बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट

एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई हरायो, फाइनल पुग्ने सम्भावना कायमै

सोमबार, ११ चैत २०८१, १६ : ००
सोमबार, ११ चैत २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ । विभागीय टोली एपीएफले सोमबारको खेलमा लुम्बिनी प्रदेशलाई सात विकेटले हरायो । 

आठ खेल खेलेको एपीएफले ६ जित र दुई हारको नतिजा निकालेको छ । १२ अंकसहित एपीएफ तालिकाको तेस्रो स्थानमा आसिन छ । सात खेलबाट १४ अंक जोडेको पुलिस क्लब पहिलो र आठ खेलबाट १४ अंक हात पारेको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छन् । 

लिग चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्ने प्रावधान छ । लिग चरणमा अब पुलिसले दुई, आर्मीले एक र एपीएफले पनि एक खेल खेल्न बाँकी छ ।

पुलिसले आफ्नो आठौँ खेल कर्णाली प्रदेशसँग र नवौँ खेल आर्मीसँग खेल्नेछ । एपीएफले भने आफ्नो अन्तिम खेल कोशी प्रदेशसँग खेल्नेछ । यस्तो स्थितिमा एपीएफको फाइनल पुग्ने सम्भावना कायमै छ ।

लुम्बिनी प्रदेशले भने जारी प्रतियोगितामा आफ्नो अन्तिम खेल खेलेको हो । नौ खेल खेलेको लुम्बिनी प्रदेशले चार जित र पाँच हारको नतिजा निकाल्यो । पुलिस, आर्मी र एपीएफ क्लबवाहेक अन्य टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन् । 

भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा सोमबार टस जिती पहिले ब्याटिङको निर्णय लिएको लुम्बिनी प्रदेशले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय २३ रन बनाएको थियो । जवाफमा एपीएफले ४१ दशमलब ५ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गर्‍यो । 

पुलिस क्लबको जितमा दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धशतकीय योगदान गरे । तेस्रो नम्बरमा क्रिज सम्हाल्न आएका कप्तान रोहित पौडेलले टोलीको खातामा ७१ रन थपे । यसक्रममा उनले ९४ बलको सामना गरी सात चौका पनि हिर्काए । 

चौथो नम्बरका ब्याट्सम्यान पुरण विकले पनि टोलीका लागि अविजित ७२ रनको योगदान गरे । उनले एक सय १२ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । एपीएफले केवल ५० रनको कुल स्कोरमा दुबै ओपनर ब्याट्सम्यानलाई गुमाएको थियो । 

त्यसपछि कप्तान रोहित र पुरणले टोलीको स्कोरलाई एक सय ७० रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए । ओपनर ब्याट्सम्यान लोकेश बम भने २१ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले १३ बलमा दुई छक्का र एक चौका हिर्काए । 

अर्का ओपनर आसिफ शेखले पनि टोलीको खातामा १८ रन थपे । उनले ११ बलमा चार चौका प्रहार गरे । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले पनि टोलीका लागि अविजित २१ रनको योगदान गरे । उनले २१ बलमा दुई चौका हिर्काए ।

एपीएफ क्लबले अतिरिक्त रुपमा पनि २१ रन पायो । लुम्बिनी प्रदेशका बलर राजेन्द्र बमले तीन विकेट लिए । त्यसअघि ब्याटिङ गरेको लुम्बिनी प्रदेशका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । कप्तान देब खनालले ६३ रन बनाए । 

तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान खनालले ७९ बलमा चार चौका हिर्काए । ओपनर ब्याट्सम्यान मृनाल गुरुङले पनि ५५ रन बनाए । उनले ८७ बलमा चार चौका प्रहार गरे । आकाश त्रिपाठीले २२, प्रज्ज्वल थापाले २० र निर्मल गुरुङले अविजित १२ रन बटुले ।

लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा पनि ३४ रन पाएको थियो । एपीएफ क्लबका बलर अमर रौतेला र अभिषेक गौतमले तीन–तीन विकेट लिए । मौसम ढकालले पनि दुई विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप