बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माओको ‘लङ–मार्च’को झल्को दिने प्रचण्डको तराई–मधेश जागरण अभियान

सोमबार, ११ चैत २०८१, १८ : २६
सोमबार, ११ चैत २०८१

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल यतिबेला ‘प्रचण्ड’ गएको वैशाखदेखि हुलाकी राजमार्गको लामो यात्रामा छन् । ‘जनतासँग माओवादी ः तराई–मधेश जागरण अभियान’का नाममा हुलाकी राजमार्ग केन्द्रित यो यात्रामा प्रचण्डसहित माओवादीका पदाधिकारी पनि छन् ।  

बेला–बेला स्थगित हुँदै र सुरु हुँदै अगाडि बढिरहेको यस यात्रामा जनयुद्धकालीन झल्को दिने गरी प्रचण्ड जनताका घरदैलोमा बास बसिरहेका छन् । जहाँ बास बस्छन् त्यहाँ ‘मर्निङ वाक’मा निस्कँदै जनताको गुनासो सुन्ने प्रचण्डको लत गजबको देखिन्छ । यस्तै सहिद परिवार, घाइते, बेपत्ता परिवार र कुनै अन्यायमा परेका सर्वसाधारणलाई भेट्ने प्रचण्डको यो शैली सराहनीय छ । 

जनताकै घरमा वास बस्दै बिहान–बेलुका जे पाक्छ, त्यही खाँदै अगाडि बढिरहेको प्रचण्डको यस अभियानले जनता र माओवादीको सम्बन्ध सुमधुर मात्र बनाएको छैन, प्रचण्डलाई जनताको नेताको रूपमा थप स्थापित गरेको छ । हामीकहाँ सहरका रिसोर्ट र होटलमा बसेर दलका नेताले राजनीतिक प्रतिवेदन लेख्ने प्रचलन छ, अबका दिनमा प्रचण्डले कस्तो प्रतिवेदन लेख्ने हुन् त्यो भने हेर्न बाँकी छ ।cover 1

हिजो जनयुद्धकालमा प्रचण्डले जनताकै घरदैलोमा बसेर देशमा गणतन्त्र ल्याउने जग बसालेका थिए । आज माओवादी गाउँगाउँमा पुग्नुलाई प्रचण्डले समाजवादी क्रान्तिको यात्रा शुभारम्भ भएको बताएका छन् । 

जनयुद्धकै क्रममा दुःख पाएका, सहिद, बेपत्ता परिवारलाई प्रचण्डले पार्टीमा भावनाको डोरीले जसरी बाँधिरहेका छन्, त्यसले पार्टी र जनतामा पनि ऊर्जा भरिदिएको छ । मार्क्सवाद, लेनिनवाद, माओवाद र प्रचण्डपथको एजेन्डा घोकेर जनयुद्धबाट खारिएका कार्यकर्ताको साथ प्रचण्डलाई अहिले पनि छ । २०६४ देखि माओवादी पार्टीमा जुन टुटफुटको शृंखला सुरु भयो, त्यसले नेता तथा कार्यकर्तालाई विभाजित पनि गरेको थियो, उनीहरूलाई एक ढिक्का हुने अवसर यो हुलाकी राजमार्गको यात्राले दिएको छ । यता माओवादीबाट फुटेका पार्टीहरू पनि एकतामा आउन खोजिरहेका छन् । त्यो माओवादी आन्दोलनका लागि झनै सुन्दर पक्ष हो ।

मधेशबाट समाजवादी यात्रा सुरु गरेको प्रचण्डको उद्घोषले गणतन्त्रको विरोध गर्नेहरू र संघीयता, धर्म निरपेक्षता खारेज गरी राजसंस्था पुनस्र्थापनाको नारा लगाउनेहरू भित्री रूपमा स्तब्ध छन् ।


२०६४ यता माओवादीले गाउँ बिस्र्यो, प्रचण्ड अबका दिनमा गाउँ जान सक्दैनन् भनेर प्रचार–प्रसार हुन्थ्यो । प्रचण्डको जारी अभियानले अहिले त्यसलाई तोडेको छ । अभियानमा दैनिक रूपमा विभिन्न पार्टी परित्याग गरी माओवादीमा प्रवेश गर्नेहरूको संख्या ठुलो छ । मधेसमा मात्र होइन, देशभर राजनीतिक जागरण पैदा गरेको छ । मधेसमा माओवादीप्रति भावना झनै बलियो हुँदै गएको प्रचण्ड सहभागी कार्यक्रमहरूको भिडबाट देख्न सकिन्छ ।

