गणतन्त्र र राजावादी आन्दोलनमा होमिँदा कांग्रेस किन मौन ?

काठमाडौँ । विपक्षी चार दल मिलेर बनेको समाजवादी मोर्चाले चैत १५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियताविरुद्ध काठमाडौँमा बृहद् प्रदर्शन गर्दैछ । त्यसैदिन पूर्वराजाको पक्षमा प्रदर्शन गर्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेका छन् ।
समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी छन् । वर्तमान गठबन्धन सरकारको नेतृत्व गरेको नेकपा एमालेले पनि पूर्वराजाको सक्रियताविरुद्ध तीनमहिने आन्दोलन घोषणा गरिसकेको छ ।
मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशैभरि सबै वडामा जनसचेतना कार्यक्रम गरिएको एमालेले सोमबार जनाएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहलाई प्रतिगामी करार गर्दै गणतन्त्र पक्षधर दलहरूले उनको पक्षमा खुलेका राप्रपालगायत दलहरूको सक्रियताविरुद्ध आन्दोलन घोषणा गर्दा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने मौन छ ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्णप्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गरे पनि पूर्वराजाको सक्रियता, आन्दोलन र त्यसविरुद्ध हुने र भइरहेका गतिविधिबारे केही बोलेन ।
कांग्रेस बैठकको पहिलो निर्णयमै लेखिएको छ– ‘नेपाली जनतामा निहित सार्वभौमसत्ताको प्रयोग गर्दै जनताले चुनेका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण भएको हो । नेपाली कांग्रेस यो संविधान र संविधानमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रप्रति निरन्तर र पूर्ण प्रतिबद्ध रहेको र रहिरहने दृढता व्यक्त गर्दछ ।’
बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले राजासंस्थाका सम्बन्धमा भइरहेका प्रदर्शन आवश्यक नरहेको र आफूहरूले त्यसलाई उचित नठानेको बताए । ‘यसको पक्ष विपक्ष भन्दा पनि हामी संविधानप्रति प्रतिवद्ध छौं’, प्रवक्ता डा. महतले सञ्चारकर्मीहरूसँग भनेका थिए ।
प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राष्ट्र बचाउन आफूलाई साथ दिन आह्वान गरेपछि त्यसको पक्ष÷विपक्षमा बहस भइरहेको छ । सत्ता राजनीतिमा केन्द्रित हुँदै पक्ष र विपक्षमा विभाजित गणतन्त्र पक्षधर प्रमुख राजनीतिक दलहरू प्रतिगमनकारी षड्यन्त्रविरुद्ध एकजुट देखिए जसरी अभिव्यक्ति दिइरहेको र जनचेतनामूलक कार्यक्रम घोषणा गर्दा कांग्रेसले भने संस्थागत रूपमा पार्टी बैठक राखेर पनि यसबारे बोल्न आवश्यक ठानेन ।
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले राजाको आन्दोलन र त्यसविरुद्ध अन्य दलहरूले घोषणा गरेका आन्दोलनबारे कार्यसम्पादन समिति बैठकमा कुराकानी नभएको जानकारी दिए । ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैन । राप्रपाले सभापति बनाए हुन्छ भनेर बोल्नुभएको छ,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने, ‘कांग्रेसको आधिकारिक धारणा त्यही हो । कार्यसम्पादन समिति बैठकमा त्यसबारे छलफल भएन । हामीले गणतन्त्रको पक्षमा दृढ भएर उभिने निर्णय गरेका छौँ ।’
गणतन्त्रात्मक व्यवस्थालाई नै चुनौती दिने क्रियाकलाप भए भने कांग्रेस के गर्छ भन्ने प्रश्नमा सहमहामन्त्री यादवले भने, ‘कांग्रेस संविधान र अहिलेको गणतान्त्रिक व्यवस्थाप्रति दृढ भएर उभिन्छ ।’ उनले सम्पन्न हुँदै गरेको स्वतन्त्र युनियनको निर्वाचनले पनि युवाहरूको मनसाय पनि गणतन्त्र पक्षमा नै प्रतिबद्ध रहेको देखाएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ विद्यार्थी संगठनले एउटा क्याम्पसमा मात्रै जित्नुले युवारू पनि गणतन्त्रको पक्षमा रहेको प्रस्ट भएको सहमहामन्त्री यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ
-
रुस–युक्रेन युद्ध : युरोपको सुरक्षा, कूटनीतिक संघर्ष र भविष्यका चुनौती
-
इटहरीमा आगलागी : १६ जनाको उद्धार, ३ जनाको उद्धारका लागि हेलिकप्टर पुग्यो