बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियाको राजधानी क्यानबेरामा ‘नेपाल महोत्सव –२०२५’

सोमबार, ११ चैत २०८१, १७ : १२
सोमबार, ११ चैत २०८१

काठमाडौँ । अष्ट्रेलियाको  राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सम्पन्न भएको छ । नेपाली कला संस्कृति, पहिरन, खानाको परिकार र पर्यटन  प्रवर्द्धन गर्ने उद्देश्यसहित क्यानबेरामा आयोजित महोत्सवले राजधानी नेपालमय बनेको थियो ।

कमनवेल्थ पार्कमा आयोजित महोत्सवअन्तर्गत क्यान्बेराको सिभिकको गरिमा प्लेसबाट बिहान साढे दश बजेदेखि सुरु भएको प्रभातफेरी नगर परिक्रमा गरी कमन्वेल्थ पार्कको स्टेज ८८ मा पुगेर टुङ्गिएको थियो । पञ्चेबाजासहित निस्किएको प्रभातफेरीमा लाखे नाच र कुमारी नाच प्रस्तुत गरिएको थियो । 

सो अवसरमा अष्ट्रेलियाका लागि नेपाली राजदूत चित्रलेखा यादवलगायत अष्ट्रेलियामा रहेका विभिन्न नेपाली सङ्घसंस्था, अष्ट्रेलियाली नागरिकहरूको  समेत उल्लेखनीय उपस्थिति रहेको थियो । 

त्यसैगरी राजदूत यादवको प्रमुख आतिथ्यमा भएको औपचारिक कार्यक्रममा अष्ट्रेलियाली सरकारका अर्थमन्त्री केटी गालागार, केन्द्रीय सांसद डेभिड स्मिथ, कूटनीतिक नियोगका प्रमुखहरू, अष्ट्रेलियन क्यापिटल टेरिटोरी राज्य सरकारका बहुसासंस्कृतिक मन्त्री माइकल पेटरसन र यातायतमन्त्री क्रिस् स्टिललगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित नेपाली कला संस्कृति झल्काउने प्रदर्शनी, नेपाली खानाका फुडस्टल, बालबालिकाहरूका लागि चित्रकला राखिएको थियो ।
नेपाली पहिचानलाई विश्वमाझ पुर्‍याउने अभियानका रूपमा सन् २००९ देखि गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाले नेपाल महोत्सव आयोजना गर्दै आएको अध्यक्ष अनिल पोखरेलले बताए । 

अष्ट्रेलियाका लागि नेपाली राजदूत यादवले क्यान्बेराको नेपालीले राम्रो गरिरहेको र नेपाली समुदायले नेपाल र नेपालीलाई गर्वको महसुस गराएको बताईन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप