भैरहवा र नेपालगन्ज भन्सार कार्यालयको ८ महिना राजस्वको अवस्थाः बार्षिक लक्ष्यमा पुग्न कठिन हुने संकेत

बुटवल । लुम्बिनी प्रदेशमा रहेका दुई ठुला भैरहवा र नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनासम्म राजस्व सङ्कलन अवस्था हेर्दा विभागले तोकेको वार्षिक लक्ष्यमा पुग्न कठिन देखिन्छ ।
भैरहवा भन्सार कार्यालय रुपन्देहीले साउनदेखि फागुनसम्म चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा वार्षिक लक्ष्यको जम्मा ५५ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ भने नेपालगन्ज भन्सार कार्यालय बाँकेले ४६ दशमलब ५८ प्रतिशत सङ्कलन गरेको छ ।
अब बाँकी चार महिनामा विभागले तोकिएको लक्ष्य भेटाउनका लागि विभिन्न कारणले मुस्किल पर्ने भन्सार कार्यालयका अधिकारीहरू बताउँछन् । भैरहवा भन्सार कार्यालयलाई विभागले यो आर्थिक वर्षमा १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ असुल गर्ने लक्ष्य दिएको थियो । अहिलेसम्म ८ महिनाको अवस्थामा ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ ।
यस्तै नेपालगन्ज भन्सार कार्यालय बाँकेले आर्थिक वर्ष २०८१/८२ साउनदेखी फागुनसम्म १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ । यो आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले प्रतिशत हिसाबले आठ महिना ४६ दशमलब ५ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ ।
भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले अब बाँकी चार महिना तोकिएको लक्ष्य भेटाउन कठिन हुने बताए । उनले कार्यालयमा विगतमा पेट्रोल, डिजेल, चार पाङ्ग्रे गाडी, मार्बल आदिको आयत हेरेर लक्ष्य निर्धारण गरेपनि अहिले निकै कम भएकोले विभागबाट तोकिएको राजस्व सङ्कलन लक्ष्य पुग्न ग्राहो हुने रातोपाटीलाई बताए ।
यस्तै नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बजारको शिथिलता असर भन्सारको राजस्व संकलनमा देखिएको बताउँदै भारतबाट दैनिक उपभोगका बस्तुहरू धेरै आएको तर ठूला उपकरण तथा पेट्रोलियम पदार्थ जस्ता राजस्व धेरै आउने बस्तुहरू कम आएको बताए । उनले अहिलेसम्म ८ महिनाको तथ्याङ्क हेर्दा लक्ष्यमा पुग्न सकस पर्ने भए पनि आफूहरू लक्ष्य भेटाउन लागिरहेको बताए ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनी संयोजक होमराज भुसालले राजस्व संलकनको लक्ष्य निर्धारण शैली पुरानो भएको बताउँदै उनले प्रदेशमा रहेका भन्सार कार्यलयहरु खास गरी भारतबाट आयत हुने पेट्रोलियम पदार्थ, निर्माण साम्रगीहरुमा केन्द्रित गर्ने परम्परा रहेको उल्लेख गरे । तर पछिल्लो समय सम्रग तेलको आयत नै घटेको बताए । पछिल्लो सयम ठूला विकास निर्माणका कामले पनि भुक्तानी नपाउँदा नयाँ उपकरण तथा अन्य समान ल्याउन अप्ठारो भएको र भन्सार कार्यालयले राजस्व छली नियन्त्रणमा ध्यान नदिँदा चोरी तस्करीबाट पनि राजस्व गुमीरहेको बताए ।
८ महिना के छ अवस्था?
भैरहवा भन्सार कार्यालय, रुपन्देहीले चालु आर्थिक वर्षमा १ खर्ब ९ अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ असुल गर्ने लक्ष्य दिएको थियो । अहिलेसम्म ८ महिनाको अवस्थामा ६० अर्ब ४१ करोड २७ लाख ८३ हजार रुपैयाँ सङ्कलन भएको छ । असोजमा ८ अर्ब ७८ करोड १६ लाख ८६ हजार रुपैयाँ सङ्कलनको लक्ष्य थियो । कार्यालयले योभन्दा बढी ८ अर्ब ८१ करोड ५१ लाख २५ हजार रुपैयाँ सङ्कलन गरेको थियो भने भदौमा लक्ष्यको ९० प्रतिशत राजस्व सङ्कलन भएको थियो ।
चालु वर्षमा कार्यालयले पाएको मासिक लक्ष्य पनि गत असोज महिनामा बाहेक पूरा गर्न सकेको छैन । किनकी असोज दशैतिहार जस्ता चाडपर्वका कारण धेरै समान आएको थियो ।
प्रमुख भन्सारका सूचना अधिकारी चौधरीले यो नाकाबाट मोटरसाइकल, जिप, कार, भ्यान, बिजुली गाडी (इभी), पेट्रोल, मोबाइल, बिलेट, टायल, डिजेल, मार्बल स्ल्याब, एलपी ग्यास, चकलेटलगायत वस्तुबाट सबभन्दा धेरै राजस्व सङ्कलन हुने गरेको बताए ।
उनका अनुसार मुख्य दस प्रकारका वस्तुबाटमात्रै ८ महिनामा २८ अर्ब ४४ करोड १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको रातोपाटीलाई बताए । गत आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोड मात्र सङ्कलन गरेको छ । सो आधारमा अहिले घटाएर १ खर्ब ९अर्ब ३३ करोड २२ लाख ५२ हजार रुपैयाँ असुल गर्ने लक्ष्य दिएको हो ।
नेपालगन्ज भन्सार कार्यालयः ४६ दशमलब ५८ प्रतिशत
प्रतिशतका हिसावले भैरहवाभन्दा नेपालगन्ज कमजोर देखिएको छ । भैरहवाले चालु आर्थिक वर्षको ८ महिनामा ५५ प्रतिशत संकलन गरेको छ भने नेपालगन्जले ४६ दशमलब ५८ प्रतिशत मात्र संकलन गरेको छ । चालु आर्थिक वर्षमा २७ अर्ब १८ करोड ३५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको नेपालगन्ज भन्सार कार्यालयले फागुन महिनासम्ममा १२ अर्ब ६५ करोड ९६ लाख राजस्व सङ्कलन गरेको छ ।
नेपालगन्ज नाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ, मार्बल, खाद्यान्न, तरकारी, फलफूल आयात (पैठारी) र जडीबुटीलगायतका वस्तुहरू भारततर्फ निकासी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ
-
रुस–युक्रेन युद्ध : युरोपको सुरक्षा, कूटनीतिक संघर्ष र भविष्यका चुनौती
-
इटहरीमा आगलागी अपडेट : उद्धार गर्नुपर्ने थप भेटिएन, आगलागी नियन्त्रणको प्रयास जारी