‘ह्वाट्सएप’ ग्रुप बनाएर चिट चोराएको पुष्टि, परीक्षा गार्ड निष्कासित

इनरुवा । माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चिट चोराउन मोबाइलको प्रयोग भएको पाइएको छ । यस वर्षको एसइई परीक्षामा चिट चोराउन मोबाइलमार्फत ‘ह्वाट्सएप’ प्रयोग भएको पुष्टि भएको हो ।
सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको एसइई परीक्षा चलिरहँदा ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने गार्ड रङ्गेहात पक्राउ परेका छन् ।
परीक्षा केन्द्रबाट ‘ह्वाट्सएप’ को प्रयोग गरी चिट चोराउने कार्यमा संलग्न दुई जना गार्डलाई पक्राउ गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । परीक्षा केन्द्र अनुगमनमा पुगेको प्रजिअसहितको टोलीलाई देखेर परीक्षा गार्ड (शिक्षक)ले मोबाइल अफ गरेका थिए ।
उनीहरूको मोबाइल जाँच गर्दा परीक्षा केन्द्रमा खटाइएका प्रावि शिक्षकको साथमा रहेको मोबाइलबाट चिट चोर्न र चोराउन ह्वाट्सएप मार्फत च्याट गरिएको भेटिएको थियो । ह्वाटस्एपमा कुराकानी गर्दै विद्यार्थीको नाम, सिम्बल नम्बर र बोर्डिङ स्कुलको नामसहित विद्यार्थी सङ्ख्या के कति भन्नेबारे च्याट गरिएको पाइएको सुनसरीका प्रजिअ मिश्रले बताए । पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरेको उनले जानकारी दिए ।
त्यसैगरी अनुगमनका क्रममा इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रबाट तीन जना निरीक्षकलाई नियन्त्रणमा लिएको प्रजिअ मिश्रले बताए । भगवती मावि परीक्षा केन्द्रबाट इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादवलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए । यसैबीच परीक्षा केन्द्रमा मोबाइल प्रवेशको विषयलाई लिएर सुनसरी प्रशासनले चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको छ । सुनसरीको दुहवीबाट अघिल्लो दिन प्रजिअले विद्यार्थीबाट जनही १० हजार रकम लिने दुई गार्डलाई निष्कासन गरेको थियो ।
परीक्षा मर्यादित बनाउँदै चिट चोर्ने र चोराउने प्रवृत्तिलाई निरुत्साहित गर्नेगरी परीक्षा केन्द्र लक्षित अनुगमन टोली परिचालन गरिएको सुनसरीका प्रजिअ मिश्रले बताए । निरीक्षकले ‘ह्वाट्सएप ग्रुप’ बनाएर भित्रको प्रश्नपत्र बाहिर पठाएर बाहिरबाट सबै प्रश्नको उत्तर लेखेर पठाउने र विद्यार्थीलाई सिकाउने गरेको पाइएको हो । यसअघि गत बिहीबार मात्रै सुनसरीकै दुहबीको सरस्वती माध्यमिक विद्यालय र गढीको सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको थियो ।
सुनसरीका प्रजिअ मिश्र नेतृत्व टोलीले अनधिकृत गतिविधि गरेको र विषय शिक्षक राखेको भेटिएपछि निष्कासन गरिएको थियो । दुवै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आगामी दिनमा त्रुटि नगर्न सचेत समेत गरिएको उनले जानकारी दिए । परीक्षालाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई आवश्यक सकुर्लर गरिएको पनि उनले बताए ।
सुनसरीमा खासगरी निजी विद्यालयका सञ्चालकको आर्थिक प्रलोभनमा निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । निजी विद्यालयका सञ्चालकले विद्यालयलाई उत्कृष्ट देखाउनका लागि परीक्षा केन्द्रदेखि निरीक्षक राख्नेसम्मको कार्यमा आर्थिक चलखेल गर्ने गरेकाले निरीक्षक फस्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
जिल्लाका ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख खगेन्द्र सुवेदीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ
-
रुस–युक्रेन युद्ध : युरोपको सुरक्षा, कूटनीतिक संघर्ष र भविष्यका चुनौती
-
इटहरीमा आगलागी : १६ जनाको उद्धार, ३ जनाको उद्धारका लागि हेलिकप्टर पुग्यो
-
गंगालालमा १५ वर्ष मुनिका विपन्न बालबालिकाको निःशुल्क मुटुको उपचार गरिने
-
जित्नैपर्ने दबाबमा रहेको एपीएफ क्लबलाई कोशी प्रदेशले दियो २५५ रनको लक्ष्य
-
पालुङ्गोको सागमा अत्यधिक विषादी