट र हिउँदमा जम्मा ३ सय मेघावाट रहेकोे थियोे । अहिले बर्खामा ३५ सय मेघावाट र हिउँदमा १७ सय मेघावाट उत्पादन भइरहेको छ । कुलमान आउनुपूर्व नेपालमा विद्युतीकरण ५८ प्रतिशत थियोे र अहिले करिब ९९ प्रतिशतमा पुगेको छ । त्यस्तै, आठ वर्षपहिले २९ लाख ७० हजार ग्राहक रहेकामा अहिले ५९ लाख ३५ हजार ग्राहक पुगेका छन् । कुलमान आउनुअघि ३ अर्ब ७२ करोड युनिट खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । त्यतिबेला प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिट हुने गरेकामा अहिले ४०० युनिट पुगेको देखिन्छ । आठ वर्षपहिले ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ । अहिले प्राधिकरणको वार्षिक आम्दानी १ खर्ब १६ अर्ब र सम्पत्ति ७ खर्ब रुपैयाँभन्दा बढी रहेको बताइन्छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिकित्ता ३ सय रुपैयाँका दरले सार्वजनिक रूपमा सेयर जारी गर्न लागेको पनि सुनिन्छ ।
प्राधिकरणले करिब ५९ लाख ग्राहकमध्ये करिब २२ लाख ग्राहकलाई न्यूनतम शुल्क ३० रुपैयाँ कायम गरी ऊर्जा निःशुल्क गरिएको छ । कुलमानले आफ्नो आठ वर्षको कार्यकालमा यीबाहेक थुप्रै उपलब्धि विद्युत् प्राधिकरणमा हासिल गरेका देखिन्छन् । वास्तवमा आठ वर्षको समयावधिमा नेपाल विद्युत् प्राधिकरणको यो उपलब्धि भनेको एउटा ऐतिहासिक छलाङ नै हो ।
वर्तमान ऊर्जामन्त्री खड्का केपी ओलीको सरकारको सबैभन्दा विवादित र भ्रष्ट मन्त्री भनेर आरोपित भएका छन् । उनले मन्त्रालयको जिम्मेवारी सम्हालेको दिनदेखि जसरी हुन्छ कुलमानलाई हटाउन अनेक प्रयत्न गरेका छन् । मानौँ कि मन्त्री र मन्त्रालयको प्रमुख काम भनेकै कुलमानलाई नै हटाउनु हो । नेपालकै इतिहासमा एउटा सिङ्गो मन्त्रालयले त्यही मन्त्रालय अन्तर्गत रहेको सहसचिव स्तरको कर्मचारीलाई विनाकारण हटाउन यति धेरै षड्यन्त्र गरेको सायद यो पहिलो घटना नै हो । यसरी विनाकारण जबर्जस्त कार्यकारीलाई हटाउन खोज्नुमा पक्कै पनि ठुलै स्वार्थ लुकेको स्पष्ट देखिन्छ ।
देशको समग्र अवस्था नै अन्धकार भएको अवस्थामा एउटा धिपधिपे बत्ती बनिरहेका कुलमानलाई हटाउन यति धेरै मरिहत्ते गरिनुमा विद्युत् प्राधिकरणमा दलाल र बिचौलियाको प्रवेश गराउन खोज्नु नै हो भन्ने कुरा जति लुकाउन खोजे पनि लुक्दैन । नेपालको विद्युत् उत्पादनमा सन्दर्भमा झोलामा खोला र लाइसेन्स प्राप्त गर्न करोडौँका चलखेल हुन्छन् भन्ने कुरा नौला होइनन् । स्वयं मन्त्री नै पनि जल विद्युत् आयोजनाका प्रवद्र्धक हुन् । उनी जलविद्युत्भित्र कसरी भ्रष्टाचार र लाभ प्राप्त गर्न सकिन्छ भन्ने कुरामा पक्कै पनि अनभिज्ञ छैनन् । उनले विद्युत् प्राधिकरणमा हस्तक्षेप गरी आफ्नो व्यापारिक र व्यावसायिक पहुँच कायम गर्न प्राधिकरणभित्रै आफ्नो कार्यालय स्थापना समेत गरेका छन् । यस्ता तुच्छ र घृणित क्रियाकलापबाट स्पष्ट हुन्छ कि मन्त्री दीपक खड्का नेपाली जनताका पक्षमा होइन आफ्नो व्यक्तिगत स्वार्थका लागि मात्र मन्त्री बनिरहेका छन् । उनले सडकदेखि सदनसम्म कुलमानका विपक्षमा जति बोले पनि कसैले विश्वास गर्ने अवस्था छैन । अब त कस्तो देखिँदै छ भने उनी जति दिन मन्त्रालयमा बस्छन् त्यति दिन मन्त्रालय झन्पछि झन् खस्कँदो अवस्थामा पुग्ने देखिन्छ ।
देशको मूल नीति भनेको राजनीति हो । राजनीति भनेको नितान्त समाज सेवा हो । राजनीति गर्न भनेर आएको जननिर्वाचित प्रतिनिधि नै मन्त्रालयभित्र पसेर नाङ्गो ताण्डव नृत्य प्रस्तुत गर्छ भने देशको समृद्धि कसरी हुन्छ ? नेपालको राजनीति पूरै व्यापार र व्यवसायमा केन्द्रित छ । राजनीतिक नेतृत्व बदनाम हुँदै गएको पनि छ । यसमा अबको विकल्प भनेको ‘नो नट अगेन’ नै हो । अहिलेको अक्षम र अयोग्य नेतृत्व र यिनका चाटुकारहरूले राज्यका सम्पूर्ण संरचना ध्वस्त पारिरहेका छन् । आजको राजनीतिमा इमानदारिता, मूल्य–मान्यता, आदर्श, सिद्धान्त र विचार भन्ने नै छँदै छैन । किन मन्त्री बन्ने भन्दा लुट्न र कमाउन भन्ने कुराले कहिल्यै देश बन्छ ? अहिले नेपालको राजनीति दलाल र बिचौलियाको हातमा पुगेकै कारण कुनै स्वच्छ कर्मचारीले इमानदारीपूर्वक काम गर्ने अवस्था छैन ।
वर्षाैंदेखि प्रधानमन्त्रीदेखि मन्त्रीहरू बिचौलियाबाट परिचालित भएकै कारण देशका सम्पूर्ण सूचकांकहरू निकै दयनीय हुँदै गएका छन् । सम्पूर्ण राज्य संरचना नै निश्चित व्यक्तिको चंगुलमा फसेको छ । देशको प्रधानमन्त्री वर्षभरि बकम्फुसे कुरा गरेर एउटा मेयरसित अनि मन्त्री एउटा कर्मचारीसित लडिरहने प्रवृत्तिले देशको समृद्धि सम्भव हुन्छ र ? आज नेपाली जनताको निराशा र आक्रोश यति तीव्र रूपमा बढिरहेको छ कि कुनै दिन बङ्गलादेशको जस्तो अवस्था नआउला भन्न सकिन्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठाकुरराम क्याम्पसको रोकिएको मतगणना सुरु, भोलिसम्ममा गणना सकिने
-
पाँचौँ खेलमा पनि न्युजिल्यान्डसामू निरीह बन्यो पाकिस्तान, पहिलो शतक पूरा गर्नबाट तीन रनले चुके टिम सिफर्ट
-
भूमिसम्बन्धी अध्यादेशमा सरकारको ‘फेस सेभिङ’ : निष्क्रिय हुन दिने पनि सहमति !
-
अब जे गर्ने हो काठमाडौँमै गर्ने होः राप्रपा महामन्त्री राणा
-
प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ दिए सदन चल्छ, नत्र चल्दैन : प्रचण्ड
-
ओलीबारे प्रचण्डको टिप्पणी– फेरि एक पटक स्वर्ग र नर्क सम्झायो