देशलाई अग्रगामी पुनर्संरचना गरेर संघीयतामा लाने माओवादीको सहरमा जनमत २०६४ यता निरन्तर रूपमा घटेको छ । तर गाउँमा माओवादीको मत अझै पनि सुरक्षित छ । त्यहाँ मात्र माओवादी पुगेको थिएन । यस अभियानले प्रचण्ड आम उत्पीडनमा परेकाहरूको नेता र माओवादी सदैव जनताको पार्टी भएको पुष्टि गर्दै छ । प्रचण्डलाई सुरक्षाको कारण गाउँ पस्न सक्दैनन् भनेर कुप्रचार–प्रसार गर्नेहरू स्तब्ध छन् । माओवादीलाई जनताको विश्वास गुमाइसकेको पार्टीको रूपमा उद्घोष गर्ने एमाले र कांग्रेस सोचमग्न छन् ।
माओवादीले २०७४ यता तालमेल र गठबन्धन गरेर चुनाव लड्यो । त्यही भएर माओवादीप्रति गलत भाष्य निर्माण भएका थियो । तर त्यो पनि राजनीतिक उपलब्धिको रक्षा गर्नु एउटा विकल्प थियो । अहिले प्रतिपक्षमा धकेलिएपछि भएका स्थानीय तहको उपनिर्वाचन, नेपाल पत्रकार महासंघको निर्वाचन र स्ववियु निर्वाचनले माओवादी एक्लै चुनाव लड्न सक्छ । अब फेरि माओवादी शक्तिमा उदाउन सक्छ भन्ने सन्देश दिएको छ ।5

अहिलेको व्यवस्था ल्याउन ठुलो भूमिका खेलेको माओवादी फेरि पनि जनताकै पक्षमा उभिन सक्छ भन्ने प्रमाणित भएको छ । इतिहास माओवादी र प्रचण्डकै पक्षमा प्रस्ट छ । त्यस कारण माओवादीप्रतिको कुप्रचार चिर्दै जनताका बिचमा प्रचण्ड रमाउन थाल्नु देशका लागि सुखद पक्ष हो । 

२०८४ को चुनावमा माओवादीलाई २०६४ कै अवस्थामा फर्काउने गरी भइरहेको यस अभियानलाई चिनियाँ कम्युनिस्ट नेता माओको लङ–मार्चका रूपमा चर्चा गर्दा फरक पर्दैन । अहिलेको संविधान र गणतन्त्रप्रति खतराका संकेत देखिएका छन् । आफूले ल्याएको व्यवस्थाको रक्षा गर्दै जनताको अवस्था परिवर्तनमा प्रचण्डले नलाग्ने हो भने देश फेरि राजनीतिक अस्थिरतामा गिजोलिने प्रस्ट छ । त्यही जनचेतना जगाउने उद्देश्यले प्रचण्ड ‘लङ–मार्च’को शैलीमा अभियानमा छन् । मधेशबाट समाजवादी यात्रा सुरु गरेको प्रचण्डको उद्घोषले गणतन्त्रको विरोध गर्नेहरू र संघीयता, धर्म निरपेक्षता खारेज गरी राजसंस्था पुनस्र्थापनाको नारा लगाउनेहरू भित्री रूपमा स्तब्ध छन् ।

  • माओको त्यो लङ–मार्च 

कम्युनिस्ट पार्टीप्रति आस्था राख्नेहरूले चिनियाँ लङ–मार्चका बारेमा धेरथोर सुनेकै हुनुपर्छ । चीनमा सन् १९२१ मा कम्युनिस्ट पार्टी स्थापना भएदेखि १९३४ सम्म आउँदा कम्युनिस्ट पार्टीहरूमा संकट आइरहेको थियो । चिनियाँ राष्ट्रवादी पार्टीका नाममा पुरातनवादी खेमा बलियो र वामपन्थी खेमा कमजोर बन्दै गएको थियो । सन् १९३४ मा चीनको जियान्सीस्थित रुइजिन र गुचेङ क्षेत्रबाट सर्वोच्च नेता कमरेड माओत्से तुङ लगायत नेताहरूले सुरु गरेको एउटा अभियानलाई अहिले पनि ‘लङ–मार्च’ भनेर चिनिन्छ ।
उक्त लङ–मार्चमा  चिनियाँ कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ता, समर्थक, लालसेना गरी ८६ हजारको सहभागिता थियो । उक्त अभियानले चीनमा धर्मराउँदो कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवन मात्र दिएन, चीनको कम्युनिस्ट पार्टीमा माओत्से तुङलाई सर्वोच्च नेताको रूपमा स्थापित गर्दै चीनमा कम्युनिस्ट व्यवस्था स्थापना गर्न ठुलो मद्दत पुर्‍याएको थियो ।

लङ–मार्चभन्दा अघि चीनमा क्रान्तिकारी कम्युनिस्टप्रति एक प्रकारको प्रतिबन्ध थियो । कम्युनिस्ट युवाहरू क्रान्तिकारी सेना (लालसेना)मा सहभागी भएर आफ्ना विचार फैलाउन चाहन्थेँ । तर राष्ट्रवादीका नाममा रहेका पार्टीहरू कम्युनिस्टलाई कमजोर बनाउन चरम दमन गरिरहेका थिए । त्यस वेला हजारौँ कम्युनिस्ट क्रान्तिकारीहरू मारिएका थिए । राष्ट्रवादी र कम्युनिस्टबिचको गठबन्धन टुंगिएर गृहयुद्धको बीजारोपण भएको थियो । राष्ट्रवादी पार्टीले एकीकरण र आफ्नो अधीनमा रहेका क्षेत्रमा कम्युनिस्ट सखाप पारिरहेको थियो । सन् १९२८ सम्म आइपुग्दा बेइजिङसहित अधिकांश भू–भाग कब्जा गरेर एकीकरण पूरा भएको घोषणा त्यस वेलाका कम्युनिस्ट विरोध शासक च्याङ काइसेकले गरेका थिए । 9

कम्युनिस्टहरू आन्दोलनमा होमिएकाहरूले सफलता पाउन सकेका थिएनन् । क्रान्तिकारी कम्युनिस्टहरू भागाभाग हुनुपरेको थियो । यद्यपि दुर्गम पहाडमा पुरातनवादी वा राष्ट्रवादी शासकका सेना पुग्न असफल थिए । क्रान्तिकारी कम्युनिस्टहरूले गाउँलाई नै आधार इलाका निर्माण गरे ।

सन् १९३१ मा चीनको दक्षिणपूर्वको जियान्सी प्रान्तको दुर्गम क्षेत्रमा सोभियत गणतन्त्र चीन नामको कम्युनिस्ट पार्टीको सत्ता स्थापना भयो । जसको नेतृत्व माओत्से तुङले गरे । त्यहाँ पनि कम्युनिस्टविरोधी च्याङ काइसेकका सेनाले हमला गरे । त्यस वेला पनि माओत्से तुङको सेना र पार्टीको हार भयो । सन् १९३४ अक्टुम्बर १६ मा त्यही हारबाट माओत्से तुङले लङ–मार्चको नाम दिएर विशाल अभियान सुरु गरे । जापानी विस्तारवादीसँग पनि लड्दै जनताको साथ समर्थन जुटाउँदै अघि बढेको लङ–मार्च सन् १९३५ अक्टुम्बर २० मा ग्रेटवालमा पुगेर टुंगिएको थियो ।

दक्षिणपन्थी समूहलाई विस्थापित गर्दै वामपन्थी कम्युनिस्टहरूलाई एक बनाउन अराजकतावादी कम्युनिस्ट धार पनि घातक बन्न सक्छ । त्यस कारण प्रचण्डको यो लङ–मार्च नेपालको कम्युनिस्ट आन्दोलनलाई एउटा निष्कर्षमा पुर्‍याउने राजमार्ग बन्नुपर्छ ।

लङ–मार्चमा सहभागी चीनका लालयोद्धाले ३८१ दिनमा पहाड, नदी छिचोल्दै ९ हजार किलोमिटरभन्दा लामो यात्रा गरेका थिए । युद्ध इतिहासमा यो सबैभन्दा लामो मार्च भनिएको छ । त्यस वेला चीन र जापानबिच युद्ध भइरहेको थियो । जापानीहरूसँग लड्नका लागि माओले च्याङ काइसेकसँग सन् १९३७ सहकार्य गरे । च्याङ काइसेक र माओका दुवै सेनाले जापानीविरुद्ध लडे र जिते । सन् १९४५ मा विश्वयुद्धको समाप्तिपछि माओ र च्याङ काइसेकबिच शान्ति वार्ता भयो । तर त्यो वार्ता सफल नभएपछि फेरि चीनमा गृहयुद्ध सुरु भएको थियो । त्यसपछि माओले चार वर्ष लडेर राष्ट्रवादी सेनालाई पराजित गरी जनगणतन्त्र चीन स्थापना भएको घोषणा गरेका थिए । 

  • निष्कर्ष

चीनमा जसरी माओले क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई लङ–मार्चको माध्यमबाट गोलबन्द बनाउँदै एउटा निष्कर्षमा पुर्‍याएका थिए, त्यसै गरी नेपालमा पनि विभिन्न धारमा छरिएर बसेका कम्युनिस्टलाई एक ढिक्का बनाउन जरुरी छ, नत्र दक्षिणपन्थी धारमा भासिएका कम्युनिस्टको रजगज हराउनेछैन । दक्षिणपन्थी समूहलाई विस्थापित गर्दै वामपन्थी कम्युनिस्टहरूलाई एक बनाउन अराजकतावादी कम्युनिस्ट धार पनि घातक बन्न सक्छ । त्यस कारण प्रचण्डको यो लङ–मार्च नेपालको कम्युनिस्ट आन्दोलनलाई एउटा निष्कर्षमा पुर्‍याउने राजमार्ग बन्नुपर्छ । पिचै गरेको राजमार्ग नभए पनि ट्र्याक खुलेको हुनुपर्छ ।

माओवादीलाई नै क्रान्तिकारी कम्युनिस्टको केन्द्र बनाउँदै एकता, तालमेल, सहकार्यमा जोड दिने सन्देश यस ‘लङ–मार्च’ले दिएको छ । माओवादीका पनि विभिन्न टुक्रा तथा समूह निर्माण भएका छन् । ती समूहले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर कम्युनिस्ट र माओवादी आन्दोलनलाई अन्तर्आत्माले साथ दिए भने देशले नयाँ निकास पाउने निश्चित छ । 
आखिर देशको शासन प्रणालीमा आमूल परिवर्तन ल्याउने महान् जनयुद्धको नेतृत्व गर्ने प्रचण्ड सबैका प्रिय थिए । हिजो प्रचण्डकै आदेशमा मुक्ति या मृत्यु रोज्ने माओवादी नेताहरूलाई आत्मसमीक्षासहित मूलधारमा फर्काउन सके यस ‘लङ–मार्च’ सार्थक हुनेछ । 

प्रचण्डको ‘लङ–मार्च’ले प्रतिगमनको खतराविरुद्ध खबरदारी मात्रै गरेको छैन, संविधानको रक्षा, सुशासन, सामाजिक न्याय लगायत सयौँ एजेन्डा बोकेको छ । जुन अहिलेको आवश्यकता हो । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखसहित पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पहिचानलगायत सवाललाई यस लङ–मार्चले सशक्त बनाएको छ । माओवादीका तर्फबाट संविधान संशोधनको एजेन्डा पनि यही नै हुनुपर्छ । विकास निर्माणमा भइरहेको ढिलासुस्तीप्रति खबरदारी गर्दै वैदेशिक रोजगारीका क्रममा हुने शोषण र ठगीमाथि पूर्ण नियन्त्रण गरी ‘रिटर्नी’को सीप र जाँगरलाई राष्ट्रिय उत्पादनमा लगाउने सम्बन्धमा यो लङ–मार्च केही संकेत गरेको छ । 

हुलाकी मार्गको निर्माणलाई यथाशीघ्र सम्पन्न गर्ने, जीर्ण तथा रुग्ण उद्योगलाई निजीकरण नगरी सरकारी स्वामित्वमा सञ्चालन गर्ने लगायतमा सरकार प्रस्ट रूपमा लाग्नुपर्छ भन्ने सन्देश लङ–मार्चले दिएको छ । यस्तै, आफ्नो नेतृत्वको सरकारले सुशासनका निम्ति गरेका भ्रष्टाचारविरुद्ध अभियानलाई एउटा निष्कर्षमा पुर्‍याउन समेत प्रचण्डले लङ–मार्चबाट जनताको साथ खोजेका छन्, लङ–मार्चमा जम्मा भएका आमजन समुदायको भीडले प्रचण्डले साथ पाउँदै छन् भन्ने देखाउँछ । माओले जसरी लङ–मार्चबाट सत्ता परिवर्तन गरेका थिए, त्यसैगरी प्रचण्डको लङ–मार्च व्यवस्थाको रक्षा गर्दै जनताको अवस्थामा परिवर्तन ल्याउन कामयाबी हुनुपर्छ । 
(तस्बिरहरू : सामाजिक सञ्जालबाट ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विदुर कटुवाल
विदुर कटुवाल
लेखकबाट थप